+
+
Shares

गुल्मीमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा लिने घटे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते ७:४२

२ साउन, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८२/०८३ मा प्रवाह गरेका नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवासम्बन्धी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शुक्रबार आयोजित कार्यक्रममा कार्यालयले एक वर्षमा सम्पादन गरेका सेवा, उपलब्धि र तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नयाँ नागरिकता जारी गर्ने सेवा बढेको छ भने प्रतिलिपि नागरिकता, राहदानी सिफारिस तथा राष्ट्रिय परिचयपत्र दर्ता र वितरणमा कमी आएको देखिएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ९ हजार ६०२ वटा नयाँ नागरिकता जारी गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या ९ हजार १०० रहेको थियो । यसरी एक वर्षमा नयाँ नागरिकता जारी ५०२ ले वृद्धि भएको हो ।

नयाँ नागरिकता प्राप्त गर्नेमध्ये वंशजका आधारमा ९ हजार ५६४, आमाको नामबाट वंशजका आधारमा ८, मातृत्व–पितृत्वविहीन आधारमा १, वैवाहिक अंगीकृत २५, बाबु विदेशी र आमा नेपाली भएका आधारमा अंगीकृत २ तथा ११ वटा गैरआवासीय नेपाली नागरिकता जारी गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रतिलिपि नागरिकता जारी भने घटेको छ । अघिल्लो आर्थिक वर्ष ७ हजार ४९८ वटा प्रतिलिपि नागरिकता जारी भएकोमा गत आर्थिक वर्ष ६ हजार ३९६ वटा मात्रै जारी भएका छन् ।

यस अवधिमा ९ जनाको नागरिकता रद्द तथा १३ जनाले नागरिकता त्याग गरेका छन् । साथै ५३९ जना नाबालकलाई नाबालक परिचयपत्र जारी गरिएको छ ।

राहदानी सेवातर्फ पनि सेवाग्राहीको संख्या घटेको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १० हजार ८८७ राहदानी सिफारिस गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ मा ८ हजार ३७९ मा झरेको छ ।

राहदानी वितरण पनि १० हजार ३७३ बाट घटेर ९ हजार ५०७ मा सीमित भएको छ । राहदानी सेवाबाट ४ करोड ३३ लाख ६३ हजार १ रुपैयाँ राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र सेवामा पनि दर्ता र वितरण दुवै घटेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा २२ हजार ३४४ जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेका छन्, जबकि अघिल्लो वर्ष यो संख्या २३ हजार ४९० थियो ।

त्यस्तै परिचयपत्र वितरण १९ हजार २७ बाट घटेर १६ हजार ५९१ मा पुगेको छ । हालसम्म जिल्लामा १ लाख २९ हजार ३२९ जनाको राष्ट्रिय परिचयपत्र दर्ता भएको र १ लाख १७ हजार ७६३ जनाले परिचयपत्र प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कार्यालयले काम गरिरहेको बताए । उनले सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन कार्यालय निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?