News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति आफ्नो दृढ प्रतिबद्धता रहेको स्पष्ट पारेको छ ।
- पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
- बुर्लाकोटीले भने, 'प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा पारदर्शी संसदीय अभ्यास–यी सबै लोकतन्त्रका आधारभूत अवयव हुन् ।'
२९ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
सोमबार सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले मुलुक निर्माण र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।
प्रमुख सचेतक बुर्लाकोटीले प्रेस स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यास लोकतन्त्रका अनिवार्य अवयव भएको उल्लेख गर्दै रास्वपाले यी सिद्धान्तहरूलाई व्यवहारमै उतार्न चाहेको स्पष्ट पारे ।
‘आम नागरिकले अपेक्षा गरेको तथा मुलुक निर्माणका लागि हामी सबैले सहकार्य गरेर नै अघि बढ्नुपर्छ । केहीबेरअघि यहाँबाट पनि कुरा उठ्यो कि संविधानको धारा १८२ ल्याउने प्रक्रियामा पनि हाम्रो भूमिका थियो,’ बुर्लाकोटीले भने, ‘र देश निर्माणमा पनि हाम्रो उत्तिकै भूमिका रहनेछ । त्यस कुरालाई वास्तविक रूपमा मूर्त रूप दिनका लागि हामी काम गर्न चाहन्छौँ । त्यसमा हामी एक रत्ति पनि पछि छैनौँ । हामी यही प्रक्रियाभित्र छौँ र यसमै प्रतिवद्ध छौँ ।’
नेपालको विकास र लोकतान्त्रिक स्तरलाई युरोपेली वा स्क्यान्डिनेभियन मुलुकहरूको तुलनामा पुर्याउने लक्ष्य राखे पनि त्यसका लागि आवश्यक कानून, पूर्वाधार र सोही अनुरूपको चिन्तन विकास हुन समय लाग्ने उनको भनाइ छ ।
उनले ती मुलुकहरूको स्तरमा पुग्न केही वर्ष लाग्ने भएपनि त्यसका लागि आवश्यक अभ्यास र प्रयासहरू अहिले नै शुरु गरिसकिएको जानकारी दिए ।
‘यससँगै, हामीले बुझेको र यहाँहरूले बुझेको विषय पनि एउटै रहेछ भन्ने महसुस भयो । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा पारदर्शी संसदीय अभ्यास–यी सबै लोकतन्त्रका आधारभूत अवयव हुन् । हामी यी सबैको पूर्ण अभ्यास गर्न चाहन्छौँ । यी सबैको समुचित सम्मिश्रणबाट बलियो लोकतान्त्रिक मुलुक र सुदृढ लोकतान्त्रिक अभ्यास निर्माण गर्न, हाम्रो दल, हाम्रो मुलुक र हामी सबैलाई त्यस दिशामा अघि बढाउन चाहन्छौँ,’ उनले भने ।
वर्तमान सत्ता समीकरण र संसदीय प्रक्रियामा आफ्नो दलको भुमिकालाई जोड्दै बुर्लाकोटीले देश निर्माणको लक्ष्य प्राप्तिका लागि सञ्चार जगतबाट आउने सुझाव र प्रयासहरूलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने समेत बताए ।
प्रतिक्रिया 4