+
+
Shares

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

विज्ञप्ति जारी गर्दै भन्यो– स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले मिडिया हाउसको गेटमा अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
  • पार्टी महामन्त्री विपिनकुमार आचार्यले स्वतन्त्र पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको भन्दै सञ्चार जगत्लाई भयरहित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।
  • रास्वपाले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने र सञ्चारगृहमा त्रास फैलाउने अवाञ्छित क्रियाकलाप आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको बताएका छन् ।

‘यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ । तसर्थ, प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ ।

‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुन बमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ रास्वपाले भनेको छ ।

एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं,’ महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्तमा, सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल पनि रास्वपाले गरेको छ ।

‘सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं,’ रास्वपाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?