+
+
Shares

काभ्रे पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोक जिल्लाका पाँच वर्षमुनिका सम्पूर्ण लक्षित बालबालिकाले खोप पाएपछि जिल्लालाई सोमबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
  • स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लाका सात हजार तीन सय ६७ लक्षित बालबालिकामध्ये सात हजार तीन सय ५९ जनाले राष्ट्रिय खोप कार्यक्रमअनुसार पूर्ण खोप प्राप्त गरेका छन् ।
  • बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा गर्दै स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताए ।

२९ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लामा रहेका बालबालिकालाई खोप लगाउने उमेरका सम्पूर्ण बालबालिकाहरूले खोप पाएसँगै काभ्रे जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ वटा पालिकाका १ सय ३५ वटै वडामा खोप अभियान सञ्चालन गरी ५ वर्षमुनिका खोप लगाउन छुटेका बालबालिकाहरूको पहिचान गरेर सबै बालबालिकालाई खोप लगाइएको जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेकाका प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार जिल्लाभर पाँच वर्षमुनिका जिल्लामा ७ हजार ३ सय ६७ लक्षित बालबालिकामध्ये ७ हजार ३ सय ५९ जनाले पूर्ण खोप प्राप्त गरेका छन् ।

जिल्लाका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार सबै खोप पूरा गरेका छन्।

तथ्यांकअनुसार जन्मेदेखि १५ महिनासम्मका ४ हजार २ सय १२ बालबालिकामध्ये ४ हजार २ सय ९ जनाले सबै नियमित खोप पूरा गरेका छन्। यसमध्ये केवल दुई जना ‘ड्रप आउट’ भएका छन् भने एक जना शून्य डोज बालबालिका रहेको उल्लेख छ।

यस्तै, १६ देखि २३ महिनासम्मका ३ हजार १ सय ५५ बालबालिकामध्ये ३ हजार १ सय ५० जनाले पूर्ण खोप प्राप्त गरेका छन्। पाँच जना खोप कार्डविहीन रहेको र १४ जना ड्रप आउट भएको प्रतिवेदनमा उल्लेख छ। यो उमेर समूहमा शून्य डोजका बालबालिका नरहेको तथ्यांकले देखाएको छ।

समग्रमा ६ जना ड्रप आउट, एक जना शून्य डोज तथा पाँच जना खोप कार्डविहीन बालबालिका मात्र रहेको देखिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताए।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले बालबालिकालाई भविष्यमा लाग्नसक्ने रोगबाट बचाउन खोप अनिवार्य रहेकोले खोप अभियान विश्व समुदायको साझा अभियान पनि रहेको बताए ।

जनस्वास्थ्य कार्यालय काभ्रे शाखाकी प्रमुख रागीश्री कक्षपतिले नियमित खोपले १३ प्रकारका घातक संक्रमक रोगविरुद्ध बालबालिकाको सुरक्षा गर्ने भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा जोड दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?