News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षायाम सुरु भएसँगै जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर सडक पटकपटक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।
- सडक अवरुद्ध हुँदा बीच बाटोमै सवारी परिवर्तन गर्नुपर्ने र यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो छ ।
- भेरी करिडोरको स्तरोन्नतिमा निर्माण कम्पनीले ढिलासुस्ती गरेपछि आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ ।
३० असार, डोल्पा । जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर सडक वर्षायाम सुरु भएसँगै पटकपटक अवरुद्ध हुन थालेको छ । सडक अवरुद्ध हुँदा यो सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको छ ।
खोलानालामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने, बीच बाटोमै सवारी परिवर्तन गर्नुपर्ने तथा अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुँदा नागरिकको दैनिकी कष्टकर बनेको छ ।
भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रेजिगाड, उसुम खोला लगायतका खोलामा पानीको बहाव बढेसँगै डोल्पा भित्रिने र बाहिरिने यात्रु समस्यामा परेका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने, यात्रा लम्बिने र जोखिमपूर्ण अवस्थामा गन्तव्य पुग्नुपर्ने बाध्यता रहेको छ ।
२०७५ सालमा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । सडक सञ्जालमा जोडिएको एक दशक पुग्न लाग्दासमेत सडकको अवस्था भने अझै उस्तै छ । यो खण्डमा वर्षेनी हिउँदमा मात्रै सहज तरिकाले डोल्पासम्म पुग्ने गरिन्छ । जब बर्खा लाग्छ फेरि डोल्पालीको समस्या सुरु हुन्छ ।
डोल्पादेखि जाजरकोटसम्म पुग्नै ४/५ ठाउँ सवारी परिवर्तन गर्दै यात्रा गर्नु पर्छ । सडक अवरुद्धका भएका कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरीका लालबहादुर सार्कीले बताए ।
उनले भने, ‘सडक सञ्जालमा जोडिएको वर्षौं भयो तर समस्या उस्तै छ । हिउँदमा मात्रै सिधै डोल्पा पुगिन्छ तर बर्खामा तीनदेखि चार वटासम्म गाडी परिवर्तन गर्नु पर्छ ।’
सडकखण्ड अवरुद्ध भइराख्दा जिल्लाका बिरामीदेखि ज्येष्ठ नागरिकसम्म मारमा पर्ने गरेको उनको भनाइ छ ।

अहिले यो सडकखण्डभित्र पर्ने उसुम खोला, रेजिगाड खोला, छलगाड खोला लगायतका अन्य खोलामा सवारी साधन परिवर्तन गर्नु पर्ने बाध्यता छ ।
उता, भेरी करिडोर कार्यालयले वर्षायाममा सडकखण्ड अवरुद्ध हुने समस्यालाई मध्यनजर गर्दै वैकल्पिक माध्यमको रूपमा ह्युम पाइप राख्ने काम अन्तिम अवस्थामा पुगे पनि खोलामा पानीको बहाव उच्च हुँदा समस्या भइरहेको जानकारी दिएको छ ।
करिडोर कार्यालयका सूचना अधिकारी गिरिशनन्दन कोरसले अवरुद्ध हुने सबै ठाउँमा ह्युम पाइप राखिसकिएको भए पनि अन्तिम अवस्थामा खोलाको बहाव अझै बढ्दै जाँदा समस्या आएको बताए । उनले भने, ‘जसोतसो त सिधा यातायात सञ्चालन गर्ने प्रयास गरिरहेको छौं । तर खोलामा पानीको बहाव धेरै बढ्ने हुँदा ह्युम पाइपले समेत काम नगर्ने भएपछि समस्या भएको छ ।’
उनका अनुसार अहिले करिडोरले यो सडकभित्र पर्ने रुकुम पश्चिमको आठबीसकोटको उसुम खोला, रेजिगाड खोला, खोली बजार खोला र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिक भित्र पर्ने फुलचिङ र भेत्ती खोलामा ह्युम पाइप राखेको छ । केही ठाउँमा राख्ने काम सकिए पनि छलगाड खोलामा भने राख्ने सम्भावना नै नभएपछि नराखिएको उनको भनाइ छ ।
यातायात व्यवसायीको मनपरी, मारमा यात्रु
यो सडकखण्डभित्र बर्खायाममा अवरुद्ध हुने भएपछि यातायात व्यवसायीले मनपरी भाडा असुल्ने र सेवाप्रतिको लापरबाहीले यात्रुहरू झनै समस्यामा पर्ने गरेका छन् ।
खोलानाला बढेर सडक अवरुद्ध भएपछि यात्रुले सवारी परिवर्तन गर्नु पर्ने बाध्यताले यसको फाइदा यातायात व्यवसायीले लिने गरेका छन् । यातायात व्यवसायीले चर्को भाँडासँगै बीच बाटोमै यात्रु अलपत्र छोड्ने तथा यात्रुलाई पर्याप्त जानकारी नदिने प्रवृत्तिले थप समस्या सिर्जना गरेको ठुली भेरीका प्रेम बोहोराले जानकारी दिए ।

‘सिधा सवारी सञ्चालन हुँदा भाडादर सस्तो थियो । २/३ हजार मै नेपालगञ्ज, सुर्खेत जस्ता शहर पुगिन्थ्यो,’ उनले भने, ‘अहिले त सुर्खेत पुग्नै ४/५ हजार हारहारीमा भाडा तिर्नु पर्ने बाध्यता छ ।’
यो सडकखण्डमा यात्रा गर्ने यात्रुहरूलाई यातायात व्यवसायीका कर्मचारीहरूले गालीगलोजसमेत गर्ने गरेको उनले गुनासो गरे ।
सडक स्तरोन्नतिमा ढिलासुस्ती, ठेक्का तोड्ने तयारी
भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुबगरसम्म सडक कालोपत्रे सम्पन्न भए पनि त्यसभन्दा माथिको तल्लुबगर–त्रिपुराकोट सडक स्तरोन्नति तथा कालोपत्रे निर्माण भने सुस्त गतिमा छ ।
त्रिदेशीय व्यापारिक महत्त्व बोकेको यस सडकको निर्माण जिम्मा लिएका कम्पनीहरूको ढिलासुस्तीका कारण आयोजना अलपत्र परेको छ । सम्झौता भएको करिब एक वर्ष पुग्न लाग्दा पनि उल्लेख्य प्रगति हुन नसकेपछि आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ ।
आयोजना कार्यालयका अनुसार त्रिवेणी–त्रिपुराकोट सडक खण्डको निर्माण जिम्मा मैनाचुली–सिस्ने जेभीले करिब ८५ करोड रुपैयाँमा पाएको थियो । २०८२ साउनमा सम्झौता गरी पाँच प्रतिशत पेश्की रकम लिए पनि हालसम्म भौतिक प्रगति करिब एक प्रतिशत मात्रै भएको छ ।
यस्तै तल्लु–त्रिवेणी सडकखण्डको निर्माण जिम्मा क्याब कन्स्ट्रक्सनले ८८ करोड रुपैयाँमा लिएको थियो । २०८२ असोजमा सम्झौता गरी १० प्रतिशत पेश्की लिए पनि हालसम्म सातदेखि आठ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख नरेशप्रसाद केशरीका अनुसार दुवै निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दै स्पष्टीकरणसमेत माग गरिएको छ । तर कम्पनीहरूले मूल्यवृद्धिलगायत विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलाइ गरिरहेका छन् ।
भेरी करिडोर डोल्पाको प्रमुख जीवनरेखाका रूपमा रहेको छ । यो सडकमार्फत दैनिक उपभोग्य सामग्री, औषधि, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तु ढुवानी हुने भएकाले सडक अवरुद्ध हुँदा जिल्लाको जनजीवन प्रत्यक्ष प्रभावित हुने गरेको छ ।
स्थानीयवासीले सडक नियमित सञ्चालन, पहिरो तथा खोलानाला व्यवस्थापनमा द्रुत पहल, यातायात व्यवसायीको मनपरी नियन्त्रण, यात्रुको सुरक्षाको सुनिश्चितता तथा सडकको अवस्थाबारे समयमै आधिकारिक सूचना सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया 4