+
+
Shares

असार सकिँदा सर्लाहीमा ६० प्रतिशत धान रोपाइँ

अमलेश शर्मा अमलेश शर्मा
२०८३ असार ३२ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीमा समयमा वर्षा नहुँदा र बागमती सिँचाइ आयोजनाले समयमा पानी नछोड्दा यस वर्ष असार मसान्तसम्म ६० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।
  • कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहाले भन्नुभयो, 'हालसम्म करिब ६० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही समयमा ७० देखि ७५ प्रतिशत रोपाइँ भइसकेको थियो।'
  • किसानहरूले मलखादको चरम अभाव र महँगो मूल्यमा अनधिकृत मल खरिद गर्नुपर्दा धान उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

३२ असार, सर्लाही । असार महिना सकिँदासम्म सर्लाहीका धेरै खेतमा अझै धान रोपाइँ हुन सकेको छैन । समयमा पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँको गति सुस्त भएको हो ।

गत वर्ष यही अवधिसम्म जिल्लामा करिब ७० देखि ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यो वर्ष हालसम्म ६० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा कूल ४२ हजार ६९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। हालसम्म २५ हजार ६१९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन कूल क्षेत्रफलको करिब ६० प्रतिशत हो।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव कुशवाहाले सुरुवाती चरणमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको बताए। उनका अनुसार पछिल्ला दिनमा वर्षा भएपछि किसानहरू रोपाइँमा जुटेका छन्।

‘हालसम्म करिब ६० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही समयमा ७० देखि ७५ प्रतिशत रोपाइँ भइसकेको थियो,’ उनले भने, ‘सिँचाइ सुविधा भएका अधिकांश खेतमा रोपाइँ सकिएको छ। पछिल्ला दिनमा वर्षा भएकाले बाँकी खेतमा पनि रोपाइँले गति लिएको छ।बागमती सिँचाइ आयोजनाले समयमा पानी नछोडिँदा पनि रोपाइँ ढिलो हुन पुग्यो।’

ज्ञान केन्द्रका अनुसार सर्लाहीको लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, हरिपुर, हरिपुर्वा, पर्सा, ब्रह्मपुरी, मलंगवा र कविलासी लगायतका पालिकामा धान खेती बढी हुने गरेको छ। दक्षिणी भेगका अधिकांश क्षेत्रमा भने उखु खेतीको बाहुल्यता रहेको छ।

कतिपय किसानले बिउ उम्रिएर ठूलो हुन लाग्दासमेत खेतमा पर्याप्त पानी नपाउँदा रोपाइँ गर्न सकेका थिएनन्। पछिल्ला दिनमा वर्षा भएपछि खेतमा चहलपहल बढेको छ भने किसानहरू रोपाइँ सक्ने चटारोमा देखिएका छन्।

किसानले मलखाद, सिँचाइ तथा मौसमको अनिश्चितताका कारण धान रोपाइँमा ढिलाइ भएको गुनासो गरेका छन्। कविलासी नगरपालिका-६ जमुनियाँका किसान रामदरेश रायले नियमित वर्षा नहुँदा रोपाइँ गर्न समस्या भएको बताए।

‘धान रोप्ने बेला अत्यावश्यक पर्ने मलखादको समेत चरम अभाव छ। मल नपाउँदा किसानहरू रोप्ने कि नरोप्ने भन्ने अन्योलमा छन्,’ उनले भने।

किसानहरूका अनुसार बिउबिजन, मजदुरी र खेतीपातीमा ठूलो लगानी गरे पनि समयमा मलखाद नपाउँदा उत्पादन प्रभावित हुने चिन्ता बढेको छ।

पर्सा गाउँपालिका-१ शीतलपुरका किसान मनोज यादवले खेतमा लगाउने धानको ब्याड तयार भइसक्दा पनि मलखादको अभावले समस्या भएको बताए।

‘मलको प्रतीक्षा गर्दागर्दै ब्याड बिग्रिन थालेको छ। समयमा मल नपाउँदा उत्पादन घट्ने डर छ,’ उनले भने।

केही किसानले महँगो मूल्य तिरेर गुणस्तरहीन मलखाद प्रयोग गर्न बाध्य भएको बताएका छन्। नेपालमा पर्याप्त मल उपलब्ध नभएपछि सीमावर्ती क्षेत्रमा भारतबाट भित्रिने अनधिकृत तथा गुणस्तर नखुलेका मलखाद कालोबजारीमार्फत खरिद गर्नुपरेको अवस्था छ।

किसानहरूले यस्ता मलखादको एक बोरा किन्न ३ हजार २०० रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?