+
+
Shares

प्रधानमन्त्री र गभर्नरबीच एक घण्टा भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्यालयमा करिब १ घण्टा भएको भेटमा प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विकास र सेयर बजारको स्थायित्वबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ।
  • प्रधानमन्त्री शाहले सेयर बजारका लगानीकर्ताको मनोबल उच्च राख्न र उद्यमशीलता प्रवर्द्धन गर्न मौद्रिक नीतिमा आवश्यक लचकता अपनाउन गभर्नर पौडेललाई सुझाव दिनुभयो।
  • गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंक व्यावसायिक र समयसापेक्ष नीति अवलम्बन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा करिब १ घण्टा भएको भेटमा प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा लगानीकर्ताको आत्मविश्वास जगाउन सकिने उल्लेख गरे । उनले पूँजी बजारमा आवद्ध आम सर्वसाधारण लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिएका थिए ।

मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औंल्याए ।

मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिना कुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवम् कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्रीले आग्रह गरे ।

यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमी र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

छलफलमा गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट पारे । उनले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गरे ।

सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?