+
+
Shares

सोनाक्षी सिन्हाले फेसबुकमा भिडियोमार्फत गरिन सोनम वाङचुकको समर्थन

‘आज उनी १८ दिनदेखि अनशनमा बसेका छन्। उनले केही खाएका छैनन्। उनी कसका लागि बसेका हुन् ? उनी ती बालबालिकाको भविष्यका लागि बसेका हुन्, जसको भविष्य उनले बर्बाद भइरहेको देखिरहेका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते २०:५४

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एउटा भिडियो सन्देश जारी गरेर जलवायु अभियन्ता सोनम वाङचुकको समर्थन गरेकी छिन्। वाङचुक विगत २८ जुनदेखि भोक हड्तालमा बसेका छन्।

उनी र ‘ककरोज जनता पार्टी’ ले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। सोनाक्षी सिन्हाले फेसबुकमा २ मिनेट ४१ सेकेन्डको भिडियो जारी गर्दै आफ्नो भनाइ सार्वजनिक गरेकी हुन्।

भिडियो सन्देशमा उनले भनिन्, ‘मलाई सायद यस्तो बयान दिनु हुँदैनथ्यो, तर म आफैँलाई रोक्न सकिरहेकी छैन।’

उनले वाङचुकको योगदानको चर्चा गर्दै भनिन्, ‘सोनम वाङचुकलाई हामी सबै चिन्दछौँ। उनले हाम्रो देशका लागि के गरेका छन् र उनका उपलब्धिहरू के हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ। उनले धेरै अवार्डहरू जितेका छन्।’

उनले वाङचुकको अनशनको १८औँ दिन पुगेको चर्चा गर्दै भनिन्, ‘आज उनी १८ दिनदेखि अनशनमा बसेका छन्। उनले केही खाएका छैनन्। उनी कसका लागि बसेका हुन् ? उनी ती बालबालिकाको भविष्यका लागि बसेका हुन्, जसको भविष्य उनले बर्बाद भइरहेको देखिरहेका छन् । उनी ती बालबालिकाका लागि लडिरहेका छन्, जसले आफ्नो ज्यान गुमाए। उनी एउटा यस्तो सिस्टमको विरुद्ध लडिरहेका छन्, जसले सही तरिकाले काम गरिरहेको छैन।’

सोनाक्षीले मानिसहरूको मौनतामाथि प्रश्न उठाउँदै भनिन्, ‘हामी सबै उनलाई चिन्दछौँ, तर उनी हामीलाई चिन्दैनन्। तैपनि यो देश र यसको भविष्यका लागि उनी विगत १८ दिनदेखि भोकै छन्। अनि धेरै मानिसहरू चुपचाप छन्।’

उनले आफ्नो ऐक्यबद्धता जनाउँदै अन्त्यमा भनिन्, ‘अब जे हुनु छ, हुन्छ। केही छैन, तर म चुप बस्न सक्दिनँ। यो मानिस एक्लै लडिरहेको छ, यद्यपि ‘ककरोज जनता पार्टी’ पनि उनीसँगै छ। म देशका युवाहरूलाई बधाई दिन चाहन्छु कि उनीहरूले आफ्नो आवाज उठाएका छन्। उनीहरू राम्रो उद्देश्यका लागि लडिरहेका छन्, अनि उनीहरूको कुरा कसैले किन सुनिरहेको छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?