+
+
Shares

ब्लु बस सुरु हुन्छ भनेको दिनसम्म सम्झौता पनि भएन

बालेन शाहको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुग्दै गर्दा ‘१ साउनदेखि निःशुल्क ब्लु बस चल्ने’ भन्ने आशयका बग्रेल्ती समाचार आए । १ साउन आयो, तर ब्लु बस सञ्चालनमा आएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले एक सय दिनभित्र २५ वटा निःशुल्क \'ब्लु बस\' सञ्चालन गर्ने प्रतिबद्धता पूरा गर्न सकेको छैन ।
  • पूर्वाधार विकास मन्त्रालयले साझा यातायातसँग अझै सम्झौता गर्न नसक्दा बस सेवा सुरु हुन सकेको छैन ।
  • मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले साझासँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम हुने बताए ।

१ साउन, काठमाडौं । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुग्दै गर्दा ‘१ साउनदेखि निःशुल्क ब्लु बस चल्ने’ भन्ने आशयका बग्रेल्ती समाचार आए । १ साउन आयो, तर ब्लु बस सञ्चालनमा आएन ।

साझा यातायातका आठ वटा बसलाई नै ‘ब्लु बस’ को रूपमा चलाउने भनिएको थियो । तर बस चल्ने त परको कुरा सरकारले साझा यातायातसँग सम्झौता समेत गर्न सकेको छैन ।

पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्साल साझा यातायातसँगको सम्झौता प्रक्रियामै रहेको बताउँछन् । उनी भन्छन्, ‘साझासँगको सम्झौता भनेको एक हिसाबले सरकार–सरकार बीचको सम्झौता हो । छिट्टै सम्झौता हुने गरी काम गरिरहेका छौं ।’

साझा यातायातमा नेपाल सरकारको ९० प्रतिशतभन्दा बढी सेयर छ । सस्तो, पहुँचयोग्य र भरपर्दो यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित साझाले १९६२ देखि काठमाडौंका शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रदान गर्न थालेको थियो । यसमा नेपाल सरकारका मन्त्रालय, विभाग, महानगरहरू काठमाडौं र ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिका, विभिन्न संस्था र सर्वसाधारणको समेत लगानी रहेको छ ।

केही बसलाई ब्लु बसको रूपमा चलाउने विषय अन्तिम चरणमा पुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्याल बताउँछन् ।

‘ब्लु बस’ भनिए पनि हरियै रंगमा बस सञ्चालन हुने अर्यालले जानकारी दिए । उनी भन्छन्, ‘नाम ब्लु बस भएकाले कतिपयले साझालाई निलोमा रंगाउन लागेको हो भनेर सोध्छन् । साझाको हरियो रंग परिवर्तन नहुने भन्नेमा विवाद छैन ।’

निःशुल्क सञ्चालन हुने भएकाले सरकारले ‘सञ्चालन खर्च’ बेहोर्नुपर्छ । सम्झौता भएपछि मात्र रुट परमिट लगायतका काम अगाडि बढ्ने अर्यालले जानकारी दिए ।

सरकारले स्विकृत गरेको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सञ्चालन गरिने भनिएको छ । पहिलो चरणमा एक सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको प्रतिबद्धता थियो ।

एक सय दिनभित्र २५ वटा ब्लु बस सञ्चालनमा ल्याउँछु भनेको सरकारले यत्तिका दिन भइसक्दा एउटै बस चलाउन सकेको छैन । कतिपयले महिलालाई अलग्गै यात्रा गराउने अवधारणा नै गलत भएको भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?