+
+
Shares
विचार :

भारतबाट आयात हुने गोलभेँडामा क्वारेन्टिन प्रवेश सर्त लागु गरौं

नेपालको जलवायु, उपयुक्त उचाइ तथा अनुकूल मौसमका कारण गोलभेँडाको गुणस्तरीय बिउ उत्पादनका लागि उल्लेखनीय सम्भावना रहेको विभिन्न अध्ययनले पनि देखाएका छन् ।

प्रकाश पौडेल प्रकाश पौडेल
२०८३ साउन १ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले गोलभेँडाको बिउ उत्पादन तथा निर्यातका लागि जापान र बंगलादेशका कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ ।
  • भारतबाट आयात हुने गोलभेँडामा वैज्ञानिक जोखिम विश्लेषणका आधारमा कडाइ गर्दै जैविक सुरक्षाका लागि नयाँ क्वारेन्टिन सर्तहरू सिफारिस गरिएको छ ।
  • गुणस्तरीय बिउ उत्पादन र निर्यातले नेपाली किसानको समस्या सम्बोधन गर्दै कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालको कृषि क्षेत्र अहिले अवसर र चुनौतीको संगममा उभिएको छ । एकातर्फ, नेपाली गोलभेँडा उत्पादक किसान आयातित सस्तो गोलभेँडासँग प्रतिस्पर्धा गर्दै उचित मूल्य र स्थायी बजार खोजीमा छन् । अर्कातर्फ, नेपालले उच्च गुणस्तरको गोलभेँडाको बिउ उत्पादन तथा निर्यात गर्ने नयाँ अवसर प्राप्त गरेको छ ।

पहिलो चरण अन्तर्गत जापान तथा बंगलादेशमा निर्यात गर्ने सम्झौता भएका छन् । यस्तो अवस्थामा कृषि जैविक सुरक्षा र व्यापार प्रवर्द्धनबीच सन्तुलन कायम गर्दै वैज्ञानिक आधारमा तयार गरिएका क्वारेन्टिन प्रवेश सर्तहरूको समयोचित कार्यान्वयन नीतिगत रूपमा महत्त्वपूर्ण देखिन्छ ।

जैविक सुरक्षा विषयको विद्यावारिधि अनुसन्धानका क्रममा सम्पन्न गरिएको शत्रुजीव जोखिम विश्लेषण निष्कर्षका आधारमा भारतबाट आयात हुने ताजा गोलभेँडाका लागि विस्तृत क्वारेन्टिन प्रवेश सर्तका आधार तयार गरिएको छ ।

सम्बन्धित निकायबाट निष्कर्षको आवश्यक पुनरावलोकन गरी त्यसको कार्यान्वयन गरिए गोलभेँडासँग सम्बन्धित केही महत्त्वपूर्ण समस्या सम्बोधन हुन सक्दछन् ।

अध्ययनले देखाएको जोखिमका आधारमा संश्लेषित निष्कर्ष अनुसार भारतबाट नेपाल आउने प्रत्येक ताजा गोलभेँडाको कन्साइनमेन्टसँग भारतको राष्ट्रिय विरुवा संरक्षण संगठन (एनपीपीओ–इन्डिया) ले जारी गरेको फाइटोस्यानिटरी प्रमाणपत्र मार्फत आयातित गोलभेँडा नेपालले तोकेका प्रतिबन्धित शत्रुजीवहरूबाट मुक्त रहेको भनी अतिरिक्त घोषणा गर्नुपर्ने भनिएको छ ।

विशेषगरी ‘टमाटो ब्राउन रुगोज फ्रुट भाइरस’, ‘टमाटो मोटल मोजाइक भाइरस’, ब्याक्टेरियल क्यान्कर, ब्लसम थ्रिप्स, लिफी गल, स्टेम क्यान्कर तथा लिफ मोल्डबाट मुक्त रहेको बेहोरा बिरुवा स्वस्थताको आधिकारिक प्रमाणपत्रमा उल्लेख हुनुपर्ने सिफारिस गरिएको छ ।

त्यसैगरी कन्साइनमेन्ट सफा, नयाँ तथा स्पष्ट लेबल गरिएको प्याकेजिङमा हुनुपर्ने, माटो, बिरुवाका अवशेष, अन्य बिउ तथा जीवित किरामुक्त हुनुपर्ने, भन्सार जाँचपास क्रममा अनिवार्य रूपमा क्वारेन्टिन क्लियरेन्स स्लिप प्रयोग भएको हुनुपर्ने, आंशिक ढुवानी स्वीकार गर्न नहुने तथा आवश्यक पर्दा प्रयोगशाला परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रस्ताव पनि सिफारिस गरिएको छ ।

यी व्यवस्था अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धि (आईपीपीसी) र जोखिममा आधारित जैविक सुरक्षा व्यवस्थापनका अन्तर्राष्ट्रिय सिद्धान्तसँग अनुरूप छन् ।

३१ असारमा काठमाडौं माइतीघरमा गोलभेँडा किसानले उत्पादनको उचित मूल्य नपाएको तथा अनियन्त्रित आयातका कारण बजार गुमाउनुपरेको भन्दै विरोध प्रदर्शन गरेका थिए । यस्ता परिस्थितिमा वैज्ञानिक जोखिम विश्लेषणमा आधारित प्रवेश सर्तहरूलाई व्यापार अवरोधका रूपमा नभई सुरक्षित र जिम्मेवार व्यापार सुनिश्चित गर्ने माध्यमका रूपमा बुझ्नु आवश्यक छ । यस्ता उपायले स्वदेशी किसानको हित संरक्षणसँगै आयातित कृषि उपजको जैविक सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्‍याउन सक्छ ।

नेपाल सरकारले यसअघि पनि भारतबाट आयात हुने आँप, मुङफली, केरा लगायत उच्च जोखिमयुक्त कृषि उपजमा वैज्ञानिक जोखिम विश्लेषणका आधारमा विशेष क्वारेन्टिन प्रवेश सर्त लागु गरिसकेको छ । गोलभेँडाका लागि संश्लेषित प्रस्तावलाई पनि त्यही नीति र अभ्यासको अंगका रूपमा आत्मसात गरिनु उपयुक्त हुन्छ ।

नेपाल सरकारको ‘कस्टम्स सिड प्रडक्सन स्किम’ अन्तर्गत रही नेपाली बिउ उत्पादक कम्पनीले जापान र बंगलादेशका पाँच प्रमुख अन्तर्राष्ट्रिय बिउ कम्पनीसँग गोलभेँडाको बिउ उत्पादन तथा निर्यातका लागि सहकार्य सुरु गरेका छन् । यस प्रक्रियामा प्लान्ट क्वारेन्टिन तथा विषादी प्रशिक्षण केन्द्रले आवश्यक फाइटोस्यानिटरी तथा प्राविधिक सहजीकरण गरिरहेको छ ।

हाल रुकुम, दोलखा, नुवाकोट, धादिङ तथा काठमाडौंको थानकोट लगायत क्षेत्रमा निर्यातमुखी गोलभेँडा बिउ उत्पादन भइरहेको छ । नेपालको जलवायु, उपयुक्त उचाइ तथा अनुकूल मौसमका कारण गोलभेँडाको गुणस्तरीय बिउ उत्पादनका लागि उल्लेखनीय सम्भावना रहेको विभिन्न अध्ययनले पनि देखाएका छन् ।

विश्वका विभिन्न देशमा ‘टमाटो ब्राउन रुगोस फ्रुट भाइरस (टीओबीआरएफभी)/क्ल्याभिब्याक्टर मिसिगेनेसिस’ जस्ता रोगले गोलभेँडा उत्पादन र बिउ उद्योगमा ठूलो आर्थिक क्षति पुर्‍याइरहेका छन् । यदि यस्ता नियन्त्रित रोग नेपाल प्रवेश गरे भने त्यसको असर ताजा गोलभेँडा उत्पादनमा मात्र सीमित नहुन सक्छन् । विकासोन्मुख नेपाली बिउ उद्योगको विश्वसनीयता, बजार पहुँच र निर्यात सम्भावनामाथि समेत दीर्घकालीन प्रभाव पर्न सक्ने जोखिम रहन्छ ।

बिउ व्यापारमा जैविक सुरक्षाको विश्वसनीयता एउटा प्रमुख प्रतिस्पर्धात्मक आधार हो । उल्लेखित रोगमुक्त उत्पादन क्षेत्र कायम राख्न सकिए नेपालले जापान, बंगलादेश लगायत अन्य उच्च मूल्यका अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति क्रमश: विस्तार गर्न सक्ने सम्भावना प्रबल देखिन्छ ।

प्रस्तावित प्रवेश सर्तहरूको उद्देश्य व्यापारलाई निरुत्साहित गर्नु होइन, जोखिम व्यवस्थापन मार्फत सुरक्षित व्यापार प्रोत्साहन गर्नु हो । जोखिममा आधारित निरीक्षण, प्रयोगशाला परीक्षण, प्रमाणित फाइटोस्यानिटरी कागजात तथा लक्षित निगरानी र परिक्षणले अन्तर्राष्ट्रिय व्यापारिक दायित्व र राष्ट्रिय जैविक सुरक्षा दुवैलाई सन्तुलित रूपमा सम्बोधन गर्न सक्छ ।

नेपालको अनुकूल हावापानी, प्राविधिक जनशक्ति र ग्रामीण क्षेत्रमा उपलब्ध श्रमशक्तिलाई उच्च मूल्यको बिउ उद्योगसँग प्रभावकारी रूपमा जोड्न सकिए यसले रोजगारी सिर्जना, ग्रामीण आय वृद्धि, विदेशी मुद्रा आर्जन तथा निर्यात विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउन सक्छ ।

यस सन्दर्भमा सरकारले वैज्ञानिक प्रमाणका आधारमा विज्ञ शोधकर्ताको समुहद्वारा तयार गरिएका प्रवेश सर्तहरूमाथि आवश्यकता अनुसार थप अध्ययन, पुनरावलोकन,  निर्णय र प्रभावकारी कार्यान्वयनमा कूटनितिक पहल लिने हो भने नेपालको कृषि जैविक सुरक्षा प्रणालीलाई नै थप सुदृढ बनाउनुका साथै निर्यातमुखी कृषि विकासको दीर्घकालीन आधार निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

तत्कालका लागि भारतबाट आयात हुने गोलभेँडाका लागि प्रस्तावित प्रवेश सर्तहरू लागु गरी जैविक सुरक्षा सुनिश्चित गर्दै माथि उल्लेख भएका रोगमुक्त उत्पादन क्षेत्रको विश्वसनीयता कायम राख्न सफल भयो भने गोलभेँडा बिउ निर्यात अर्को सफल निर्यातयोग्य क्षेत्रका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना छ ।

यसले हालै माइतीघर मण्डलामा फालिएका गोलभेँडाले देखाएको समस्या समाधान हुनेछ ।

(लेखक पौडेल जैविक सुरक्षा तथा क्वारेन्टिन विषयमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पीएचडी स्कलर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?