News Summary
Generated by OK AI. Editorially reviewed.- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको शारीरिक श्रम मात्र नभई निर्णय प्रक्रियामै प्रवेश गरेर मानव सभ्यताको इतिहासमा नयाँ मोड ल्याएको छ।
- एआई प्रविधिले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र लोकतन्त्रमा गहिरो प्रभाव पार्दै मानिसको श्रम र ज्ञानको परम्परागत मूल्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
- एआईबाट सिर्जित सम्पत्तिको न्यायपूर्ण वितरण र प्रविधिको नैतिक प्रयोग नै भविष्यमा मानव सभ्यताको अस्तित्व र मूल्य निर्धारण गर्ने मुख्य आधार हुनेछन्।
हामीले धेरै वर्षसम्म आफूलाई पृथ्वीको सबैभन्दा बुद्धिमान प्राणी भनेर गर्व गर्यौं। अब पहिलो पटक हामीले आफैंलाई प्रश्न सोध्ने बेला भएको छ, बुद्धिमान भनेको वास्तवमा के हो? के धेरै जानकारी हुनु, छिटो उत्तर दिनु, करोडौं तथ्य सम्झनु बुद्धिमानी हो?
यदि बुद्धिमानी भनेको सही समयमा सही प्रश्न सोध्नु, शक्ति भएर पनि संयम राख्नु, अर्को मानिसको पीडा महसुस गर्नु, आफ्नै गल्ती स्वीकार गर्न सक्नु हो भने अझै मानिससँग केही अद्वितीय कुरा बाँकी छ भनेर मान्दा फरक नपर्ला।
हामी बाँचिरहेको समाज, संसार, हाम्रो अर्थतन्त्र सबै महासागर जस्ता हुन्। शान्त महासागर होइन, प्रशान्त महासागर जस्तै अशान्त। जहाँ हावाहुरी आउँछन्, आँधी, साइक्लोन आउँछन्, कुनै आँधी केही दिनमै हराउँछन्, कुनै यस्ता पनि हुन्छन्, जसले संसारमा दूरगामी परिवर्तन गर्छन्।
मानव सभ्यताको इतिहासलाई धेरै साइक्लोनले उथलपुथल पारेका छन्। कुनै बेला मानिसले आगो नियन्त्रण गर्न सिक्यो। त्यो एउटा सभ्यताको साइक्लोन थियो। त्यसपछि कृषिको आविष्कार भयो, त्यो अर्को साइक्लोन थियो। औद्योगिक क्रान्ति आयो, संसार खेतीबाट कारखानातिर सर्यो, बिजुली, रेल, जहाज आयो, त्यसपछि कम्प्युटर र इन्टरनेट आयो, संसार बदलिइरह्यो। यी सबै परिवर्तनले मानिसको जीवनलाई सजिलो बनाए। उत्पादन बढाए, नयाँ उद्योग जन्माए, पुराना उद्योग हराए। केही मानिस धनी भए। केही मानिस पछि परे। तर सबै परिवर्तनको केन्द्रमा मानिस नै रह्यो।
अर्थतन्त्रको मात्र कुरा गर्दा एआईसम्म आइपुग्दा विश्व समाजले औद्योगिक क्रान्ति र डिजिटल कम्प्युटिङ जस्ता ठूला परिवर्तनहरू पनि बेहोरेको छ भने सन् १९३० को डिप्रेसन, १९७३ को तेल संकट, २००८ को वित्तीय मन्दी र कोभिड जस्ता संकट पनि झेलिसकेको छ। ती सबैले संसारलाई हल्लाए, तर केही वर्षपछि संसारले फेरि आफ्नो सन्तुलन कायम गर्यो।
एआई पनि त्यस्तै अर्को परिघटना हो भनेर भन्न सकिन्छ, तर यसलाई अर्को कम्प्युटर वा अर्को इन्टरनेट मात्र भनेर बुझ्नु पर्याप्त हुँदैन। किनभने यस पटक मेसिनले केवल मानिसको हातलाई मात्र होइन दिमागलाई पनि सहयोग गर्न थालेको छ।
मानव सभ्यताको इतिहासलाई हेर्दा ठूलो परिवर्तन तीन चरणमा भएको देखिन्छ। पहिलो चरणमा हलो, पानीघट्ट, वाफको इन्जिन, ट्र्याक्टर, क्रेन इत्यादि बनायो। यी सबै प्रविधिले मान्छेको शारीरिक काम सजिलो बनाए, मानिसलाई सशक्तीकरण गरे। यो चरणमा मेसिनले काम गर्थ्यो, कहाँ के काम गर्ने भन्ने निर्णय मानिसले गर्थ्यो।
दोस्रो चरणमा कम्प्युटर, क्याल्कुलेटर, इन्टरनेट आयो। संसारभरको ज्ञान केही सेकेन्डमै सबैको पहुँचमा आयो। लेखपढ र करोडौं हिसाब केही क्षणमै हुन थाले। बैंक, अस्पताल, विमान, विश्वविद्यालय सबै कम्प्युटरमा निर्भर हुन थाले। तर यो चरणमा पनि लेखपढ र हिसाब गर्ने निर्णय मानिसले आफैं गर्थ्यो।
तेस्रो चरणमा एआईले भने पहिलो पटक त्यो सिमाना पार गर्न थालेको छ। अब मेसिनले केवल काम गर्दैन; प्रश्नको उत्तर दिन्छ, विश्लेषण गर्छ, तुलना गर्छ र सुझाव दिन्छ, कतिपय अवस्थामा मानिसभन्दा छिटो निर्णय पनि गर्छ। शायद यो मानव इतिहासको पहिलो यस्तो प्रविधि हो, जसले मानिसको निर्णय प्रक्रियामै प्रवेश गर्न थालेको छ। एआईको प्रभाव केवल अर्थतन्त्रमा सीमित रहने छैन, यसले विद्यालय, विश्वविद्यालय, अस्पताल, पत्रकारिता, अदालत, युद्ध, राजनीति सबै बदल्नेछ, र अन्ततः मानिसले आफूलाई हेर्ने दृष्टि पनि बदल्नेछ।
यति ठूलो परिवर्तनको सँघारमा प्रश्न उठ्नु स्वाभाविक हो कि, के एआईले धेरै मानिसको रोजगारी खोस्नेछ? के यसले केही कम्पनी र व्यक्तिलाई संसारकै सबैभन्दा शक्तिशाली बनाउनेछ, असमानता बढाउनेछ? र मलाई लाग्छ, ती सबैभन्दा ठूलो प्रश्न हो– “मानिसको मूल्य अब कहाँ रहनेछ”?
हजारौं वर्षदेखि मानिसको मूल्य दुई कुराले निर्धारण गर्दै आएको थियो— उसको श्रम र ज्ञान। एआईको युगमा पहिलो पटक यी दुवैको मूल्य एकैसाथ परिवर्तन हुन थालेको छ।
यो आलेख एआईले अर्थतन्त्रमा पारेको असर र मानव सभ्यतालाई यसले कता लैजान सक्छ भन्ने एउटा सामान्य मानिसको जिज्ञासाको परिणाम हो। एआईले एउटा व्यक्ति, परिवार, समुदाय, देश र अन्ततः सम्पूर्ण विश्वमा के-कस्ता असर पार्न थालेको छ भन्ने केही वास्तविक उदाहरणबाट बुझ्ने प्रयास गरौं।
उदाहरण १ — डाटा सेन्टर आयो, समुदायले के पायो?
एआईको कारण संसारभर डाटा सेन्टरहरूको स्थापना भइरहेको छ। अमेरिकामा त राज्य-राज्य बीच डाटा सेन्टर स्थापना गर्न प्रतिस्पर्धा नै चलेको छ। कसले बढी कर छुट दिने, कसले सस्तो जग्गा दिने, कसले सस्तो बिजुली उपलब्ध गराउने भन्ने होड छ। झट्ट हेर्दा लाग्छ, अर्बौं डलरको लगानी आउँदैछ, समुदाय धनी हुनेछ। तर अर्थतन्त्र यति सरल कहाँ छ र?
अहिलेसम्म डाटा सेन्टर स्थापना भइसकेका र त्यसको प्रभाव झेलिरहेका धेरै समुदायको अनुभव नकारात्मक छ। कतिपय ठाउँमा स्थानीय सरकार खुशी छन्, तर स्थानीय बासिन्दा त्यति खुशी देखिंदैनन्। म बस्ने राज्य टेक्सस अमेरिकाको व्यापारमैत्री राज्यहरूमा मानिन्छ, राज्य सरकार डाटा सेन्टरहरू स्थापना गर्न चाहन्छ तर यहाँका समुदायहरू त्यसको व्यापक विरोध गरिरहेका छन्।
पहिलो कारण हो ऊर्जा- डाटा सेन्टर भनेको सामान्य कार्यालय होइन, चौबीसै घण्टा चलिरहने हजारौं कम्प्युटरहरूको विशाल कारखाना हो। हजारौं प्रोसेसरहरू लगातार चलिरहेका हुन्छन्, कहिल्यै सुत्दैनन्, उनीहरूलाई दिन-रात चलिरहन भारी मात्रामा बिजुली चाहिन्छ र बिजुलीको माग ह्वात्तै बढ्छ। बिजुलीको माग जब उत्पादनभन्दा छिटो बढ्छ, मूल्य पनि ह्वात्तै बढ्छ। बिजुली महँगो हुँदा त्यसको असर केवल बिजुलीको बिलमा मात्र पर्दैन। बिजुली महँगो हुँदा सबै उपभोग्य वस्तु महँगा हुन्छन्। एउटा क्षेत्रमा भएको परिवर्तन विस्तारै सम्पूर्ण समाजमा फैलिन्छ।
दोस्रो कुरा पानी- डाटा सेन्टरलाई चिसो राख्न धेरै ठाउँमा ठूलो मात्रामा पानी प्रयोग हुन्छ। आज पानी प्रशस्त भएको ठाउँमा यो सामान्य कुरा लाग्न सक्छ। तर जलवायु परिवर्तनसँगै पानी नै भविष्यको सबैभन्दा बहुमूल्य स्रोत बन्ने हो भने? एउटा शहरमा पिउने पानी, खेती, उद्योग र डाटा सेन्टर सबैले एउटै स्रोत प्रयोग गर्न थाले भने प्राथमिकता कसलाई दिने?
तेस्रो कुरा जग्गा र स्थानीय अर्थतन्त्र- अर्बौं डलरको लगानी आएको खबर सुन्नासाथ जग्गाको मूल्य बढ्न थाल्छ। कतिपय मानिस रातारात धनी हुन्छन्। तर सबैसँग बेच्न मिल्ने जग्गा हुँदैन। धेरै मानिस घर किन्ने तयारीमा हुन्छन्, धेरै व्यवसाय भाडाको घर वा जमिन भाडामा लिएर चलिरहेका हुन्छन्। त्यसैले विकास सबैका लागि समान हुँदैन।
चौथो कुरा रोजगारी- विगतमा ठूलो कारखाना आउँदा त्यसले हजारौं परिवारको जीवन बदलिदिन्थ्यो, मजदुर आउँथे, उनीहरूका लागि घर बन्थे, पसल खुल्थे, होटल चल्थे, यातायात बढ्थ्यो। एउटा उद्योगले १० वटा अर्को उद्योग जन्माउँथ्यो। डाटा सेन्टरको अर्थशास्त्र फरक छ। निर्माणको समयमा कामदार चाहिए पनि सञ्चालनमा आएपछि अत्याधुनिक स्वचालनका कारण नगन्य कर्मचारीले काम चलाउन सक्छन्। अर्थात् पुरानो औद्योगिक मोडेलमा एआईलाई हेर्न मिल्दैन।
पाँचौं कुरा कर छुट र सार्वजनिक लगानी- धेरै राज्य र स्थानीय सरकारले डाटा सेन्टरलाई आकर्षित गर्न कर छुट दिन्छन्। उनीहरू लगानी ल्याउन चाहन्छन्, प्रतिस्पर्धी राज्यभन्दा पछि पर्न चाहँदैनन्, यसो गर्दा डाटा सेन्टरहरूको कारणले बढेको सार्वजनिक सेवाको खर्च समुदायले नै बेहोर्छ। यही कारणले डाटा सेन्टरको बहस प्रविधिको बहस मात्र रहेन। यो कर, ऊर्जा र वातावरण नीतिको पनि बहस हो।
डाटा सेन्टरले सिर्जना गर्ने सम्पत्ति र समुदायले व्यहोर्ने लागत बीच न्यायपूर्ण सन्तुलन कसरी कायम गर्ने? किनभने एआईको युगमा पहिलो प्रतिस्पर्धा एल्गोरिदमको भन्दा ऊर्जा, पानी र पूर्वाधारको हुनेछ।
उदाहरण २ — चिप्सले एउटा देशको अर्थतन्त्र हल्लाउँदा
एआईको मुटु चिप्स हो, चिप्स विना एआई चल्दैन। त्यसैले आज संसारमा तेल, सुन वा दुर्लभ धातुको जति चर्चा छ, त्यत्तिकै चर्चा चिप्सको पनि हुन थालेको छ। यही कारणले चिप्स उत्पादन गर्ने कम्पनीहरू आज विश्व अर्थतन्त्रको केन्द्रमा पुगेका छन्।
साउथ कोरियाका सामसङ र एसके हाइनिक्स संसारका प्रमुख चिप्स उत्पादक कम्पनी हुन्। एआईको माग बढ्दै गएसँगै यी कम्पनीहरूको नाफा पनि असाधारण रूपमा बढ्न थाल्यो। नाफा बढेपछि मजदुरहरूले स्वाभाविक रूपमा आफ्नो पनि हिस्सा मागेर हड्ताल गरे। ती कम्पनीहरूले उनीहरूको नाफाको १० देखि १२ प्रतिशत नाफा मजदुरहरूलाई बोनसको रूपमा बाँड्ने भए। सतहमा हेर्दा यो एउटा कम्पनी र त्यसका कर्मचारी बीचको विषय जस्तो लाग्छ, तर अर्थतन्त्रमा घटना सतहमा देखिए भन्दा धेरै गहिरा हुन्छन्।
यसको असर बुझ्न केही तथ्य हेरौं- यी दुई कम्पनीले देशको ०.५५ प्रतिशत जनसंख्यालाई रोजगारी दिन्छन् भने यी दुई कम्पनीले दिने भनेर घोषणा गरेको बोनस देशको जीडीपीको २.२ प्रतिशत हो। साउथ कोरियाको जीडीपीको २.३ प्रतिशत सेना र सुरक्षामा खर्च हुन्छ। अब विचार गरौं कोरियाले सेना र सुरक्षामा गर्ने खर्च बराबरको रकम त्यो देशको आधा प्रतिशत जनसंख्यामा वितरित हुँदा यसले बाँकी ९९.५ प्रतिशत जनसंख्यामा के असर गर्ला? यसले गर्दा त्यहाँका जनताको लिभिङ कस्ट भारी मात्रामा बढ्दैछ भने केन्द्रीय बैंक यो बोनसबाट सिर्जित इन्फ्लेशन कसरी नियन्त्रण गर्ने भन्ने कसरतमा छ। यदि एउटा देशको आधा प्रतिशत जनसंख्याको आम्दानी अचानक धेरै बढ्यो भने त्यसको असर त्यो आधा प्रतिशतमा मात्र सीमित रहन्छ कि बाँकी देशमा पनि पुग्छ? अवश्य पूरै देशमा पुग्छ।
जब सीमित समूहको आम्दानी एक्कासि बढ्छ, उनीहरूको खर्च गर्ने क्षमता पनि बढ्छ परिणामस्वरूप घरको मूल्य बढ्छ, सेवाको मूल्य बढ्छ, तलबको प्रतिस्पर्धा बढ्छ। बोनस नपाउने मानिसले पनि त्यही बढेको मूल्य तिर्नुपर्छ।

तर यो उदाहरणको अर्को पक्ष अझ रोचक छ। यी दुई कम्पनीहरू आज जहाँ पुगेका छन्, त्यहाँ पुग्न केवल उनीहरूकै मिहिनेतले मात्र सम्भव भएको होइन। दक्षिण कोरियाले दशकौंसम्म अनुसन्धानमा लगानी गर्यो। विश्वविद्यालयहरूलाई बलियो बनायो। पूर्वाधार निर्माण गर्यो। निर्यातमुखी उद्योगलाई प्रोत्साहन दियो। कर छुट दियो, वित्तीय सहयोग गर्यो। यी सबै स्रोत राज्यका थिए, र स्वाभाविक रूपले राज्यका स्रोत नागरिककै खल्तीबाट आउने हो।
अब यहाँनेर एउटा दार्शनिक प्रश्न उठ्छ, जब जोखिम थियो, त्यो जोखिम समाजले पनि बाँड्यो। आज प्रतिफल असाधारण रूपमा बढिरहेको छ, त्यो प्रतिफल कसले पाउने? मुख्य रूपमा लगानी कर्ताले? कर्मचारीले? कि त्यो समाजले पनि, जसले यी कम्पनीहरूलाई हुर्काउन वातावरण तयार गरेको थियो?
यही प्रश्न अहिले केवल दक्षिण कोरियाको होइन अमेरिका, ताइवान, जापान, युरोप—सबैतिर फरक-फरक रूपमा उठिरहेको छ। एआईले एउटा पुरानो आर्थिक बहसलाई फेरि जीवित बनाएको छ। अर्थतन्त्रमा ठूलो हिस्सा कसले पाउने? पूँजीले कि श्रमले?
औद्योगिक युगमा कारखाना बनाउन ठूलो पूँजी चाहिन्थ्यो, तर उत्पादन गर्न ठूलो श्रम पनि चाहिन्थ्यो। पूँजी र श्रम बीच एक प्रकारको सन्तुलन थियो। मजदुर विना कारखाना चल्दैनथ्यो।
एआईको अर्थतन्त्र भने फरक देखिन थालेको छ। यहाँ शुरुमा अत्यन्त ठूलो पूँजी चाहिन्छ— डाटा सेन्टर, चिप्स, अनुसन्धान, कम्प्युटिङ शक्ति। तर प्रणाली तयार भएपछि पहिलेभन्दा निकै कम मानिसले धेरै ठूलो मात्रामा उत्पादन गर्न सक्छन्।
यसको अर्थ के हो भने उत्पादनबाट आउने प्रतिफलको ठूलो हिस्सा विस्तारै श्रमबाट पूँजीतर्फ सर्न सक्छ। यदि त्यो प्रक्रिया धेरै तीव्र भयो भने समाजमा एउटा नयाँ प्रकारको असमानता जन्मिन सक्छ।
पहिले असमानता धनी र गरिब बीच थियो। अब असमानता एआईको स्वामित्व हुने र नहुने बीच पनि हुनेछ। जससँग चिप्स छन्, जससँग डाटा छ, जससँग कम्प्युटिङ शक्ति छ, जससँग उत्कृष्ट एआई मोडेल छ, उसले नयाँ सम्पत्ति सिर्जना गर्ने गति अरूभन्दा धेरै छिटो हुनेछ।
यही कारणले अहिले संसारका केही टेक्नोलोजी कम्पनीहरूको बजार मूल्य कतिपय देशको वार्षिक बजेटभन्दा ठूलो देखिन थालेको छ। यो केवल शेयर बजारको उत्साह होइन। यो पूँजीको नयाँ स्वरूप पनि हो।
यदि पूँजीको प्रतिफल श्रमको प्रतिफलभन्दा धेरै छिटो बढ्न थाल्यो भने के केवल कर बढाएर समस्या समाधान हुन्छ त? शायद हुँदैन। किनभने समस्या करको मात्र होइन, समस्या सम्पत्ति कसरी सिर्जना हुन्छ भन्ने नियम र परिभाषा फेरिनु पनि हो। यही कारणले आज संसारका अर्थशास्त्री, राजनीतिज्ञ र केन्द्रीय बैंकहरू एउटै प्रश्नसँग जुधिरहेका छन्। एआईले सिर्जना गर्ने नयाँ सम्पत्तिको लाभ समाजमा कसरी बाँड्ने?
यदि त्यसको उत्तर खोजिएन भने एआईले सिर्जना गर्ने सम्पत्ति जति ठूलो हुन्छ, त्यसले जन्माउने असन्तोष पनि त्यति नै ठूलो हुनेछ। जब सम्पत्ति सिर्जना हुने गति र त्यसको न्यायपूर्ण वितरण बीच धेरै ठूलो दूरी पैदा हुन्छ, त्यतिबेला अर्थतन्त्रको समस्या विस्तारै राजनीतिक समस्यामा रूपान्तरण हुन थाल्छ।
उदाहरण ३ — रोजगारीको संकट कि श्रमको पुनर्परिभाषा?
एआईको सबैभन्दा धेरै चर्चा हुने विषय रोजगारी हो। समाचारमा दिनहुँ पढ्न पाइन्छ, कतै हजारौं कर्मचारी कटौती भए, कतै नयाँ भर्ना रोकियो। यस्तो समाचार पढ्दा लाग्न सक्छ- एआईको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। तर मलाई लाग्छ, त्यो समस्याको एउटा भाग मात्र हो, वास्तविक परिवर्तन रोजगारीको सङ्ख्यामा मात्र होइन, श्रमको अर्थमा भइरहेको छ।
आजसम्मका प्रत्येक परिवर्तनपछि नयाँ काम पनि जन्मिए, नयाँ उद्योग खुले, नयाँ सीपको माग बढ्यो। समाजले केही समय संघर्ष गर्यो, तर नयाँ सन्तुलन बनायो। यसैले आज पनि धेरै अर्थशास्त्री भन्छन्, एआईले केही काम हटाउनेछ, तर नयाँ काम पनि सिर्जना गर्नेछ। मलाई यो तर्क अपूर्ण लाग्छ। किनभने यसपटक समस्या काम गुम्नु मात्र होइन, कामको मूल्य नै बदलिनु हो।
मानिसले पहिलेभन्दा धेरै उत्पादन गर्न सक्छ, उत्पादकत्व बढ्नु अर्थतन्त्रका लागि राम्रो कुरा हो। तर त्यसको अर्को पाटो पनि छ। त्यो बढेको उत्पादकत्वको लाभ कसले पाउने?
अर्थशास्त्रको इतिहास हेर्दा उत्पादकत्व बढ्दा तलब पनि बढेको धेरै उदाहरण छन्। तर त्यसका लागि श्रम बजार बलियो हुनुपर्छ, प्रतिस्पर्धा हुनुपर्छ, र नीतिहरूले त्यसलाई साथ दिनुपर्छ।
यदि उत्पादकत्व बढ्यो तर त्यसको अधिकांश लाभ पूँजीमा मात्र केन्द्रित भयो भने असमानता झन् बढ्न सक्छ। अझ अर्को परिवर्तन- प्रतिस्पर्धा अब मानिस र मानिस बीचको मात्र रहेन, मानिस र मेसिन बीचको पनि भयो। यसले मानिसमा एउटा नयाँ मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ। पहिले कर्मचारीले सहकर्मीभन्दा राम्रो काम गर्ने प्रयास गर्थ्यो। अब उसले प्रश्न सोध्न थालेको छ- म एआईले गर्न नसक्ने खाले के काम गर्न सक्छु र नयाँ युगमा सान्दर्भिक रहन सक्छु कि सक्दिनँ?
यो प्रश्नले विद्यालय, विश्वविद्यालय र प्रशिक्षण प्रणाली बदल्नेछ, कम्पनीले कर्मचारी भर्ती गर्ने तरिका र अन्ततः मानिसले आफ्नै मूल्याङ्कन गर्ने तरिका पनि बदल्नेछ। त्यसैले एआईको युगमा सबैभन्दा ठूलो प्रतिस्पर्धा जागिरको होइन मानिसको माइन्डसेट एड्जस्टमेन्टको हुनेछ। जसले नयाँ प्रविधिलाई छिटो बुझ्छ, उसले अवसर पाउनेछ। जसले सिक्न छोड्छ, उसले परिवर्तनसँग हार्नेछ।
र मुख्य कुरा यदि मानिसको श्रमको मूल्य घट्दै गयो भने, मानिसको मूल्य कहाँ रहनेछ? के श्रमको मूल्य घट्नु मानिसको मूल्य घट्नु हो? यही प्रश्नले अब हामीलाई अर्थतन्त्रबाट शिक्षा, संस्कृति र अन्ततः मानव सभ्यताको बहसतर्फ लैजान्छ।
उदाहरण ४ — शिक्षा, जब ज्ञान सस्तो हुन्छ
म सानो हुँदा कसैले— “तिमी किन पढ्छौ?” भनेर सोध्दा म भन्थें “राम्रो जागिर खान।” आज पनि धेरै विद्यार्थीको उत्तर त्यही हुन्छ होला, तर एआईको युगमा त्यो उत्तर विस्तारै अपुरो हुन थालेको छ। किनभने आज संसारको धेरै ज्ञान मानिसको टाउकोभित्र मात्र छैन, मोबाइलभित्र, इन्टरनेटमा पनि छ।
कुनै बेला एउटा पुस्तकालय पुग्न टाढा जानुपर्थ्यो, आज हातको फोनमा सबैथोक छ। आज संसारका उत्कृष्ट विश्वविद्यालयका लेक्चरहरू घरमै बसेर हेर्न सकिन्छ। कुनै बेला एउटा राम्रो शिक्षक भेट्नु भाग्यको कुरा थियो, आज संसारका उत्कृष्ट शिक्षकहरूको व्याख्या घरमै बसेर सुन्न सकिन्छ।
ज्ञान पहिलेभन्दा धेरै सुलभ भएको छ। यो मानव सभ्यताका लागि ठूलो उपलब्धि हो, तर आज शैक्षिक संस्था र शिक्षकहरूको भूमिका पनि फेरिएको छ। पहिले विद्यालयको काम थियो, ज्ञान दिनु। अब त्यो मात्र पर्याप्त हुँदैन, किनभने तथ्य, सूत्र, इतिहास, भाषा एआईले पनि सिकाउन सक्छ।
भविष्यको विद्यालय त्यो हुनेछ, जहाँ विद्यार्थीलाई सोच्न, प्रश्न गर्न, तर्क गर्न, सही र गलत छुट्याउन, र आफ्नो निर्णयको जिम्मेवारी लिन सिकाइनेछ। हामीले धेरै वर्षसम्म परीक्षामा उत्तर खोज्ने विद्यार्थी तयार गर्यौं, शायद अब प्रश्न खोज्ने विद्यार्थी तयार गर्नुपर्ने समय आएको छ, किनभने उत्तर एआईसँग छ। तर कुन उत्तर सही छ भन्ने निर्णय अझै मानिसले गर्नुपर्नेछ।
एउटा डिग्रीले अब चालीस वर्ष पुग्ने करिअरको र सीपको आयु छोटिंदै गएको छ। आज सिकेको प्रविधि पाँच वर्षपछि पुरानो हुन सक्छ। आजको लोकप्रिय प्रोग्रामिङ भाषा १० वर्षपछि इतिहास बन्न सक्छ। अर्थात्, भविष्यमा सबैभन्दा ठूलो सीप कुनै एउटा विषयको ज्ञान मात्र नहुन सक्छ। सिकिरहने क्षमता नै सबैभन्दा ठूलो सीप बन्न सक्छ।
यही कारणले मलाई लाग्छ, भविष्यको शिक्षामा सबैभन्दा ठूलो परिवर्तन पाठ्यपुस्तकमा होइन, दर्शनमा हुनेछ। हामीले छोराछोरीलाई कस्तो प्रश्न गर्ने मानिस बनाउने भन्ने महत्त्वपूर्ण हुनेछ। एआईले जानकारी दिन सक्छ, जिज्ञासा जगाउन, चरित्र निर्माण गर्न सक्दैन। एआईले इतिहास बुझाउन सक्छ, हाम्रो लागि इतिहासबाट नैतिक शिक्षा लिइदिन सक्दैन। एआईले हजारौं विकल्प देखाउन सक्छ, तर कुन बाटो रोज्ने भन्ने साहस मानिस आफैंले नै गर्नुपर्छ। यही कारणले विद्यालय ज्ञान बेच्ने संस्था भन्दा फरक, विवेक, चरित्र र जिज्ञासा निर्माण गर्ने संस्था हुनुपर्नेछ।
उदाहरण ५ — स्वास्थ्य : जब रोगभन्दा ठूलो प्रश्न विश्वास बन्छ
मानिसको जीवनमा सबैभन्दा ठूलो सम्पत्ति हो स्वास्थ्य। यही कारणले एआईको प्रभाव स्वास्थ्य क्षेत्रमा कस्तो पर्छ भन्ने प्रश्न केवल चिकित्सकको होइन, हामी सबैको हो। आज एआईले एक्स–रे, सीटी स्क्यान, एमआरआई र अन्य धेरै परीक्षणहरूको विश्लेषण गर्न सक्ने क्षमता तीव्र गतिले बढाइरहेको छ। औषधि अनुसन्धानमा पनि एआईको प्रयोग बढ्दै गएको छ। बिरामीको लाखौं रेकर्ड अध्ययन गरेर एउटा चिकित्सकले नदेख्ने प्याटर्न पनि एआईले देख्न सक्छ। यो अत्यन्तै राम्रो कुरा हो। तर बिरामीको जीवनका प्राथमिकता बुझेर “तपाईंको अवस्थामा यो उपचार उपयुक्त हुन्छ” भन्ने मानवीय निर्णय एआईले लिन सक्दैन। त्यसैले भविष्यमा राम्रो चिकित्सक त्यो हुनेछ जसले एआईको शक्ति प्रयोग गर्न जान्दछ, तर अन्तिम निर्णयको नैतिक जिम्मेवारी आफैं लिन सक्छ।
यही कुरा बिरामीमा पनि लागू हुन्छ। आज धेरै मानिस इन्टरनेटमा केही लेख पढेर आफैं रोगको निष्कर्ष निकाल्छन्। भोलि एआईले विस्तृत उत्तर दिनेछ। त्यसपछि आत्मविश्वास पनि बढ्न सक्छ, भ्रम पनि बढ्न सक्छ। यदि गलत सूचना सही भाषामा प्रस्तुत भयो भने त्यसलाई गलत भनेर छुट्याउन अझ गाह्रो हुन सक्छ। यसैले बिरामीहरूको भविष्यको चुनौती सूचना नपाउनु होइन, सही सूचना पहिचान गर्नु हुनेछ। चिकित्सकको मूल्य कठिन अवस्थाको निर्णयमा, जिम्मेवारी, सहानुभूति र बिरामीको विश्वास जित्न सक्ने क्षमतामा रहनेछ। यही कारणले भविष्यमा एआईले धेरै पेशाको सारलाई नै फेरिदिनेछ। प्रश्न फेरि उही मानिसको मूल्य अब कहाँ रहनेछ?
उदाहरण ६ — राष्ट्रिय सुरक्षा : अब युद्ध केवल सीमामा हुँदैन
इतिहासभरि राष्ट्रहरूले आफ्नो पहिलो दायित्व नागरिकको सुरक्षा गर्न सेना बनाए, हतियार बनाए, किल्ला बनाए अनि पछि मिसाइल बनाए। जससँग शक्तिशाली सेना थियो, उसले आफ्नो अस्तित्व जोगाउन सजिलो मानिन्थ्यो। तर प्रविधिले युद्धको स्वरूप पनि सधैं बदल्दै आएको छ। कुनै बेला घोडा सबैभन्दा ठूलो सैन्य शक्ति थियो। पछि बारुद, ट्याङ्क, विमान, परमाणु बम आयो।
हरेक नयाँ प्रविधिले युद्धको नियम फेर्यो, आज एआईले फेरि त्यही काम गर्न थालेको छ।
अब युद्ध केवल सीमामा लडिने युद्ध मात्र रहेन, आकाश, समुद्र र जमिनसँगै साइबर संसार पनि युद्धको मैदान बनिसकेको छ। एउटा देशसँग अत्याधुनिक एआई छ, जसले केही सेकेन्डमै लाखौं सूचना विश्लेषण गर्न सक्छ, शत्रुको गतिविधि अनुमान गर्न सक्छ, सम्भावित जोखिमको मूल्याङ्कन गर्न सक्छ, र दर्जनौं विकल्प दिन सक्छ। यही कारणले आज संसारका ठूला राष्ट्रहरू एआईमा अर्बौं डलर लगानी गरिरहेका छन्। तर यदि भविष्यमा धेरै निर्णय एल्गोरिदमको सिफारिसमा आधारित हुन थाले भने, गलत हुँदा जिम्मेवार को हुने?
एआई भविष्यको युद्धको रणनीतिक पूर्वाधार बन्यो भने विकसित र विकासशील राष्ट्र बीचको दूरी झन् बढ्न सक्छ। यसले विश्व शक्ति सन्तुलनलाई पनि नयाँ रूपमा परिभाषित गर्न सक्छ।
यही कारणले भविष्यको सबैभन्दा शक्तिशाली राष्ट्र त्यो हुने छैन, जससँग सबैभन्दा धेरै एआई हुनेछ। सबैभन्दा शक्तिशाली राष्ट्र त्यो हुनेछ, जसले एआई प्रयोग गर्ने नैतिक सीमा निर्धारण गर्न सक्नेछ। किनकि शक्तिमा नियन्त्रण भएन भने मानिस हुनुको मूल्य हराउनेछ।
उदाहरण ७ — लोकतन्त्र : जब सत्य पनि प्रतिस्पर्धामा पर्छ
लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति के हो ? निर्वाचन, संविधान ? तर यी सबैभन्दा पहिले लोकतन्त्र एउटा अदृश्य आधारमा उभिएको हुन्छ, त्यो हो— विश्वास।
जनताले निर्वाचनमा विश्वास गर्छन्। नागरिकले सरकारमा कुनै न कुनै स्तरको विश्वास गर्छन्। अदालतको निर्णयमा विश्वास गर्छन्। लोकतन्त्र त्यही साझा विश्वासमा उभिएको हुन्छ।
एआईले यही ठाउँमा नयाँ प्रश्न उठाएको छ। भ्रम सिर्जना गरेर खेल्न र राजनीति गर्न रुचाउनेहरूलाई सजिलो भएको छ। एउटा तस्बिर बनाउन केही सेकेन्ड लाग्छ, एउटा भिडियो हेर्दा हामी सहजै विश्वास गर्छौं– त्यो तस्बिर, भिडियो वास्तवमै भएको घटना हो कि अत्याधुनिक प्रविधिबाट सिर्जना गरिएको दृश्य? सामान्य मानिसलाई छुट्याउन गाह्रो भएको छ।
यसको अर्थ अब समस्या सूचना नपाउनु होइन; सत्य पहिचान गर्नु हुनेछ। लोकतन्त्रमा मतदाताले आफ्नो निर्णय उपलब्ध जानकारीका आधारमा गर्छ। यदि जानकारी नै योजनाबद्ध रूपमा भ्रमपूर्ण बनाइयो भने त्यसमा आधारित भएर गरिएको मतदाताको निर्णय कत्तिको सान्दर्भिक होला?
यदि केही सरकारले एआई दुरुपयोग गरे वा आफ्ना नागरिकको हरेक गतिविधिमा अनुचित निगरानी गर्न थाले, यदि नागरिकले देखेको, सुनेको र पढेको कुनै पनि कुरामा विश्वास गर्न छोडे भने लोकतन्त्रको साझा आधार नै कमजोर हुन सक्छ।
मानिस हुनुको अर्थ
लेखको शुरुमा सभ्यतालाई महासागरसँग तुलना गरेको थिएँ। हावाहुरी आउँछ, आँधी आउँछ, साइक्लोन आउँछ। शायद एआई पनि त्यस्तै एउटा साइक्लोन हो। तर प्रत्येक साइक्लोनले पुनर्निर्माणको एउटा अवसर पनि ल्याउँछ।
एआईसँग धेरै प्रश्नका उत्तर होलान् तर “मानिसको मूल्य अब कहाँ रहनेछ?” भन्ने प्रश्नको उत्तर यो साइक्लोनमय समयमा मानिस आफैंले पत्ता लगाउनुपर्नेछ। त्यो उत्तर हामीले, मानव समाजले आफ्ना निर्णय, मूल्य र कर्मबाट लेख्न बाँकी छ।
कहिलेकाहीं म सोच्ने गर्छु— यदि आजभन्दा १०० वर्षपछि कुनै विद्यार्थीले सन् २०२५–२०३५ को इतिहास पढ्यो भने उसले हाम्रो पुस्तालाई कसरी सम्झेला? के उसले भन्नेछ— “यही दशकमा एआईको युग शुरु भयो।” या उसले भन्नेछ— “यही दशकमा मानिसले आफ्नो सभ्यताको अर्को बाटो रोज्यो।” इतिहासले प्रविधिको जन्ममिति मात्र सम्झँदैन, मानिसले ती प्रविधिसँग गरेको व्यवहार सम्झन्छ।
बारुदको आविष्कारभन्दा ठूलो कुरा मानिसले त्यसलाई कसरी प्रयोग गर्यो भन्ने थियो। परमाणु ऊर्जाको आविष्कारभन्दा ठूलो कुरा त्यसले हिरोशिमा र नागासाकीमा देखायो, हजारौं शहरलाई उज्यालो पनि बनाएको कुरा गौण भयो। इन्टरनेटको आविष्कारभन्दा ठूलो कुरा त्यसले संसारलाई जोड्यो कि विभाजित गर्यो भन्ने थियो। एआईको इतिहास पनि त्यस्तै गरी लेखिनेछ।
के भविष्यमा मानिस हुनुको अर्थ आमाको काख, बुबाको संघर्ष, किसानको पसिना, कविको आँसु, प्रेमीको प्रतीक्षा, डाक्टरको जिम्मेवारी र न्यायाधीशको अन्तःस्करणमा रहनेछ या मानिस हुनुको अर्थ एआईले निर्धारण गर्नेछ?
प्रतिक्रिया 4