+
+
Shares

बागमती सरकारमा नयाँ तमासा : एउटै मन्त्रालयमा तीन-तीन जना मन्त्री

विगतमा दोब्बर संख्यामा मन्त्रालय बढाइएको, भागबण्डा मिलाउन राज्यमन्त्रीलाई भूमिका दिइएकोदेखि एउटा भवनका झ्याल–झ्यालमा चार वटासम्म मन्त्रालयका बोर्ड राखेको बागमतीमा यसपटक नयाँ दृश्य देखिएको छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ साउन १ गते १६:२९

१ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा मन्त्रीलाई जिम्मेवारी तोक्ने सन्दर्भमा नयाँ नजिर बसालिएको छ ।

विगतमा दोब्बर संख्यामा मन्त्रालय बढाइएको, भागबण्डा मिलाउन राज्यमन्त्रीलाई भूमिका दिइएकोदेखि एउटा भवनका झ्याल–झ्यालमा चार वटासम्म मन्त्रालयका बोर्ड राखेको बागमतीमा यसपटक नयाँ दृश्य देखिएको छ ।

शुक्रबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले एउटै मन्त्रालयमा तीन जनासम्म मन्त्री बनाएका छन् । आजै खारेज गरिएका ६ जना मन्त्रालयका मन्त्रीलाई थप जिम्मेवारी तोक्ने क्रममा मुख्यमन्त्री बानियाँले मन्त्रालयको विषयगत भूमिका दिएका हुन् ।

गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था आज (१ साउन २०८३) देखि लागु गरिएको छ ।

यो निर्णयअनुसार श्रम, रोजगार तथा यातायात, संस्कृति तथा पर्यटन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य र वन तथा वातावरण तथा युवा तथा खेलकुद मन्त्रालय खारेजमा परेका थिए ।

जसमध्ये श्रम, स्वास्थ्य र वन तथा वातावरणमा एमालेबाट श्रमश: जयराम थापा, किरण थापा र भरत केसी मन्त्री थिए । पर्यटन, युवा तथा खेलकुद र सहकारी मन्त्रालयमा कांग्रेसबाट क्रमश: सुरश श्रेष्ठ, उर्मिला नेपाल र विनु रायमाझी मन्त्री थिए ।

मुख्यमन्त्री बानियाँले ८ वटा मन्त्रालय कायम गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई बिना विभागीय जिम्मेवारी तोकेका हुन् । उनीहरूलाई आजै मन्त्रालयको विषयगत जिम्मेवारी पनि तोकिएको मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा अब तीन–तीन जना मन्त्री भएका छन् । उद्योगमा पहिल्यै विन्दु श्रेष्ठ मन्त्री थिइन् ।

मन्त्रालय खारेजीमा परेर बिना विभागीय मन्त्री बनेका जयराम थापालाई श्रम, रोजगार तथा यातायात विषय र अर्का मन्त्री सुरेश श्रेष्ठलाई उद्योग मन्त्रालयमै संस्कृति तथा पर्यटन विषय हेर्ने जिम्मेवारी मुख्यमन्त्री बानियाँले तोकेका छन् ।

यसैगरी, मन्त्री किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय, मन्त्री उर्मिला नेपाललाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत नै युवा तथा खेलकुद विषय हेर्ने जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयमा पहिल्यै कञ्चनचन्द्र वादे मन्त्री छन् ।

यस्तै, मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री बानियाँले मन्त्री विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विषय हेर्ने जिम्मेवारी दिएका छन् ।

नयाँ कार्यविभाजनअनुसार बानियाँ नेतृत्वको सरकारमा डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय एक्लै हाँक्ने छन् ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको जानकारी दिए ।

मन्त्रालय पुनर्संरचनापछि सम्बन्धित विषयगत कार्यसम्पादनमा निरन्तरता कायम राख्न मन्त्रीहरूलाई अतिरिक्त विषयगत जिम्मेवारी प्रदान गरिएको उनको दाबी छ ।

मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भएपछि मन्त्री र मन्त्रालयको संख्या ८ कायम रहने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?