News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलले नेपालबाट थप दुई हजार एक सयभन्दा बढी केयरगिभर लैजाने घोषणा गरेको छ ।
- इजरायली राजदूत श्मुलिक एरी बासले घरमा आधारित केयरगिभिङ र कृषि श्रमिकसम्बन्धी दुई नयाँ प्रोटोकल अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
- हालैको छनोट प्रक्रियामा लट्रीमार्फत आठ सय ३६ जना उम्मेदवार छनोट भएका छन् भने उनीहरूलाई सेप्टेम्बरदेखि चरणबद्ध रूपमा इजरायल पठाइनेछ ।
१ साउन, काठमाडौं । इजरायलले नेपालबाट थप २ हजार १ सयभन्दा बढी नेपाली केयरगिभर लैजाने भएको छ । इजरायलले निकट भविष्यमा केयरगिभरकै लागि थप २ हजार १ सय भन्दा बढी रोजगारी अवसर खुल्ने जनाएको हो ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायरमा नेपाली केयरगिभरको अत्यधिक माग रहेको बताउँदै त्यसका लागि थप कोटा खुल्ने बताए ।
उनले नेपाल र इजरायलबीच घरमा आधारित केयरगिभर (होम–बेस्ड केयरगिभिङ) तथा ‘कृषि श्रमिक’ सम्बन्धी दुई नयाँ द्विपक्षीय प्रोटोकल अन्तिम चरणमा पुगेको बताए । ती दुई प्रोटोकलमा सम्झौता भएपछि घरमा आधारित र कृषि क्षेत्रमा थप नेपाली श्रमिक लगिने उनको भनाइ थियो ।
इजरायलले हालै २ हजार ३ सय केयरगिभरको कोटा खोलेको थियो । सोही अनुसार वैदेशिक रोजगार विभागले २०८३ जेठ १३ मा सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको थियो ।
त्यसका लागि विभिन्न मापदण्ड तोक्नुका साथै अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र अनिवार्य गरिएको थियो । अंग्रेजी भाषाका लागि १५ हजार ६ सय २६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २ सय ३१ जना मात्रै पास भएका थिए ।
पास भएकाहरू मध्ये छनोट प्रक्रिया अन्तर्गत हिजो (बिहीबार) गरिएको लट्रीमार्फत ८ सय ३६ जना उम्मेदवार छनोट भएका थिए ।
इजरायलको जनसंख्या तथा आप्रवासन प्राधिकरण (पीबा) को कार्यालय जेरुसेलममा आयोजित प्रत्यक्ष प्रसारणमार्फत लट्री ड्र गरिएको थियो । प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न नेपालस्थित इजरायली राजदूत, वैदेशिक रोजगार विभागका अधिकारी, युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागितामा नेपालमा पनि प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो ।

लट्री प्रक्रियामा कुल १ हजार १ सय १५ जना उम्मेदवार सहभागी भएका थिए । तीमध्ये ७ सय ८४ पुरुष र ३ सय ३१ महिला रहेका थिए । प्रत्येक समूहबाट ७५ प्रतिशत उम्मेदवार छनोट गर्ने व्यवस्था अनुसार ८ सय ३६ जना अन्तिम छनोटमा परेका हुन् ।
तोकिएको कोटाभन्दा कम मात्रै छनोटमा परेपछि बाँकी रहेका कोटा र थप गरी इजरायलले २ हजार १ सय भन्दा बढी कोटा केही समयमा खुलाउने जनाएको हो ।
लट्रीमार्फत छनोट भएका उम्मेदवारहरूले अब स्वास्थ्य परीक्षण तथा आपराधिक अभिलेख परीक्षणसहित अन्तिम छनोट प्रक्रिया पूरा गर्नुपर्नेछ । चिकित्सकीय रूपमा योग्य र आपराधिक अभिलेख नभएका कामदारहरूलाई आगामी सेप्टेम्बरदेखि चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरिएको छ ।
नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायल जाने नेपाली केयरगिभरहरूले इजरायली नागरिक सरह न्यूनतम तलब र सेवा–सुविधा प्राप्त गर्नेछन् । हाल इजरायलमा कार्यरत केयरगिभरहरूको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली शेकेल अर्थात् करिब ३ लाख ४७ हजार नेपाली रुपैयाँ बराबर रहेको छ । आवास र खानाको व्यवस्था भने कामदार आफैले गर्नुपर्ने प्रावधान छ ।
नेपाल र इजरायलबीच सरकारी संयन्त्रमार्फत श्रमिक पठाउने व्यवस्था लागु भएपछि वैदेशिक रोजगारीको क्षेत्रमा पारदर्शिता र सुरक्षित आप्रवासन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल भएको सरकारी अधिकारीहरूको भनाइ छ ।
सरकारी संयन्त्र मार्फत नेपाली श्रमिक (केयरगिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो ।
२०७७ को सम्झौतापछि इजरायलले हालसम्म दुई चरणमा नेपालबाट केयरगिभर लगिसकेको छ भने तेस्रो चरणको प्रक्रिया अघि बढेको छ । इजरायलले घरमा आधारित र कृषि क्षेत्रमा श्रमिक पठाउन अनुरोध गर्दै आएको छ । सोही अनुसार नेपाल र इजरायल हाल मुख्य श्रम सम्झौतासहित घरमा आधारित र कृषिमा श्रमिक पठाउने प्रोटोकलमा हस्ताक्षर गर्ने चरणमा छन् ।
प्रतिक्रिया 4