News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र इजरायल सरकारबीच कृषि र घरमा आधारित सहायक कामदार (केयरगिभर) पठाउने श्रम प्रोटोकललाई अन्तिम रूप दिने गरी छलफल अघि बढेको छ ।
- श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले प्राविधिक विषय मिलाएर यथाशीघ्र औपचारिक हस्ताक्षर गर्ने गरी वार्ता अघि बढेको जानकारी दिए ।
- इजरायलले कामदारको संख्या वार्षिक कोटाका आधारमा निर्धारण गर्ने जनाएको छ र रोजगारीको अवधि सामान्यतया पाँच वर्षको हुनेछ ।
२६ असार, काठमाडौं । इजरायलमा ‘होम बेस्ड केयरगिभर’ पठाउने प्रोटोकल चाँडो टुङ्ग्याउने गरी छलफल अघि बढेको छ ।
इजरायल र नेपाल सरकारबीच व्यक्तिको घरमा काम गर्ने केयरगिभर र कृषि क्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी तयार पारिएको प्रोटोकललाई अन्तिम रूप दिने गरी छलफल अघि बढेको हो ।
यसका लागि नेपालका तर्फबाट गत वर्ष नै प्रोटोकलको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्बाट पारित भइसकेको थियो ।
२२ पुस २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्र र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै इजरायलद्वारा पठाइएको थप दुई नयाँ प्रोटोकलको मस्यौदा पारित गरेको थियो । त्यससँगै दुई प्रोटोकलमा हस्ताक्षर हुने बाटो खुलेको थियो । तर, हालसम्म सम्झौता हुन सकेको छैन ।
इजरायल र नेपालबीच भएको श्रम सम्झौता अर्न्तगत ती प्रोटोकल पारित भएको थियो । इजरायलसँग दीर्घकालीन सेवा केन्द्रमा सहायक श्रमिक (केयरगिभर) पठाउने मात्रै प्रोटोकल छ । यसलाई पनि परिमार्जन सहित मस्यौदा पठाइएको थियो ।
इजरायलले तीन वटा प्रोटोकल सम्बन्धी मस्यौदा पठाएको थियो । त्यसमा आवश्यक संशोधन गर्दै मन्त्रिपरिषद्बाट पारित भएको थियो । सोही अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रोटोकलमा सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो । तर, इजरायल पक्षबाट कृषि र घरमा आधारित सहायक कामदारको प्रोटोकलमा थप संशोधन गरेर पठाइएको थियो ।
यी प्रोटोकल अगाडि बढाउन नेपाल र इजरायल सरकारबीच श्रम प्रोटोकलको मस्यौदामा सघन छलफल भइरहेको छ । श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार दुई देशबीचको यो प्रक्रिया अहिले वार्ता (नेगोसिएसन) चरणमा छ ।
इजरायलले पठाएको प्रोटोकलको मस्यौदामा नेपालले केही प्राविधिक विषय मिलाउन बाँकी रहेको बताएको छ । मन्त्रालयको प्राविधिक टोलीले मस्यौदामा उल्लेखित सर्त र सुविधा अध्ययन गरिरहेको र प्राविधिक तहमा नमिलेका विषयलाई उच्च स्तरीय वार्तामार्फत टुङ्ग्याइने प्रवक्ता घिमिरेले बताए ।
गत बुधबार श्रममन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिकम एरी बासबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उक्त प्रोटोकललाई यथाशीघ्र पारित गर्ने विषयमा छलफल भएको थियो ।
दुवै पक्षले मन्त्रालयबाट यो प्रक्रिया यथाशीघ्र सम्पन्न हुने लक्ष्य राखेको छ । विशेषगरी होम बेस्ड केयरगिभरका सन्दर्भमा इजरायलले केही बुँदामा परिमार्जन सहित प्रस्ताव पठाएको छ ।
प्रवक्ता घिमिरेका अनुसार प्राविधिक टोलीले यसलाई अन्तिम रूप दिएपछि दुई देशबीच औपचारिक हस्ताक्षर हुनेछ ।
कृषि र घरमा आधारित सहायक कामदारका विषयमा इजरायलले वार्षिक कोटा नै तोकेर पठाउने तयारी गरेको छ । तर, अहिले नै स्पष्ट नभएको प्रवक्ता घिमिरले बताए ।
‘कामदार लैजाने संख्या इजरायलले वार्षिक कोटाका आधारमा निर्धारण गर्छ, जुन प्रोटोकल स्वीकृत भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने ।
इजरायलमा काम गर्ने अवधि सामान्यतया ५ वर्षको हुनेछ । ५ वर्ष अवधि पूरा गरेपछि कामदार अनिवार्य रूपमा स्वदेश फर्कनुपर्ने प्रावधान छ । यद्यपि, नेपाली कामदारको इमानदारी र सेवाबाट सन्तुष्ट भई रोजगारदाता (अनर) ले भिसा परिवर्तन गरी राख्न चाहे मात्रै बस्न पाउने सम्भावना रहन्छ ।
सरकारले इजरायलको श्रम बजारलाई नेपालीका लागि सुरक्षित र व्यवस्थित बनाउन यो प्रोटोकललाई बढी प्राथमिकता दिएको छ । सम्झौता भएपछि केयरगिभर क्षेत्रमा नेपाली श्रमिकका लागि रोजगारीको ठूलो ढोका खुल्ने अपेक्षा गरिएको छ ।
सरकारी संयन्त्र मार्फत नेपाली श्रमिक (केयरगिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो । उक्त सम्झौता भएको पाँच वर्षपछि नवीकरण प्रक्रिया अगाडि बढेको थियो ।
२०७७ को सम्झौतामा स्वत: नवीकरण हुने प्रावधान नराखिएपछि उक्त सम्झौता नवीकरण प्रक्रिया अघि बढेको थियो । उक्त सम्झौतासँगै थप कृषि र घरमा आधारित श्रमिक पठाउने सम्झौता समेत तयार पारेको थियो ।
तर, इजरायली पक्षबाट दुई वटा प्रोटोकलमा केही बुँदा परिमार्जन गरेर पठाइएको थियो । त्यसपछि दुई देशबीचका प्राविधिक समितिमा छलफल गरेर निष्कर्षमा पुगेर चाँडै सम्झौता गर्ने गरी प्रक्रिया अघि बढेको हो ।
२०७७ सालमा भएको सम्झौता अनुसार हाल तेस्रो चरणमा केयरगिभर पठाउने प्रक्रिया अघि बढिसकेको छ । हालसम्म दुई चरणमा गरेर ३ हजारभन्दा बढी केयरगिभर इजरायल पुगिसकेका छन् ।
प्रतिक्रिया 4