+
+
Shares

इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

आवेदकले आगामी १४ असार राति १२ बजेभित्र ‘विथ नो क्रिमिनल रेकर्ड’ उल्लेख भएको अन्तिम प्रहरी प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका रूपमा जान आवेदन दिएका नेपालीलाई प्रहरी प्रतिवेदन पछि बुझाउन सकिने सहजीकरण गरेको छ ।
  • आवेदकले प्रहरी प्रतिवेदनका लागि निवेदन दिएको प्रमाण बुझाई आगामी १४ असारभित्र अन्तिम प्रहरी प्रतिवेदन बुझाउनु पर्नेछ ।
  • विभागले २ हजार ३ सय केयरगिभरका लागि आवेदन खुलाएकोमा फाराम भर्ने म्याद आगामी ७ असारसम्म तोकिएको छ ।

५ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का रूपमा रोजगारीमा जान आवेदन दिएका नेपालीलाई प्रहरी प्रतिवेदन पछि बुझाउन सकिने व्यवस्था गरेको छ ।

विभागले सूचना जारी गर्दै आवेदन दिने क्रममा प्रहरी प्रतिवेदन प्राप्त नभएका कारण आवेदन प्रक्रियाबाट वञ्चित हुन सक्ने गुनासो आएपछि यस्तो सहजीकरण गरिएको जनाएको छ ।

सूचना अनुसार आवेदनका लागि आवश्यक अन्य सबै योग्यता र मापदण्ड पूरा गरेका आवेदकले प्रहरी प्रतिवेदनका लागि निवेदन दिएको प्रमाण संलग्न गरी आवेदन दिन सक्नेछन् ।

तर, उनीहरूले आगामी १४ असार राति १२ बजेभित्र ‘विथ नो क्रिमिनल रेकर्ड’ उल्लेख भएको अन्तिम प्रहरी प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने छ ।

विभागले तोकिएको समयभित्र प्रहरी प्रतिवेदन पेस नगर्ने आवेदकको आवेदन स्वत: अयोग्य हुने स्पष्ट गरेको छ ।

इजरायल रोजगारीका लागि आवेदन प्रक्रिया चलिरहेका बेला प्रहरी प्रतिवेदन प्राप्त गर्न ढिलाइ हुने समस्या देखिएपछि विभागले आवेदकलाई सहज हुने गरी यो व्यवस्था गरेको हो । यस व्यवस्थाबाट आवश्यक कागजात संकलन प्रक्रियामा रहेका आवेदकलाई राहत पुग्ने अपेक्षा गरिएको विभागको भनाइ छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रक्रिया अगाडि बढिरहेको छ । विभागले योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ ।

विभागले १३ जेठमा २ हजार ३ सय जना केयरगिभरका लागि आवेदन माग गरेको थियो । ७ असारसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा प्रहरी प्रतिवेदन बनाउन नसक्नेका लागि १४ असारसम्म बुझाउन सकिने विभागले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?