+
+
Shares

कोलकाता- विराटनगर कार्गो रेल सेवा सुरु

नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलकाता र हल्दिया बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत तेस्रो मुलुकको सामान ढुवानी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
  • नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्यले कोलकाताबाट विराटनगरका लागि पहिलो कार्गो रेल सेवाको औपचारिक रूपमा शुभारम्भ गर्नुभयो ।
  • यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू सिधै विराटनगर पठाउन सकिने भएको छ ।

१ साउन, काठमाडौं । नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जलमार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था गरेको छ ।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको नोटिफिकेसन  ७३/२०२५ कस्टम्स मार्फत इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम नियमावली २०१९ मा संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापट्टनमबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो ।

सो निर्णय कार्यान्वयन गराउन नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरेको बताएको छ । त्यसपछि २६ फेब्रुअरी २०२६ मा कोलकाता भन्सारले एक सूचना जारी गरी कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाली भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।

सो निर्णय कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो पटक औपचारिक रुपमा रेल कार्गो सेवाको सुभारम्भ भएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

नेपाली महावाणिज्य दूत झक्कप्रसाद आचार्य र कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले हरियो झण्डा देखाएर कार्गो रेलको शुभारम्भ गरे । भारतीय कन्टेनर निगम लिमिटेडको रेल र्‍याकमार्फत प्रस्थान गरेको पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डष्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ राखिएका ४० फिटका ४० उच्च क्षमताका कन्टेनर रहेको महावाणिज्य दूतावासले जनाएको छ । यी कन्टेनरमा इलेक्ट्रोनिक्स कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रुपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरु रेलमार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ ।

सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यून लागत र कम समयमा पुग्ने हुन्छ । यसले सबै प्रकारका वस्तु आयात सहज बनाउने समेत बताइएको छ । यसअघि वीरगन्जमा मात्र यस्तो सेवा उपलब्ध भएकोमा अब विराटनगरमा समेत सो सेवा उपलब्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?