+
+
Shares
लुम्बिनी :

‘एउटामा समस्या देखिँदैमा अरू प्रदेशको समीकरण भत्काउनु हुँदैन’

‘लुम्बिनीमा एमालेले साथ दिन्छ भने हामी किन सहकार्य तोड्ने ?’

लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुन एउटा प्रदेशमा देखिएको विवादलाई अर्को प्रदेशमा सार्न नहुने बताउँछन् । लुम्बिनीमा कांग्रेस र एमालेबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमको बजेट विवादले अन्य प्रदेशको सत्ता समीकरणमा असर पार्न सक्ने चर्चाबीच लुम्बिनी प्रदेश कांग्रेसले वर्तमान गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताएको छ।
  • लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले सहमतिअनुसार दुवै दलले सरकार सञ्चालन गर्नुपर्ने र समस्या देखिएको ठाउँमा मात्र विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ।
  • उनले संघीयताको मर्मअनुसार प्रदेश संरचनालाई निर्णय गर्ने अधिकार नदिँदा प्रदेश सरकार प्रभावकारी हुन नसकेको भन्दै अधिकार हस्तान्तरणको माग गरेका छन्।

१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद बढेपछि त्यसको प्रभाव अन्य प्रदेशमा पनि पर्न सक्ने चर्चा सुरु भएको छ । कांग्रेसले प्रदेश सरकारहरूमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउन सक्ने खबर सार्वजनिक भइरहँदा लुम्बिनीमा भने कांग्रेसले वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ ।

लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुन एउटा प्रदेशमा देखिएको विवादलाई अर्को प्रदेशमा सार्न नहुने बताउँछन् । लुम्बिनीमा कांग्रेस र एमालेबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेश सरकारको प्रभावकारिता, कांग्रेस–एमाले सम्बन्ध, सत्ता साझेदारी र सम्भावित नयाँ समीकरणबारे प्रदेश सभापति पुनसँग अनलाइनखबरका लागि केशव सावदले गरेको कुराकानी :

कांग्रेसले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने अनौपचारिक निर्णय गर्नुपर्ने अवस्था किन आयो ? मुख्य असन्तुष्टि के हो ?

कांग्रेसको मुख्य असन्तुष्टि सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने विषयबाट सुरु भएको देखिन्छ ।

त्यहाँ कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेट पारित गराउन एमाले तयार नभएपछि समस्या उत्पन्न भयो । त्यसले कांग्रेस र एमालेबीच असमझदारी बढाएको हो ।

अर्को, कता–कता एमाले नेतृत्व निरन्तर समयअनुसारको व्यवस्थापनका लागि तयार नभएको जस्तो पनि लाग्छ । जहाँ जे सम्झौता भएको छ, त्यसअनुसार जानु पर्छ । एउटा प्रदेशमा समस्या आयो भन्दैमा त्यसको असर सबै प्रदेशमा पार्नु हुँदैन ।

सुदूरपश्चिमको समस्या त्यहीँका राजनीतिक दल र नेतृत्वले समाधान गर्नुपर्छ । कोशी प्रदेश सरकार राम्रोसँग चलिरहेको छ भने चल्न दिनुपर्‍यो । बागमतीमा सरकार राम्रोसँग चलिरहेको छ भने त्यसलाई चल्न दिनुपर्छ ।

बागमतीको समस्या लुम्बिनीमा र लुम्बिनीको समस्या गण्डकीमा लगेर नयाँ विवाद सिर्जना गर्नु उचित हुँदैन । लुम्बिनी कांग्रेसको आग्रह स्पष्ट छ– एमालेसँग जे सहमति भएको छ, त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्छ ।

एमाले सहमतिमा अडिग रह्यो भने कांग्रेस पनि आफ्नो प्रतिबद्धताबाट पछि हट्दैन । हामी सहमतिअनुसार सरकार सञ्चालन र काम–कारबाही अगाडि बढाउन हामी प्रतिवद्ध छौं ।

कांग्रेसको पछिल्लो निर्णय प्रदेश सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि हो कि एमालेसँगको राजनीतिक सम्बन्धमा आएको दरार हो ?

यो समग्र प्रदेश सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि होइन । सुदूरपश्चिममा बजेट पारित गर्न एमालेले सहयोग नगरेपछि कतै न कतै कांग्रेस–एमालेको सम्बन्धमा खटपट भएको हो ।

त्यसको समाधान पनि सुदूरपश्चिममै खोजिनुपर्छ । त्यहाँ समस्या भएको हो भने विकल्प खोज्न सकिन्छ ।

तर, अन्य प्रदेशमा जहाँ सहकार्य राम्रोसँग चलिरहेको छ, त्यहाँ अनावश्यक रूपमा समीकरण बिगार्नु हुँदैन । मिलेका ठाउँमा मिलेर जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।

सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्तीमा परे । एमालेले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ । अब कांग्रेसको रणनीति के हुन सक्छ ?

सुदूरपश्चिमको समस्या त्यहीँको परिस्थितिअनुसार हल गर्नुपर्छ । आवश्यक परे अन्य दलसँग सहकार्य गरेर बजेट पारित गर्ने वा सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विकल्प खोज्न सकिन्छ । अन्य प्रदेशमा के हुन्छ भन्नेबारे म भन्न सक्दिनँ । तर, लुम्बिनीमा कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध हुनुपर्छ । कांग्रेस सहमति पालनाका लागि तयार छ । एमाले पनि त्यही रूपमा प्रस्तुत हुनुपर्छ ।

लुम्बिनीमा वर्तमान समीकरण कायम रहे कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ ?

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छौं । त्यसैले सम्झौताअनुसार कांग्रेसको

नेतृत्वमा सरकार गठन गर्ने विषयमा एमाले पनि तयार हुनुपर्छ ।

अहिलेको नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दुवै दल सहमतिका आधारमा अगाडि बढ्नुपर्छ । सत्ता हस्तान्तरण पनि पूर्वसहमतिअनुसार नै हुनुपर्छ ।

प्रदेश सरकारको पछिल्लो एक वर्षको कार्यसम्पादनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

प्रदेश सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्दा उसले कति अधिकार पाएको छ भन्ने पनि हेर्नुपर्छ ।

राजनीतिक दलहरूले आफ्ना प्रदेश समितिलाई पर्याप्त अधिकार दिएका छैनन् । संघीय सरकारले

पनि संविधानले व्यवस्था गरेअनुसार प्रदेश सरकारलाई पूर्ण अधिकार हस्तान्तरण गरेको छैन ।

अधिकार नदिने, काम गर्ने वातावरण नबनाउने अनि प्रदेशले काम गरेन भनेर आलोचना गर्ने प्रवृत्ति छ । यही कारण प्रदेश सरकार र राजनीतिक दलका प्रदेश संरचना प्रभावकारी हुन सकेका छैनन् ।

संघीयताको मर्मअनुसार राजनीतिक दलहरूले आफ्ना प्रदेश संरचनालाई निर्णय गर्ने अधिकार दिनुपर्छ । संघीय सरकारले पनि जुनसुकै दलको सरकार भए पनि प्रदेशलाई संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । त्यसो भएमात्र प्रदेश सरकारले परिणाम दिन सक्छ ।

अहिलेकै शैलीमा चलिरहने हो भने ‘प्रदेश बेकामे छ’, ‘प्रदेश सरकारको काम छैन’ भन्ने जहिले पनि निर्माण हुन्छ । यो तरिकाले हो भने प्रदेश सरकार कामकाजी हुँदैन । यही तरिकाले जाने हो भने खारेज गर्दा हुन्छ भन्ने हाम्रो बुझाइ हो ।

कांग्रेसले प्रदेश सरकारका मन्त्रीहरू फिर्ता बोलाउने विषयमा प्रदेश नेतृत्वसँग कुनै छलफल गरेको छ ?

अहिलेसम्म औपचारिक रूपमा त्यस्तो छलफल भएको छैन । प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने, अब अर्को किसिमले जान सक्छ भन्ने कुरा बाहिर सुनिएको छ ।

कर्णालीमा फिर्ता बोलाएर प्रक्रिया अगाडि बढी सक्यो । सुदूरपश्चिममा समीकरण बदलिएको अवस्था छ ।

तर, लुम्बिनी, कोशी वा अन्य प्रदेशमा कांग्रेसले मन्त्री फिर्ता बोलाइसकेको अवस्था छैन। एमालेले पनि सबै प्रदेशमा एउटै निर्णय गरेको देखिँदैन ।

जहाँ समस्या छ, त्यहीँ समाधान खोज्नुपर्छ । प्रदेशको वस्तुस्थिति र त्यहाँका दलबीचको सहमतिअनुसार निर्णय गर्न दिइनुपर्छ । लुम्बिनीमा कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेका छन् । कतिपय विषयमा अन्य दलसँग पनि सहकार्य भइरहेको छ । यहाँको आवश्यकता र परिस्थिति यहाँकै नेतृत्वले राम्रोसँग बुझ्छ ।

गण्डकी, बागमती वा कोशीको अवस्था पनि त्यहीँका साथीहरूलाई बढी थाहा हुन्छ । त्यसैले सबै प्रदेशलाई केन्द्रबाट एउटै सूत्रमा बाँधेर निर्णय गर्नु संघीयताको भावनाअनुकूल हुँदैन ।

कांग्रेस–एमाले विवादलाई जनताले पदको लडाइँका रूपमा बुझ्न सक्छन् । तपाईंको जवाफ के हुन्छ ?

त्यसै कारणले पनि यसलाई पदको लडाइँ नगरौं । मतदाताले दिएको सिट संख्याका आधारमा अहिले एउटै दलले सरकार बनाउन सक्ने स्थिति छैन । हिजोको परिस्थितिमा कांग्रेसले एमालेसँग सम्झौता गरेर सरकार सञ्चालन गरिरहेको छ । सम्भव भएसम्म बाँकी रहेको कार्यकाल दुवै दल मिलेर अगाडि बढ्नुपर्छ । एमाले सहमतिमा रहँदासम्म सहकार्यलाई निरन्तरता दिनुपर्छ । कुनै ठाउँमा एमाले तयार भएन भने सरकार सञ्चालनका लागि अर्को विकल्प खोज्नुपर्ने बाध्यता होला ।

तर, जहाँ जुन दलसँग सहकार्य सम्भव छ, त्यहाँको राजनीतिक परिस्थिति र आवश्यकताअनुसार नेतृत्वले त्यो खालको वातावरण बनाउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

कांग्रेस र एमालेबीच खटपट बढेपछि दुवै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आफ्नो पक्षमा पार्न लागेका छन् । यसले पुराना दल सत्ता केन्द्रित मात्रै भए भन्ने सन्देश जाँदैन ?

त्यही कारण मैले अघि नै भनिसकेँ । कांग्रेस, एमाले र नेकपाले सोच्नु पर्ने कुरा के छ भने आज हामी कहाँ छौं ? शासन सत्ताकै आलोपालोका कारणले गर्दा यो परिस्थिति निर्माण भएको छ ।

सत्ता–शासन हामी मिलेर चलाउने कुरा आफ्नो ठाउँमा छ । तर, शासन सत्ता नै पल्टाउनका लागि अनावश्यक रुपमा सम्झौता गरेर नजाऔं भन्ने हो । सरकार सञ्चालनका लागि दलहरूबीच सहकार्य आवश्यक पर्न सक्छ ।

तर, सत्ता परिवर्तनकै लागि अस्वाभाविक र सिद्धान्तहीन सम्झौता गर्ने प्रवृत्तिबाट जोगिनुपर्छ । सत्ता चलाउने विषय आफ्नो ठाउँमा छ, तर त्यसका लागि राजनीतिक मूल्य र मान्यता नै त्याग्नु हुँदैन ।

अबको निकास के हो– सम्झौता कार्यान्वयन, सरकार पुनर्गठन वा नयाँ राजनीतिक समीकरण ?

जहाँ सरकार पुनर्गठन गर्नुपर्ने अवस्था छ, त्यहाँ पुनर्गठन हुन्छ । तर, मुख्य कुरा विगतमा भएका सहमति इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ । आलोपालो नेतृत्वको सम्झौता भएको छभने त्यसलाई पालना गर्दै अगाडि बढ्नुपर्छ ।

राम्रो कामका लागि नेकपा वा अन्य दललाई सहकार्यमा ल्याउन कुनै आपत्ति छैन । सुदूरपश्चिम वा कर्णालीमा समस्या समाधान गर्न नेकपासँग सहकार्य आवश्यक पर्छ भने गर्न सकिन्छ ।

तर, लुम्बिनीमा एमालेले कांग्रेसलाई साथ दिइरहेको छ र सहमति कार्यान्वयन गर्न तयार छ भने हामीले किन सहकार्य तोड्ने ? जहाँ समस्या छ, त्यहाँ समाधान खोजौं । जहाँ सहकार्य राम्रोसँग चलिरहेको छ, त्यसलाई निरन्तरता दिऔं ।

त्यसो भए एमालेसँग सहमति हुने प्रदेशमा उसैसँग सहकार्य गर्ने र सहमति नहुने ठाउँमा नेकपासँग मिल्ने तयारी हो ?

अन्तत: सरकार सञ्चालन हुनै पर्छ । राजनीतिक ‘डेडलक’ र अनिश्चितता लामो समय राख्न मिल्दैन । जहाँ जुन दलसँग सहकार्य गरेर स्थिर सरकार बनाउन सकिन्छ, त्यहाँ त्यहीअनुसार विकल्प खोज्नुपर्ने हुन्छ ।

तर, त्यस्तो निर्णय प्रदेशको परिस्थिति, पूर्वसहमति र राजनीतिक आवश्यकताका आधारमा हुनुपर्छ । सबै प्रदेशमा एउटै प्रकारको समीकरण अनिवार्य गर्न खोज्नु उचित हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?