News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।
- प्रहरी नायव उपरीक्षक माधव काफ्लेले देउराली–कुलेखानी–फर्पिङ मार्गमा आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द रहने जानकारी दिए ।
- कान्तिलोकपथमा चल्ने सवारी साधनलाई आज साँझ ६ बजेदेखि नै चौघडा बजारमा रोक्ने निर्णय भएको डिएसपी काफ्लेले बताए ।
२ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।
आज शनिबार साँझदेखि भोलि आइतबार बिहानसम्म लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि प्रशासनले राजमार्ग आवागमनमा विशेष सावधानी अपनाएको हो ।
विपद् जोखिमलाई ध्यानमा राख्दै आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म हेटौंडाबाट देउराली–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं जाने (छोटोमार्ग)सवारी साधनलाई हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा रोकिने निर्णय गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
त्यसैगरी, मकवानपुर र ललितपुरलाई जोड्ने हेटौंडा–ठिंगन–बागमती–सातदोबाटो (कान्तिलोकपथ) जाने सवारी साधनलाई भने आज साँझ ६ बजेदेखि नै हेटौंडा उपाहानगरपालिका–६ चौघडा बजारमामा रोकिएको डिएसपी काफ्लेले बताए ।
प्रशासनका अनुसार काठमाडौं, ललितपुर, चितवन र सिन्धुली जोड्ने राजमार्गमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले यात्रु, सवारी चालकलाई सजग रहन भनेको छ ।
मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न र सम्भावित विपद्को जोखिमबाट जोगिन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया 4