+
+
Shares

पाका नागरिक वर्गशत्रु चित्रण गर्ने सोच गलत छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १०:२७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सबै जातजाति, भाषाभाषी र पुस्तालाई जोड्ने सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्नेमा जोड दिनुभएको छ।
  • महामन्त्री थापाले पार्टीभित्र नयाँ पुस्ताको अर्थपूर्ण सहभागिताका लागि नेतृत्वले उनीहरूको विचार र अपेक्षा धैर्यपूर्वक सुन्नुपर्ने बताएका छन्।
  • उनले ६०–६५ वर्ष नाघेका नागरिकलाई वर्गशत्रुका रूपमा चित्रण गर्ने नकारात्मक सोच स्वस्थ लोकतन्त्रका लागि उचित नभएको उल्लेख गरेका छन्।

३ साउन, ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका हुन्।

पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय शक्ति भएको नेपाली कांग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैँ अब सबै पुस्तालाई जोड्ने सामर्थ्य पनि राख्नुपर्छ।’

सभापति थापाले नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता नेतृत्वले राख्नुपर्ने बताए। नयाँ पुस्ताको सहभागितालाई केवल टोकन वा प्रतीकात्मक रूपमा मात्र सीमित राख्न नहुने उनको तर्क छ।

‘नयाँ पुस्ताको विचार, अपेक्षा र दृष्टिकोणलाई सम्मानपूर्वक सुन्नुपर्छ, किनकि बदलिँदो समयसँगै उनीहरूको सोच र राजनीतिक अपेक्षा पनि फरक छन्,’ उनले भने।

पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै उनले पाका पुस्तालाई हेर्ने दृष्टिकोणमाथि प्रश्न उठाए। ६०–६५ वर्ष नाघेका नागरिकलाई वर्गशत्रुका रूपमा चित्रण गर्ने सोच गलत भएको बताउँदै उनले यस्तो नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको दाबी गरे।

‘आज समाजमा पुस्ताबीचको दूरी बढ्दै गएको देखिन्छ। ६०–६५ वर्षभन्दा माथिका मानिसलाई नै पछाडि पार्नुपर्ने सोच विकसित हुनु स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उचित होइन,’ उनले भने, ‘कांग्रेसले यस्तो विभाजनकारी सोचभन्दा माथि उठेर सबै पुस्ताबीच सहकार्य र विश्वासको वातावरण बनाउनुपर्छ।’

विगतको संविधानसभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै उनले कांग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबी गरे। हाम्रो समाज बहुआयामिक पहिचानले बनेको भन्दै उनले विभाजन नभई एकता र समावेशितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

अब कांग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमै स्थापित गर्नुपर्ने सभापति थापाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?