+
+
Shares

राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लाग्यो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन खोजेको आरोप लगाउनुभयो ।
  • थापाले सुकुमवासी समस्या र नागरिक अधिकारको विषयमा सरकार संवेदनशील नभई करुणाविहीन भएको टिप्पणी गर्नुभयो ।
  • उपसभापति विश्वप्रकाश शर्माले आगामी ६ र ७ साउनमा बीपी स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

२९ असार, काठमाडौं । नेपाली काग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् ।

४४औं बीपी स्मृति दिवसको तयारीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैठकलाई सम्वोधन गर्दै उनले सरकारमाथि टिप्पणी गरेका हुन् ।

बीपी कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर दिएको जवाफको स्मरण गर्दै थापाले भने, ‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्‍याउने कुनै अधिकार राज्यले राख्दैन ।’

सुकुमवासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यस्तो व्यवहार गरेको सभापति थापाको भनाइ थियो ।

उनले गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको पनि उल्लेख गरे ।

थापाले सुकुमवासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै कानूनले दिएको निकास नखोजेर सरकार आफैंले समस्या सिर्जना गरेको बताए ।

‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमु्ख र करुणाविहीन भयो,’ उनले भने ।

सभापति थापाले ६ साउनमा पार्टीको ‘जरा अभियान’ सम्पन्न भएलगत्तै ७ साउनको कार्यक्रमबाट २४ भदौसम्मका लागि नयाँ अभियानको घोषणा गर्ने जानकारी पनि दिए ।

‘नेपाली कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रुपमा रहँदैन,’ उनले भने, ‘बरु सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील छ ।’

उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले बैठकमा ६ साउनमा पार्टीका तर्फबाट पाँच किलोमिटरको ग्रिन रन, चित्रकला र सम्वाद कार्यक्रम हुने जानकारी दिए ।

उनले ७ साउनमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने पनि बताए । शर्माले प्रतिष्ठान अन्तर्गतका ३० वटा विषयगत समितिबारे पनि बैठकलाई जानकारी गराएक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?