२७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित सुकुमवासीको होर्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ परेको विषयमा निन्दा गरेका छन् । शनिबार राति फेसबुकमार्फत सभापति थापाले राज्यले फरक मत सुन्न नसक्नु राज्यको कायरता भन्दै आलोचना गरेका छन् ।
‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ,’ सभापति थापाले भनेका छन्, ‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि ?’
उनले लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरा चेत राख्न सरकारसँग आग्रह गरेका छन् ।
‘जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन । सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ,’ उनले भनेका छन् ।
आलोचनालाई दमन गरेर नभई संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व रहेको उनले स्मरण गराएका छन् ।
उनले अगाडि भनेका छन्, ‘फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो । गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्व निसर्त रिहा गरियोस् ।’
प्रतिक्रिया 4