+
+
Shares

संस्थापनइतरलाई गगनले भनेः दुई कुरा गर्न सक्दिनँ

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षबाट आएका प्रस्ताव मध्ये दुईवटा पूरा गर्न नसकिने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १३:२०

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतरबाट आएको दुई प्रस्ताव आफूले स्विकार्न नसक्ने बताएका छन् ।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षबाट आएका प्रस्ताव मध्ये दुईवटा पूरा गर्न नसकिने बताएका हुन् । कांग्रेसको विदेशस्थित संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्ने क्रममा सभापति थापाले उक्त प्रसंग उठाएका हुन् ।

१४ औं महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समयोजन गर्ने र अद्यावधिक नगर्ने विषयलाई आफूले स्विकार्न नसक्ने सभापति थापाले बताए । संस्थापनइतरले १११ केन्द्रीय सदस्य समायोजित गर्नुपर्ने प्रस्ताव वर्तमान नेतृत्वसँग गरेको छ । संस्थापनइतरले क्रियाशील सदस्यता अद्यावधिक पार्टी निर्णयको विरोध गर्र्दै आएको छ ।

‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नराउँ नगरिकन पनि यसलाई चलाउँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाफ हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ,’ सभापति थापाले संस्थापनइतरलाई भने,‘विशेष महाधिवेशनबाट नयाँ केन्द्र समिति बनिसक्यो ।

यो सबैको केन्द्र समिति हो । सभापतिले पाएको अधिकार अनुसार बढी भन्दा बढी साथीहरुलाई सहभागी गराउने कुरा यो जिम्मेवारी कुरा म गरिहाल्छु । तर यो अघिल्लो केन्द्र समितिको एक सय कति जना बाँकी हुनुहुन्छ त्यो सबै साथीहरुलाई ल्याएर यसमा मिसाउनु पर्छ भन्ने कुरा चाहिँ त्यो विधानले नदिने कुरा गर्नु पनि हुदैन ।’

सभापति थापाले १५ औँ महाधिवेशनलाई सबैको बनाउनको आफू तयार रहेको बताए । महाधिवेशनको तिथि मितिमा छलफल गर्ने तयार रहेको जानकारी संस्थापनइतरलाई गराए । सदस्यता छानविन समिति, निर्वाचन समिति, अनुशासन समिति र महाधिवेशन व्यवस्थापन समिति अर्को पक्षले चाहे अनुसारको बनाउन तयार रहेको बताए ।

‘सदस्यताको छानबिन समितिको संयोजक को राख्ने हो जसलाई भन्नुहुन्छ राख्न म तयार छु । निर्वाचन समितिमा को राख्दा तपाईंहरुलाई फेयर भएको महसुस हुन्छ त्यसको लागि तयार छु,’ सभापति थापाले भने,‘अनुशासन समितिले अनावश्यक ढंगले केही तलमाथि गर्ला कि डर छ भने त्यो गर्न पनि तयार छु ।’ अधिवेशनको व्यवस्थापन समितिमा राख्ने नेताहरु पनि अर्को पक्षको इच्छा अनुसार राख्न तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?