+
+
Shares

एआईबाट गीत बिगारेर हाल्नेविरुद्ध उजुरी दिन संगीत रोयल्टी संकलन समाजको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीत रोयल्टी संकलन समाजले सहमति विना कृत्रिम बुद्धिमत्ता (एआई) बाट प्रयोग गरिएका गीत-संगीतविरुद्ध औपचारिक लिखित उजुरी दिन सर्जकहरूलाई आग्रह गरेको छ।
  • कार्यकारी अधिकृत सागर पाण्डेले भने, 'हामीकहाँ लिखित उजुरी आउन सकेको खण्डमा त्यस्ता गीतविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा चलाउनेदेखि डिजिटल प्लाटफर्मबाटै हटाउनेतर्फ पहल हुनसक्छ।'
  • समाजले स्रष्टाहरूलाई आफ्नो गीत-संगीतको क्याटालग दर्ता तथा अद्यावधिक गर्न सूचना जारी गर्दै एआईको दुरुपयोग रोक्न कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत सहमति बिना डिजिटल माध्यममा प्रयोग गरिएका गीत-संगीतविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

समाजले विहिबार सूचना जारी गर्दै गीत-संगीतको क्याटालग दर्ता र अद्यावधिक गर्न पनि भनेको छ । कार्यकारी अधिकृत सागर पाण्डेले सूचना जारी गर्दै औपचारिकरुपमा लिखित उजुरी दिन आग्रह गरेका हुन् ।

‘पछिल्लो समय विना सहमति एआईबाट गीत बनाएर इन्टरनेटमा हालिएको घटनामा मौखिक गुनासा धेरै आएका छन्’ पाण्डेले भने, ‘केहीले साइबर ब्यूरोमा उजुरी दिनुभएको छ । तर, हामीकहाँ लिखित उजुरी आउन सकेको खण्डमा त्यस्ता गीतविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा चलाउनेदेखि डिजिटल प्लाटफर्मबाटै हटाउनेतर्फ पहल हुनसक्छ ।’

उजुरी आएपछि कपिराइट दाबी गर्न र हटाउन सकिने उनी बताउँछन् । ‘हामीले अफिसियल कम्प्लेन मागेका हौं’ पाण्डे भन्छन्, ‘हामीले गीतकार र सर्जकतर्फबाट काम गर्न खोजेका हौं ।’

पछिल्लो समय गीतसंगीतमा एआईको प्रयोगमार्फत हुने प्रतिलिपि अधिकार उल्लंघनको घटनामा युरोपेली युनियन र अन्य मुलुकले पहल लिइरहेको र त्यस्तै पहल नेपालमा पनि सुरु गर्न सकिने उनले बताए ।

पाण्डेका अनुसार, पछिल्ला महिनामा रिलिज भएका नयाँ गीतलाई पनि तत्कालै एआईबाट आफ्नो नाममा भनेर इन्टरनेटमा हालिने गरिएको पाइएको छ । वास्तविक स्रष्टालाई उल्टै आफ्ना गीतमा कपिराइट उल्लंघनको क्लेम लाग्न थालेपछि आफूहरू तात्नुपरेको सागर बताउँछन् ।

पछिल्लो समय नाम चलेका कलाकार र ब्यान्डले सामाजिक सञ्जालमार्फत त्यसरी आफ्ना गीतलाई बिगारेर एआईबाट नहाल्न भन्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?