News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।
- गत आवमा नेपालले ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जसमा सोयाबिन तेलको हिस्सा सबैभन्दा ठूलो छ ।
- भन्सार विभागको तथ्यांकअनुसार गत आवमा १७ खर्ब ८१ अर्ब रुपैयाँ व्यापार घाटा हुँदा इन्धन आयातका लागि ठूलो रकम विदेशिएको छ ।
७ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब ११ अर्बको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वैदेशिक व्यापार करिब १६ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको वैदेशिक व्यापार हालसम्मकै उच्च हो । यसअघि आव २०७८/७९ मा सर्वाधिक वैदेशिक व्यापार भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार आकार २० खर्ब ८१ अर्ब रुपैयाँको थियो ।
गत आर्थिक वर्षको वैदेशिक व्यापारसँगै निर्यात पनि अघिल्ला वर्षहरूको तुलनामा उच्च हो । गत आवमा नेपालले ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । भन्सार विभागका अनुसार गत आवमा सोयाबिन तेल मात्रै १ खर्ब २८ अर्बको निर्यात भएको छ ।
सोयाबिन तेलको निर्यातमा सुधार आएका कारण समग्र निर्यात बढेको हो । गत आर्थिक वर्षको कुल निर्यात अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्बको वस्तु निर्यात भएको विभागले जनाएको छ । सोयाबिन तेल नेपालमा तेस्रो मुलुकबाट आयात हुन्छ र भारतीय बजारमा निर्यात हुन्छ ।
असारसम्मको वैदेशिक व्यापार
आयात : २० खर्ब ९६ अर्ब
निर्यात : ३ खर्ब १५ अर्ब
कुल वैदेशिक व्यापार : २४ खर्ब ११ अर्ब
व्यापार घाटा : १७ खर्ब ८१ अर्ब
आयात/निर्यात अनुपात : ६.६५
आयात हिस्सा : ८६.९३ प्रतिशत
निर्यात हिस्सा : १३.०७ प्रतिशत
विभागको तथ्यांक अनुसार निर्यातको दोस्रो स्थानमा अलैँची छ । गत आर्थिक वर्षमा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो वर्ष कुल ७ अर्ब ६८ करोडको अलैँची निर्यात भएको थियो ।
गत आर्थिक वर्ष २४ खर्बको आयातमा सबैभन्दा धेरै हिस्सा इन्धनको छ । गत आवमा डिजेलका लागि मात्रै १ खर्ब ७२ अर्ब रुपैयाँ विदेशिएको छ । कच्चा सोयाबिन तेल आयातमा ९८ अर्ब विदेशिएको तथ्यांक छ । त्यस्तै पेट्रोल आयातमा ७७ अर्ब २६ करोड र खाना पकाउने एलपी ग्यास आयातमा ६० अर्ब २८ करोड रुपैयाँ विदेशिएको छ ।
नेपालको वैदेशिक व्यापारका मुख्य साझेदार देश भारत र चीन हुन् । गत आवमा भारतबाट मात्रै नेपालमा १२ खर्ब १० अर्ब रुपैयाँको वस्तु भित्रिएको छ । नेपालबाट भारततर्फ भने जम्मा २ खर्ब ५८ अर्बको वस्तु निर्यात भएको छ ।
त्यसैगरी चीनबाट नेपालमा ४ खर्ब २५ अर्बको वस्तु आयात भएको छ । चीनतर्फ निर्यात भने १ अर्ब ८९ करोडको मात्र भएको छ ।
प्रतिक्रिया 4