+
+
Shares

धानचामलमा बढ्दो परनिर्भरता : एक वर्षमा ३९ अर्ब ८९ करोडको आयात

भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ।
  • गत आवमा नेपालले कुल ७ लाख ४१ हजार ७ सय ३ टन धानचामल आयात गर्न ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बाहिरिएको छ।
  • कच्चा धान आयात घटे पनि तयारी चामलको आयात बढेको छ र नेपालको कुल धानचामल आयातमा भारतको ९९ प्रतिशतभन्दा बढी एकाधिकार रहेको छ।

७ साउन, काठमाडौं । कृषिप्रधान देश नेपालमा मुख्य खाद्यान्नका रूपमा रहेको धान तथा चामलको परनिर्भरता अझै पनि उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।

समग्रमा अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष धान र चामलको कुल आयात परिमाण र त्यसका लागि बाहिरिने रकममा सामान्य गिरावट आएको देखिए पनि प्रवृत्तिमा भने फरकपन आएको छ ।

तथ्यांकले धान आयात उल्लेख्य घट्दा तयारी चामल आयात भने बढेको देखाएको छ । गत आव २०८२/८३ मा नेपालले कुल ७ लाख ४१ हजार ७ सय ३ टन धानचामल आयात गरेको छ । यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो आव २०८१/८२ मा नेपालले कुल ७ लाख ७५ हजार २ सय ६८ टन धानचामल आयात गरेको थियो, जसको कुल आयात मूल्य ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ थियो ।

यसरी समग्र तुलना गर्दा अघिल्लो वर्षभन्दा गत वर्ष धानचामल आयात परिमाण करिब ३३ हजार ५ सय ६५ टन घटेको छ भने रकमका आधारमा पनि करिब २९ करोड ३९ लाखले कमी आएको छ ।

धानचामल आयातलाई छुट्टाछुट्टै विश्लेषण गर्दा गत वर्ष नेपालले धान (बिउ र अन्य कच्चा धान) आयात घटाएको छ । आव २०८२/८३ मा कुल ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात भएको छ, जसको आयात मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ छ ।

यसभित्र २ हजार ९ सय ९३ टन धानको बिउ र ४ लाख ७४ हजार ९ सय १५ टन अन्य कच्चा धान समावेश छ । जबकि, अघिल्लो आव २०८१/८२ मा ५ लाख ३३ हजार ७ सय १५ टन अर्थात् २१ अर्ब ५२ करोड ३७ लाख बराबर धान आयात भएको थियो ।

कच्चा धान आयात घटे पनि तयारी चामल आयात भने बढेको छ । गत आव २०८२/८३ मा कुल २ लाख ६३ हजार ७ सय ९४ टन तयारी चामल आयात भएको छ, जसका लागि नेपालबाट २० अर्ब ७४ करोड ९८ लाख बाहिरिएको छ ।

यसमा सबैभन्दा धेरै मसिनो चामल १ लाख ८३ हजार १ सय १० टन, बासमती चामल ७१ हजार ६ सय २२ टन, कनिका ९ हजार ५२ टन र नगन्य मात्रामा ब्राउन राइस समावेश छ ।

अघिल्लो आव २०८१/८२ मा भने जम्मा २ लाख ४१ हजार ५ सय ५३ टन अर्थात् १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र तयारी चामल आयात भएको थियो ।

नेपालको धानचामल आयातमा दक्षिणी छिमेकी भारतको पूर्ण एकाधिकार छ । कुल आयात ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतबाटै आउने गरेको छ ।

२०८२/८३ को तथ्यांक अनुसार आयात भएको ४ लाख ७४ हजार ९ सय १५ टन  धान शतप्रतिशत भारतबाट मात्र भित्रिएको छ । त्यसैगरी कुल ७१ हजार ६ सय २२ टन बासमती चामल आयात भएकोमा ७१ हजार ६ सय १७ टन भारतबाटै आएको छ भने चीन र कतारबाट परीक्षण वा नगन्य मात्रामा केही किलोमात्र आएको देखिन्छ ।

सबैभन्दा धेरै आयात हुने तयारी चामलतर्फ कुल १ लाख ८३ हजार १ सय १० टन आयात भएकोमा भारतबाट मात्रै १ लाख ८२ हजार ४ सय ५ टन (करिब ११ अर्ब ९० करोड रुपैयाँको) आएको छ ।

यसबाहेक भियतनामबाट ६ सय ९ टन, चीन ६६ टन, थाइल्यान्ड २६ टन र इटालीबाट करिब ३ टन आयात भएको तथ्यांक छ ।

यसैगरी ९ हजार ५२ टन कनिका आयात भएकोमा सबै भारतबाटै आएको छ, जहाँ चीनबाट ५ सय किलोमात्र आएको देखिन्छ । धानको बिउका हकमा भने भारतबाट २ हजार ६ सय ६९ टन र चीनबाट ३ सय २४ टन भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?