News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीमा २४ औँ सत्याग्रह थालेका प्राध्यापक डा. गोविन्द केसीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रबार बिहान भेट गरेका छन् ।
- प्रजिअ रेग्मीले डा. केसीलाई जनभावनाको कदर गर्दै आफ्ना मागबारे सरकारसँग वार्ता र संवादको माध्यमबाट अघि बढ्न अनुरोध गरेका छन् ।
- सरकारले माग पूरा नगरेसम्म अनसन नतोड्ने अडान कायम राख्दै डा. केसीले चिकित्सा शिक्षा आयोगमा भएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू खारेज गर्न माग गरेका छन् ।
७ साउन,धनगढी । पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीमा २४ औँ सत्याग्रह थालेका प्राध्यापक डा. गोविन्द केसीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भेटेका छन् ।
धनगढीको एलएन चोकमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनसनरत डाक्टर केसीलाई प्रजिअ रेग्मीले कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दलाई सँगै लिएर शुक्रबार बिहान भेटघाट गरेका हुन् ।
भेटका क्रममा रेग्मीले डा. केसीलाई जनभावनाको कदर गर्दै मागबारे सरकारसँग वार्ता र संवादमा आउन अनुरोध गरेका छन् ।
‘डाक्टर साबले राख्नुभएका मागबारे सबैलाई थाहै छ । हामीले उहाँलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दल सबैको मनोभावना बुझेर वार्ता, संवादको माध्यमबाट अघि बढ्दा राम्रो हुन्छ भन्यौँ,’ प्रजिअ रेग्मीले भने, ‘तर उहाँले खासै केही कुरा भन्नुभएको छैन । आफ्नै अडानमा हुनुहुन्छ ।’
एसपी र सीडीओले सरकारसँग माग राख्ने अनसनबाहेकका अन्य उपाय र माध्यम समेत भएकाले सोहीअनुसार गर्न राम्रो हुन्छ भन्ने कुरा समेत राखेका थिए । तर केसीले भने सरकारले माग पूरा नगरेसम्म अनसन नतोड्ने अडान लिएका छन् ।
डाक्टर केसीले स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गर्नुपर्नेसहितका पाँच बुँदे माग राखेर बिहीबारदेखि सत्याग्रह थालेका छन् ।
प्रतिक्रिया 4