९ साउन, काठमाडौं । तीन दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसीमा कमजोरी देखिन थालेको छ । सेती प्रादेशिक अस्पतालले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार केसीमा कमजोरीका कारण बोल्न तथा हिँडडुल गर्न केही असहजता देखिन थालेको उल्लेख छ ।
यस्तै, डा. केसीले आफ्नो अनसन जारी राख्दै सुगर बढाउने औषधि स्लाइन लिन अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले चिकित्सकहरूको चार सदस्यीय उपचार टिम गठन गरेर डा. केसीको २४ सै घण्टा सघन अनुगमन गरिरहेको पनि प्रेस विज्ञप्तिमा भनिएको छ ।
डा. केसीले विभिन्न माग राख्दै बिहीबारबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट अनशन थालेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान उनलाई धर्मशालाबाट सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । उनलाई अस्पतालको आईसीयूमा राखिएको छ ।
यता सरकारले डा. केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई धनगढी पठाएको छ ।
प्रतिक्रिया 4