News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको मिक्लाजुङका किसानहरू दिनभर बाँदरबाट मकैबाली जोगाउन बारीमा कटेरो बनाएर बस्न बाध्य भएका छन् ।
- बाँदरको आतङ्कका कारण स्थानीय बासिन्दाले खेती गर्न छाडेका छन् भने धेरै परिवार बसाइँ सरेर अन्यत्र जान थालेका छन् ।
- स्थानीयले सरकारसँग बाँदर नियन्त्रणका लागि ठोस पहल गर्न माग गर्दै समस्या समाधान नभए गाउँ बाझो हुने चेतावनी दिएका छन् ।
२२ साउन, लुमाङदिन (मिक्लाजुङ–पाँचथर) । ‘घनश्याम, मलाई चिया बारीमै ल्याउदिनू है,’ छोरालाई अह्राउँदै पाँचथर मिक्लाजुङका शिवप्रसाद घिमिरे झिसमिसेमै घर नजिककै बारीतर्फ लागे । उनी एकाबिहानै बाली लगाउन, भित्र्याउन वा गोडमेल गर्न बारीमा जाँदै थिएनन्, बाँदर रुग्न जाँदै थिए ।
पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिन निमचासका शिवप्रसादको बारीमा बाँदर रुग्नु दैनिकी नै बनेको छ । त्यहाँका फराकिला टारमा यतिबेला मकै भाँच्ने बेला हुनै लागेको छ । पाक्न लागेको बाली जोगाउनकै लागि बाँदर रुग्न उनले जंगल छेउमा दुई वटा कटेरो बनाएका छन् ।
‘यही कटेरोमा दिन बित्छ । बाँदर छिरिहाले मकै सखाप पारिहाल्छ । एकैपल्ट १०० वटा जतिको हुल पस्छ । यहाँ एउटा कटेरो छ, पर अर्को छ । बाँदर खेदाउन तीन वटा कुकुरसमेत पालेका छौँ,’ उनले भने, ‘दिनभरि कुरेन भने बाँदरले पाकेको बाली सखाप पार्छ ।’
हामी पुग्दा शिवप्रसाद कटेरोमा बसेर बेलाबेला ‘होए, होए’ भनेर कराउँदै थिए, ताकि बाँदरले मान्छे छ भन्ने थाहा पाओस् । बारीको छेउमा बाँस गाडिएको थियो । त्यही बाँस चलाएर आवाज निकालिँदो रहेछ । यसलाई स्थानीयले ‘ट्याप ट्यापे’ भन्दा रहेछन् ।

अघिल्लो दिन साँझ वडाध्यक्ष हेमचन्द्र रेग्मी बिहानैदेखि बाँदर रुग्नेको हल्लाखल्ला हुन्छ भन्थे । उनले भनेझैं टाढा टाढाबाट होए हाए र ट्याप ट्यापेको आवाज सुनिइरहेको थियो ।
बारी छेउमै सल्लाका रुख भएको जंगल थियो । त्यही जंगलबाट बाँदर मकै बारीमा पस्दा रहेछन् । ‘हामीले त मकै धेरै फलाएर पुरस्कार पाएका थियौँ । यसपाली खडेरीले समस्या बनायो, अहिले बाँदरबाट मकै जोगाउन हैरान परेको छ,’ उनले भने, ‘सरकारले हामी जस्ता किसानको समस्या बुझ्दैन ।’
त्यही बेला छिमेकी खडक रग्मीको फोन आयो, ‘यताबाट बाँदर खेदाएका छु है, त्यता आउन सक्छन् । आज त धेरै त छैनन् २०/२५ वटा होलान् ।’ शिवप्रसाद कुकुरसहित बाँदर खेदाउन तयारी अवस्थामा बसे । श्रीमती गङ्गा घिमिरेले खाना ल्याइदिइन । उनले कटेरोमै खाना खाए ।
शिवप्रसादकै जस्तो दैनिकी लुमाङ्दिन गाउँका बासिन्दाको रहेछ । बाँदर बढ्दै गएका छन् । ‘पहिला खासै बादर लाग्दैनथ्यो । बाँदर आएको सङ्केत लामापुछ्रे चराले पनि दिन्थ्यो । अहिले गुँड नै बादरले भत्काइदिन थालेपछि लामापुछ«े चरा देखिनै छाडे,’ उनले भने ।
यहाँ मकै राम्रो फल्छ । दाल लगायतका अन्य बाली पनि हुन्छ । तर बाँदरले उठिबास लगाएको स्थानीय बताउँछन् । हरेकले बारीमा कटेरो बनाएका छन् । बाली लगाएपछि दिन भर रुग्ने गरेका छन् ।
‘भाँचेका मकै नै पो खाइदिएछ,’ स्कुल नजिकै यस्तो हल्ला भयो । गाउँलेले मिलेर बाँदर खेदाउँदै थिए । ‘बाँदर त १०० वटा जति रहेछन्,’ स्थानीय कविराज रग्मीले भने, ‘बाँदरले साह्रै दु:ख दिए, मैले त काँचै मकै पो भाँचिदिएँ ।’
विभिन्न ठाउँमा बाँदरले बाली नोक्सान गरेको देखिन्थ्यो । कतिपयले बाँदरकै कारण खेती कम गर्न थालेका रहेछन् । बारी बाझै देखिन्थे । ‘बाँदरले बसाइँ सराइको स्थिति बनायो,’ स्थानीय खडक रेग्मीले भने, ‘हाम्रो उपाय केही नलाग्ने देखियो । बाँदर घटाउन सरकारले प्रयास नगर्ने हो भने हाम्रा बस्ती विस्तारै बाझो हुँदै जान्छन् । बाँदरको संख्या बढेको बढ्यै छ ।’
बाँदरबाट जोगिन गाउँलले विभिन्न उपाय लगाएका छन् । तर सफल भएका छैनन् । बाटो छेउको मकैबारीमा ठूलो स्वरमा रेडियो बजिरहेको थियो । ‘रेडियो सुनिने ठाउँ जतिमा त नआउँदो रहेछ । कुन दिन बाँदरले यो कुरा पनि बुझ्छ । कम्ता बाठा हुँदैनन्,’ हस्तबहादुर बोहोराले भने, ‘म त मधेश बसाइँ सर्ने विचारमा छु । जग्गा त कसैले किन्दैन, बाझै छाडेर झर्नु पर्ला ।’
यस्ता गुनासा धेरैका सुनिए । वडाध्यक्ष रेग्मीका अनुसार पछिल्ला केही वर्षमा लुमाङ्दिनका १५ र कुख्रेटारका १४ परिवार बसाइँ सरेर गइसकेका छन् ।
लुमाङ्दिन असपासका विभिन्न गाउँमा बाँदरको समस्या छ । यहाँका बासिन्दा चर्को गर्मी, झरी केही नभनी बाँदर खेदाइरहेका देखिन्छन । ‘गाउँमा समस्या नै समस्या भयो । बाढीले कुलो बगाएर धान रोप्न पाइएको छैन । बाँदरले बसिखान नदिने भयो,’ ६ नम्बर बुधबारे बजार हिँडेका कुख्रेटारका कालीबहादुर तामाङले भने, ‘गाउँका दुख: कसले बुझिदिने खै ।’
लुमाङ्दिन, कुख्रेटार, लामागाउँ, टोखा, भदौरे, हङसारी लगायतका पाँचथरका विभिन्न ठाउँमा बाँदरले दु:ख दिइरहेको छ । मिक्लाजुङको छिमेकी तुम्बेवा गाउँपालिकामा पनि बाँदरले उत्तिकै दु:ख दिइरहेको छ । किसान निराश बन्दै छन् ।
पाँचथरको कुम्मायक, हिलिहाङ, फिदिम नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले हैरानी बनाएको छ । छिमेकी धनकुटा, तेह्रथुमका विभिन्न गाउँमा पनि बाँदरले समस्या बनाएको छ । मान्छे बसाइँ सर्ने र गाउँहरू जंगल बन्दै जाने अवस्था सिर्जना भएको छ ।


प्रतिक्रिया 4