News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरब, टर्की र पाकिस्तानले मक्का सहरमा एक महत्त्वपूर्ण त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्।
- सम्झौता अनुसार कुनै एक सदस्य देशमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ।
- यस सम्झौताले तीन देशबीच रक्षा सहयोगका सबै क्षेत्रलाई मजबुत बनाउँदै सामूहिक प्रतिरोध क्षमतामा जोड दिएको छ।
२२ साउन, काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानले त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । साउदी अरबको मक्का सहरमा शुक्रबार तीनै देशले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार तीनै देशका नेताहरूले एउटा सम्मेलनका क्रममा यो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्नेहरूमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआन र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ रहेका छन् ।
यो सम्झौताअनुसार कुनै एक सदस्य देशमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई सबै देशमाथिको आक्रमण मानिनेछ । तीनै देशले सबै स्तरमा रक्षा सहयोग बढाउने प्रतिबद्धता जनाएका छन् ।
साउदी अरब र पाकिस्तानबीच पहिलेदेखि नै रक्षा सम्झौता थियो । उक्त सम्झौताअनुसार दुवै देशमध्ये कुनै एकमा आक्रमण भए दुवै देशले आफूविरुद्धको आक्रमण मान्ने समझदारी थियो । सोही समझदारीमा अब तेस्रो देश टर्की पनि सामेल भएको हो ।
साउदी अरबसँग वित्तीय शक्ति रहेको छ । पाकिस्तानसँग परमाणु क्षमता, ब्यालिस्टिक मिसाइल र जनशक्ति रहेका छन् । टर्कीसँग सैन्य अनुभव छ र उसले एउटा रक्षा उद्योग विकसित गरेको छ ।
यी तीन क्षेत्रीय शक्तिहरूबीच लगातार सहयोग बाक्लो भइरहेको समयमा यो सम्झौता भएको हो ।
पश्चिम एसियामा पाकिस्तान र भारतको दृष्टिकोण पूर्ण रूपमा फरक छ । भारत इजरायलको मित्र हो । पाकिस्तानले भने इजरायलको अस्तित्वलाई स्वीकार गर्दैन ।
टर्कीसँग पाकिस्तानको सम्बन्धलाई पनि भारतको हितमा हेरिँदैन ।
सम्झौता कति महत्त्वपूर्ण ?
सम्झौतापछि पाकिस्तानको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा तीन देशबीच रक्षा सम्मेलन भएको कुरा उल्लेख छ ।
विज्ञप्तिअनुसार मक्का अल–मुकर्रमा संयुक्त रक्षा शिखर सम्मेलन आयोजना भयो । सम्मेलनमा साउदी अरब, टर्की र पाकिस्तानबीचको विशेष सम्बन्धको समीक्षा गरियो ।
‘यो सम्झौताले क्षेत्र र यसभन्दा बाहिर शान्ति, सुरक्षा र स्थिरतालाई प्रवर्द्धन गर्छ । यसले सुरक्षित र समृद्ध भविष्यका लागि तीन देशको सामूहिक सुरक्षालाई अझ मजबुत बनाउने साझा प्रतिबद्धता देखाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
यो सम्झौता कुनै पनि आक्रामक कारबाहीविरुद्ध सामूहिक प्रतिरोध क्षमतालाई मजबुत बनाउने उद्देश्यले गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सम्झौताको प्रावधान अनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको आक्रमण मानिनेछ । यसबाहेक यो सम्झौताले तीन देशबीच रक्षा सहयोगका सबै क्षेत्रलाई अझ मजबुत बनाउने प्रावधान पनि गर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता हुनुअघि कतारको लुसेल युनिभर्सिटीका मध्य–पूर्व मामिला विज्ञ डाक्टर मोहम्मद मजहार साहिनले एक्समा लेखेका थिए, ‘यदि यो रक्षा सम्झौता भयो भने मध्य–पूर्व एउटा नयाँ युगमा प्रवेश गर्नसक्छ र त्यहाँ धेरै कुरा बदलिन सक्छ ।’
यो सम्झौता यस्तो समयमा भइरहेको छ, जब एक हप्ताअघि मात्रै साउदी अरबले एउटा बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धनको घोषणा गरेको थियो । उसले लालसागर, बाब अल–मन्देब स्ट्रेट र अदनको खाडीमा व्यावसायिक जहाज र ऊर्जा आपूर्तिमार्गको सुरक्षाका लागि यो घोषणा गरेको हो । यो पहल यमनका इरान समर्थित हुथी विद्रोहीबाट बढ्दो खतराकाबीच गरिएको हो ।
नेटो सदस्य टर्की र परमाणु शक्ति सम्पन्न पाकिस्तान ती १४ देशमा समावेश थिए, जसले साउदी अरबको नेतृत्वमा भएको यो पहलको औपचारिक समर्थन गरेका छन् ।
टर्कीले यो गठबन्धनमा कुनै प्रत्यक्ष भूमिका खेल्नेछ वा छैन भन्ने घोषणा अझै गरेको छैन । तर, गत महिना टर्कीले हुथीहरूको तर्फबाट साउदी अरबलाई दिइएको नाकाबन्दीको धम्कीको निन्दा गरेको थियो । उसले लालसागरमा आवतजावतका लागि पैदा भएका खतराहरूलाई लिएर रियादसँग ऐक्यबद्धता जनाएको थियो ।
भ्रमणको पछाडिको कथा
यो भ्रमण टर्कीका विदेश मन्त्री हाकान फिदानको जोर्डनमा इजिप्टका विदेश मन्त्री बद्र अब्देलअती, पाकिस्तानका विदेशमन्त्री इशाक दार र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँग भएको बैठकपछि भइरहेको छ । यो चार देशको गठबन्धनको पाँचौँ बैठक थियो ।
‘आर–४ मेकानिज्म’ को सुरुवात मार्चमा रियादमा भएका बैठकहरूपछि भएको थियो । यसको उद्देश्य अमेरिका–इरान युद्धका प्रभावहरूलाई सीमित गर्नु हो । यसको अर्को उद्देश्य कूटनीतिक प्रयासहरूमा तालमेल बढाउनु हो । यसले क्षेत्रीय सुरक्षा चुनौतीहरूसँग जुध्न टर्की, इजिप्ट, पाकिस्तान र साउदी अरबबीच समन्वय स्थापित गर्छ ।
टर्कीले यस क्षेत्रमा इजरायलमाथि दबाब बढाउन व्यापक क्षेत्रीय समर्थन जुटाउने प्रयास गरिरहेको छ । क्षेत्रमा इजरायलको सैन्य गतिविधि र उसको बढ्दो प्रभावले अस्थिरता पैदा गरिरहेको टर्कीको भनाइ छ ।
बिहीबार अंकारामा सिरियाका विदेश मन्त्री असअद अल–शिवानीसँगको संयुक्त प्रेस कन्फरेन्समा हाकान फिदानले भने, ‘इजरायल क्षेत्रीय स्थिरतालाई कमजोर पार्ने र विस्तारवादी महत्त्वाकांक्षी नीति अपनाउने प्रमुख पक्षहरूमा पर्छ ।’
टर्कीले खाडी देशहरूसँग रक्षा निर्यात बढाउने प्रयास गरिरहेको छ । उसले संयुक्त रक्षा उत्पादनको विस्तार पनि गर्न खोजिरहेको छ । यस्तो समयमा यो बढ्दो क्षेत्रीय सहयोग अगाडि आएको हो ।
सन् २०२३ मा साउदी अरबले टर्कीको रक्षा कम्पनी बायकारबाट ड्रोन किन्ने ठूलो सम्झौता गरेको थियो । त्यसपछि सन् २०२४ मा दुवै देशबीच युएभी उत्पादन, टेक्नोलोजी हस्तान्तरण र साउदी अरबमा जनशक्ति तालिमको सम्झौता भयो । यी सम्झौताहरूलाई टर्कीको अहिलेसम्मकै सबैभन्दा ठूलो रक्षा निर्यात प्याकेज मानिन्छ ।
टर्कीको आधिकारिक तथ्याङ्क अनुसार सन् २०२५ को अन्त्यसम्म टर्की र साउदी अरबबीचको द्विपक्षीय व्यापार ८.५ अर्ब डलर पुगेको थियो । दुई देशबीच तीव्र रूपमा सुधार भइरहेको सम्बन्धमा रक्षा सहयोग एउटा महत्त्वपूर्ण आधार बनेको छ ।
अर्दोआनले पछिल्लो पटक फेब्रुअरीमा साउदी अरबको भ्रमण गरेका थिए । त्यस क्रममा उनले रियादमा क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । उनी भोलिपल्टै इजिप्टको यात्रामा निस्किएका थिए ।
नयाँ रक्षा सम्झौतामा टर्की सामेल भएको छ । यसले टर्की र साउदी अरबबीचको सम्बन्धमा नयाँ युगको सुरुवात गर्छ । यी दुई देश पहिले सुन्नी मुस्लिम विश्वको नेतृत्वलाई लिएर प्रतिस्पर्धी थिए ।
वर्षौँको तीतोपनलाई पछाडि छाडेर दुवै देश अहिले आर्थिक र रक्षा सहयोगलाई अगाडि बढाउने काम गरिरहेका छन् । –बीबीसीबाट
प्रतिक्रिया 4