News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाका किसानले बाँदरको आतंकबाट बाली जोगाउन मकै र टमाटरको सट्टा बेसार, अदुवा तथा अकबरे खुर्सानीजस्ता वैकल्पिक बालीको व्यावसायिक खेती गर्न थालेका छन् ।
- महालुङ्गी नगरपालिकाले मिलाङचुङ गाउँलाई बेसारको पकेट क्षेत्र घोषणा गर्दै उन्नत बीउ र प्राविधिक सहयोग उपलब्ध गराएपछि स्थानीय किसानको आम्दानीमा वृद्धि भएको छ ।
- कृषि विज्ञहरूले एउटै बालीमा निर्भर नभई वन्यजन्तु व्यवस्थापन, बाली बीमा र प्रशोधन उद्योग स्थापनाका लागि स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
२८ असार, धनकुटा । बाँदर आतंकबाट हैरान भएपछि धनकुटा महालक्ष्मी नगरपालिका–५, मिलाङचुङका किसान वैकल्पिक खेतीमा लागेका छन् । धान, मकै, टमाटर, प्याज र मौसमी तरकारी लहलाउने खेतबारीमा अहिले बेसार, अदुवा, भुइँकटहर र अकबरे खुर्सानीको खेती हुन थालेको छ ।
तीन वर्षअघिसम्म किसान चमकबहादुर कुँवरको दैनिकी आम किसानकै जस्तो थियो– मौसमअनुसार बाली लगाउने, मलजल गर्ने र राम्रो उत्पादनको आशा गर्ने । तर बाली पाक्न नपाउँदै बाँदरका हुलले खेतमा पसेर महिनौँको मिहिनेत केही घण्टामै सखाप पारिदिन्थे । रातदिन खेत कुर्दा पनि उत्पादन जोगाउन सकिँदैनथ्यो । बारम्बारको क्षतिपछि उनले खेतीको ढाँचा नै परिवर्तन गर्ने निर्णय गरे । र, अहिले करिब १० रोपनी क्षेत्रफलमा व्यावसायिक बेसार खेती गरिरहेका छन् ।
‘पहिले बाँदर हेर्नमै समय बित्थ्यो’, उनी भन्छन्, ‘टमाटर, प्याज, मकै केही पनि जोगिँदैनथ्यो । अहिले बेसार लगाएपछि ढुक्क भएको छु । बाँदरले दु:ख दिएको छैन ।’

चमकबहादुर बाली परिवर्तन गर्ने एक्ला किसान होइनन् । मिलाङचुङका करिब २० परिवारले बेसार खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । जसले गर्दा गाउँमा वार्षिक ८०० क्विन्टलभन्दा बढी बेसार उत्पादन हुन थालेको छ ।
मिलाङचुङमा पहिले पनि घरायसी प्रयोगका लागि थोरै मात्रामा बेसार लगाउने चलन थियो । तर बाँदरको आतंक बढ्दै गएपछि किसानले पत्ता लगाए, ‘बाँदरले अन्य बाली नष्ट गरे पनि बेसार खेती भने चलाउँदैन् ।’
किसानको यही अनुभवले अहिले गाउँको कृषि बाली नै परिवर्तन भएको छ । बेसार खेतीमा श्रमसमेत कम लाग्ने स्थानीय किसान पुनम पौडेलले बताए । ‘रोपेपछि पत्करले छोपिदिए पुग्छ । धेरै पटक गोडमेल गर्नु पर्दैन ।’ पौडेलले भने, ‘बाँदरको डर हुँदैन । बजार पनि सहज छ ।’ उनका अनुसार बेसार खेतीले गाउँका धेरै परिवारको नगदे आम्दानी समेत बढाएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिकाले किसानलाई सहयोग गर्दै गत वर्ष मिलाङचुङलाई बेसारको पकेट क्षेत्र घोषणा गरी उन्नत बीउ, प्राविधिक सहयोग तथा आवश्यक सामग्री उपलब्ध गराउन थालेको छ ।

जलवायु, बजार र बाँदरको समस्यालाई ध्यानमा राखेर स्थानीय स्रोत अनुकूल खेती प्रवर्द्धन गर्ने नीति लिइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताए । ‘समस्या देखेर खेती छोड्ने होइन, समाधानका लागि खेती परिवर्तन गर्ने सोच विकास भएको छ,’ नगर प्रमुख राय भन्छन्, ‘मिलाङचुङ गाउँ यसको गतिलो उदाहरण बनेको छ, जसका लागि नगरपालिकाले सदैव सहयोग गर्नेछ ।’
बेसारलाई धेरै पानी नचाहिने भएकाले भिरालो तथा सुख्खा जमिनमा पनि राम्रो उत्पादन हुन्छ । प्रति रोपनी पाँच क्विन्टलसम्म उत्पादन हुने बेसार अहिले काँचो प्रतिकिलो करिब ५० रुपैयाँ र प्रशोधनपछि प्रतिकिलो २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानहरू बताउँछन् । बेसारले अन्य बालीभन्दा बढी आर्थिक सुरक्षा दिएको किसानको अनुभव छ ।
साँगुरीगढीको पुरानो अनुभव
धनकुटा साँगुरीगढी गाउँपालिका–९ र १० का आहाले, हर्दिया, खार्पाङलगायत क्षेत्रमा भने लामो समयदेखि अदुवा र बेसार खेती हुँदै आएको छ । धरान बजारसँग नजिक भएकाले बजारको पहुँच राम्रो छ ।
सुख्खा जमिनमा पनि राम्रो उत्पादन हुने भएकाले किसानले परम्परादेखि नै बेसार खेती गर्दै आएका हुन् । गाउँमा बाँदर आए पनि अदुवा, बेसार र मौरीपालनमा खासै असर नगरेको स्थानीय नगेन्द्र राईले बताए । वैकल्पिक खेती अहिलेसम्म सुरक्षित रहेको राईको भनाइ छ ।

जमिनमुनि उत्पादन हुने बालीमा बाँदरको क्षति तुलनात्मक रूपमा कम हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए ।
‘बेसार, अदुवा, भुइँकटहर र अकबरे खुर्सानीमा किसानको आकर्षण बढेको छ,’ राना मगर भन्छन्, ‘तर एउटै बालीमा सबै किसान केन्द्रित हुँदा भविष्यमा बजारको समस्या आउन सक्छ । त्यसैले उत्पादनसँगै प्रशोधन, भण्डारण र बजारीकरणलाई पनि समान रूपमा विकास गर्न आवश्यक छ ।’
छथरमा माछापालनको अभ्यास
धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ माक्लुङका किसानले भने अर्को विकल्प रोजेका छन् । उनीहरू व्यावसायिक माछा पालनमा लागेका छन् । अहिले पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा पोखरी निर्माण गरेर माछापालन भइरहेको छ ।
चरा वा सर्पले सामान्य क्षति गरे पनि बाँदरबाट हुने ठूलो नोक्सानी माछापालनमा नहुने स्थानीय किसान पदम कटुवालले बताए । यसैगरी, गाउँपालिकाको तल्लो भेगमा अदुवा र अकबरे खुर्सानी खेती पनि विस्तार हुँदै गएको छ ।

वैकल्पिक खेती तत्कालका लागि प्रभावकारी उपाय भए पनि यो नै अन्तिम समाधान भने होइन । यदि सबै किसान एउटै बालीतर्फ केन्द्रित भए उत्पादन बढ्ने, मूल्य घट्ने र बजार व्यवस्थापनमा समस्या आउने सक्ने विज्ञहरूले बताएका छन् ।
त्यसैले, वन्यजन्तु व्यवस्थापन, कृषि बीमा, प्रशोधन उद्योग स्थापना, बजारीकरण तथा स्थानीय तहको दीर्घकालीन कृषि योजनालाई सँगसँगै अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4