News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभरि बढ्दै गएको बाँदर आतंकका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराए ।
- उनले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानूनी प्रक्रिया पुर्याएर हतियार उपलब्ध गराउने विषयमा सदनमा छलफल हुनुपर्ने धारणा राखे।
- बाँदर आतंकका कारण ग्रामीण भेगका जनता आफ्नो थातथलो छोड्न बाध्य भएको उल्लेख गर्दै उनले यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरे ।
१२ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभरि बढ्दै गएको बाँदर आतंकका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतंकका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको बताए ।
सांसद राईले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानुनी प्रक्रिया पुर्याएर हतियार उपलब्ध गराउने विषयमा समेत सदनमा छलफल हुनुपर्ने धारणा राखे ।
उनले यो विषय कुनै दल वा विचारको मात्र नभई ‘भुइँ मान्छे’ हरूको साझा समस्या भएको उल्लेख गर्दै सरकारलाई यस विषयमा संवेदनशील हुन र तत्काल निकासको बाटो खोज्न माग गरे ।
सांसद राईले बाँदरको समस्यालाई लिएर संसद्मा हुने गरेका ठट्टा र उपहासप्रति आपत्ति प्रकट गर्दै यसलाई जनताको पीडा र आक्रोशको रूपमा बुझ्न आग्रह गरे ।
कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा ग्रामीण भेगका जनताको जीविकोपार्जनमा नै संकट उत्पन्न भएको उनको तर्क छ ।
उनले जनतालाई रुवाएर र आफ्नै भूमिमा बस्न नसक्ने अवस्था सिर्जना गरेर कुनै पनि प्रकारको ’आतंक’ लाई पाल्न नसकिने स्पष्ट पारे ।
उनले वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको विप्रेषण र उनीहरूका आमाबुबाले गाउँमा बाँदरसँग जुधेर गरेको संघर्षको समेत स्मरण गराए ।
उनले भने, ‘बाँदर आज जनताको महत्त्वपूर्ण शत्रु भएको छ । कतिपयले यसलाई बचाउनुपर्छ भन्लान्, तर जनताको पीडा भने अकल्पनीय छ । यो विषयलाई हल्का रूपमा लिएर हाँसोमजाक गर्नु हुँदैन । जनताको आक्रोशलाई दबाउन खोजियो भने यसले उग्र रूप लिन सक्छ । बाँदर व्यवस्थापनका लागि के गर्ने हो ? मार्ने, व्यवस्थापन गर्ने वा अरू कुनै निकास निकाल्ने ? यसबारे सरकारले गम्भीर भएर सोचोस् र सदनमा अविलम्ब छलफल होस् ।’
समस्या समाधानका लागि ठोस पहल हुनुपर्नेमा जोड दिँदै सांसद राईले विगतका अभ्यासहरूको उदाहरण समेत दिए ।
प्रतिक्रिया 4