२५ फागुन, विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि बन्न नपाएका ध्रुवराज राईले महाधिवेशनबाट निर्वाचित सचिव शेरधन राईलाई नै पराजित गर्दै संघीय संसद्को यात्रा तय गरेका छन् ।
गत मंसिरमा सम्पन्न महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि बन्न खोज्दा रोकिएका ध्रुवले अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका हेभिवेट नेता एवं सचिव शेरधन राईलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार बनेका ध्रुव १६ हजार ६६३ मतका साथ विजयी हुँदा एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत पाए ।
नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत पाए ।
ध्रुवले आफ्नो राजनीतिक यात्रा एमालेको विद्यार्थी संगठन अखिलबाट सुरु गरेका थिए । २०५८–५९ साल तिर उनलाई राजनीतिमा संगठित गर्ने व्यक्ति शेरधन राई नै थिए ।
ध्रुवले शेरधनकै मार्गनिर्देशमा भोजपुर क्याम्पसको स्ववियु सभापति भएर दुई कार्यकाल नेतृत्व गरे । तर, पछिल्लो समय उनीहरूबीचको सम्बन्धमा तिक्तता आयो ।
२०७४ को स्थानीय तह निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष जितेका ध्रुव २०७९ को निर्वाचनमा पराजित भए । सो हारमा शेरधनले आफूलाई असहयोग गरेको ध्रुवको बुझाई थियो ।
नेकपा एमालेको ११ औँ महाधिवेशनमा ध्रुव जिल्लाबाट प्रतिनिधि बन्न चाहन्थे । एमालेको प्रदेश कमिटी सदस्य र अखिलको केन्द्रीय सचिवालय सदस्य भइसकेका ध्रुवलाई संस्थापन पक्षमा रहेका शेरधनले महाधिवेशन प्रतिनिधि बन्नबाटै रोके ।
राजनीतिक गुरुबाट पटकपटक पेलिएपछि उनले विद्रोह गर्दै हर्क साम्पाङले गठन गरेको श्रम संस्कृति पार्टी प्रवेश गरे । श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका उनले महाधिवेशनमा रोक्ने नेतासँग बदला लिए ।
२०५६ सालमा मात्र २५ वर्षको उमेरमा संसद छिरेर कान्छो सांसदको छवि बनाएका शेरधन राई २०७४ मा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । २०७९ को निर्वाचनमा माओवादी केन्द्रका सुदन किरातीसँग पराजित भएका उनी यसपटक आफ्नै पूर्वकार्यकर्तासँग रोकिन पुगे । शेरधन राईका लागि यो लगातार दोस्रो हार हो । यो पटक सुदन किराती आफैँ उम्मेदवार नबनी ध्रुव राईलाई समर्थन गरेका थिए, जसले शेरधनलाई थप संकटमा पार्यो ।
सुदन किरातीसँग नजिक रहेका नेता राजन राईका अनुसार सुदनले समर्थन गरेका दुई नेताले नै चुनाव जितेका छन् ।‘धरानमा हर्कराज राई र भोजपुरमा ध्रुवलाई समर्थन गर्नुभएको थियो, दुवैले जित्नुभयो,’ उनले भने ।
भोजपुरबाट छैटौँपटक चुनावी मैदानमा उत्रिएका शेरधनले २०५६ सालको प्रतिनिधिसभा निर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए । २०६४ सालको संविधानसभा, २०७९ सालको प्रतिनिधिसभा र अहिलेको निर्वाचनमा भने पराजित भए ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि शेरधनले लोकतान्त्रिक अभ्यासमा आएको जनादेशलाई सम्मान गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भोजपुरको विकासका लागि आफूले देखेको सपना अधुरै रहे पनि जिल्लाप्रतिको जिम्मेवारीबाट कहिल्यै टाढा नहुने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि ध्रुवराज राईले आफ्नो जीतलाई जनताको परिवर्तनप्रतिको चाहना भनेका छन् ।
ध्रुवले शेरधन राईलाई आफ्नो राजनीतिक गुरु मान्छन् । ‘उहाँले मलाई अखिलमा संगठित गर्नु भएको हो,’ उनी भन्छन्,‘ अखिल संगठीत भएपछि भोजपुर क्याम्पसमा दुई कार्यकाल स्ववियु जिते ।’ उनी पार्टीको नीति अनुसार काम गर्ने बताउँछन् । ‘भ्रष्टचार मुक्त समाज निर्माणका लागि पार्टीको नीति अनुसार काम गर्छु,’ उनले भने,‘ गाउँघरमा श्रमदान मार्फत काम गर्नका लागि अभियान पनि चलाउँछु ।’
प्रतिक्रिया 4