कोड बनाएर कम्पनी, साइट बनाएर निगरानी
News Summary
Generated by OK AI. Editorially reviewed.- सौरभ सुवेदी र प्रज्वल शर्माद्वारा स्थापित एडेक्स कम्पनीको केही सेयर २४ लाख अमेरिकी डलरको मूल्याङ्कनमा एक अमेरिकी कम्पनीले खरिद गरेको छ।
- प्रतिपक्ष डटकम नामक डिजिटल प्लेटफर्म मार्फत उनीहरूले सरकार र जनप्रतिनिधिलाई जवाफदेही बनाउन नागरिक निगरानी संयन्त्रको विकास गरेका छन्।
- उद्यमीहरूले नेपालमा लगानी भित्र्याउन देशलाई कर्पोरेट कम्पनीझैं ब्रान्डिङ गर्दै टेक्निकल र बिजनेस डिप्लोमेसीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
नेपालमा शुरु भएका स्टार्टअप वा टेक कम्पनीहरू विदेशी कम्पनीले खरीद गर्नु (एक्जिट) दुर्लभ मानिन्छ। तर, सन् २०२२ मा सौरभ सुवेदी र प्रज्वल शर्माले शुरु गरेको क्लाउड तथा एआई सेवा प्रदायक कम्पनी ‘एडेक्स’ ले तीन वर्षमा यस्तै एउटा दुर्लभ व्यावसायिक उचाइ छोएको छ।
क्लाउड सेवा व्यवसायका लागि नेपाली युवाले जन्माएर हुर्काएको यो कम्पनीका केही सेयर खरिद गर्न एक अमेरिकी कम्पनीले सम्झौता गरेको छ। सौरभ र प्रज्वलका अनुसार, २४ लाख अमेरिकी डलर (करिब ३२ करोड रुपैयाँ) को मूल्याङ्कनमा केही प्रतिशत सेयर हस्तान्तरण भइसकेको छ भने बाँकी सेयर हस्तान्तरण हुने प्रक्रियामा छ।
नेपालमै बसेर यति छोटो समयमा र यति ठूलो स्केलमा ‘एक्जिट’ सम्भव बनाउनु चानचुने उपलब्धि होइन। तर, उनीहरू यो सफलतालाई केवल एउटा खुड्किलो मान्छन्। ‘हाम्रो अन्तिम लक्ष्य यो होइन, गर्नुपर्ने काम र सिर्जना गर्नुपर्ने रोजगारी अझै धेरै बाँकी छ’, उनीहरू भन्छन्।
फरक पृष्ठभूमिबाट आएका यी दुई युवाले एउटा सफल टेक एक्जिटसम्मको यात्रा कसरी तय गरे? कथा रोचक छ।
सीएको जागिरदेखि बेलायतको एरोस्पेससम्म
सौरभ सुवेदीको जीवनमा एक समय कुनै अभाव थिएन। उनी एसियन लाइफ इन्स्योरेन्समा इन्टरनल अडिट हेड जस्ता जिम्मेवारीमा आकर्षक तलब र सुविधा सहितको स्थायी जागिरमा थिए।
निजामती कर्मचारी बुबा र बैंकमा कार्यरत आमासँग हुर्किएका सौरभको पारिवारिक वातावरण पूर्ण रूपमा सेवामुखी थियो। ‘हाम्रो परिवारमा व्यवसाय गर्ने संस्कार नै थिएन’, नेपालगञ्जमा जन्मिएर काठमाडौंमा हुर्किएका सौरभ भन्छन्।
दिल्लीबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन पूरा गरेर फर्किएपछि उनले केही वर्ष अडिट फर्म र आईएनजीओमा काम गरे। तर, इन्टरनल अडिट हेडको जिम्मेवारी सम्हाल्दा पनि उनको मन स्थिर हुन सकेन। जागिर छोड्ने निर्णय गर्दा, आफूलाई विश्वास दिलाउन आमालाई सम्झाउन उत्तिकै कठिन भयो।

उनको प्रारम्भिक पहलले अपेक्षित सफलता हासिल गर्न सकेन। उनले वित्तीय परामर्श, अध्यापन र सेयर बजारमा प्रयास गरे, तर यात्राले चाहिएको गति लिन सकेन। ‘ठ्याक्कै सही अवसर भेटेको थिएन’, उनी सम्झन्छन्।
प्रज्वल शर्माको कथा भने फरक थियो। पोखराको गण्डकी बोर्डिङ स्कूलबाट पढेका प्रज्वललाई पाइलट बन्ने हुटहुटी थियो। तर, केही रंग छुट्याउन नसक्ने समस्या (कलर ब्लाइन्डनेस) पत्ता लागेपछि त्यो सपना चिर्कियो। त्यसपछि उनी एरोस्पेस इन्जिनियरिङ अध्ययनका लागि बेलायत गए।
रातभर शपिङ सेन्टरमा काम गरी दिउँसो कक्षा लिने उनको पहिलो वर्ष निकै संघर्षपूर्ण रह्यो। ‘नेपालको सहज जीवन त्यागेर संघर्षशील जीवनमा आफैं होमिएको थिएँ’, प्रज्वल भन्छन्। तर, मिहिनेतले रंग देखायो।
स्नातक तहमा उनी टप टुमा रहे र उनको थेसिसले रोयल एरोनॉटिकल सोसाइटीको अवार्ड जित्यो। मास्टर्सपछि न्युजिल्यान्डको एउटा कम्पनीले आकर्षक जागिर प्रस्ताव गर्यो, तर नागरिकता र भिसाको जटिलता, साथै ‘एकपटक घर छोडेपछि विदेशको जुनसुकै मुलुक पनि उस्तै हुन सक्छ’ भन्ने अनुभूति भएर प्रज्वल नेपाल फर्किए।
जोखिमको त्यो निर्णय: एडेक्सको जन्म
नेपाल फर्केपछि एक आईटी कम्पनीमा काम गर्ने क्रममै प्रज्वलको भेट सौरभसँग भयो। इन्जिनियरिङ र फाइनान्सको फरक पृष्ठभूमि भए पनि उनीहरूको सोच र आँट मिल्थ्यो। ‘हाम्रो साझा धरातल भनेको वृद्धि गर्ने हुटहुटी र आँट थियो’, प्रज्वल भन्छन्।
दुवैले ‘६ महिनासम्म पुग्ने पैसा छ, एक पटक प्रयास गरेर हेरौं, डुबेछ भने फेरि जागिर खाउँला’ भन्ने व्यावहारिक आत्मविश्वासका साथ एडेक्स शुरु गरे। सुरुआतमा मासिक कार्यालय भाडा र कर्मचारी तलब जुटाउने चिन्ताले उनीहरूलाई सतायो।
तर, कुशल इन्जिनियरहरूको टोली र उत्कृष्ट कार्यसंस्कृतिका कारण कम्पनीले पछाडि हेर्नु परेन। अन्ततः त्यही मिहिनेतलाई एक अमेरिकी कम्पनीले खरीद गर्यो।
नियो मिडिया ‘प्रतिपक्ष’: सत्तालाई नागरिकको प्रश्न
व्यावसायिक सफलतासँगै सौरभ र प्रज्वलले समाज र राजनीतिलाई जवाफदेही बनाउन एउटा नवप्रवर्तन गरे- ‘प्रतिपक्ष डटकम’। सरकारको सय दिने कार्ययोजनाको प्रभावकारिता परीक्षण गर्न शुरु गरिएको यो डिजिटल निगरानी संयन्त्र विक्रम अधिकारीको अवधारणामा तयार भएको हो, जो बेलायतमा बस्दै आएका उनका साथी हुन्।

‘जनताको आवाज, सत्ताको जवाफ’ नारा लिएर सरकारको सय दिने कार्यक्रम सार्वजनिक भइसकेको भोलिपल्टै लन्च गरिएको यो वेबसाइट छिट्टै भाइरल बन्यो। हाल यस प्लेटफर्ममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्र ट्र्याकिङ, सरकारका कामको मूल्याङ्कन गर्ने प्रणाली र नागरिकले सिधै गुनासो पठाउने फिचरहरू उपलब्ध छन्।
सौरभ यसलाई समाचार पोर्टल नभएर ‘नियो मिडिया’ वा जवाफदेहिताको प्लेटफर्म मान्छन्। ‘नेपालमा राइट टु रिकल जस्ता व्यवस्था अझै लागू नभएकाले सांसदलाई पाँच वर्षसम्म जवाफदेही बनाउने औजार जनतासँग छैन। यो प्लेटफर्मले त्यो आवाज संस्थागत रूपमा सुनाउन खोजेको हो’, सौरभ सुनाउँछन्।
‘लगानी ल्याउन देशलाई कर्पोरेट कम्पनी जस्तै ब्रान्डिङ गरौं’
नेपालको लगानी प्रवर्धन प्रणालीमा रहेका कमजोरीप्रति यी युवा उद्यमीहरू गम्भीर छन्। लगानी बोर्ड नेपाल जस्ता निकाय ठूला आयोजना केन्द्रित रहेको बताउँदै सौरभ साना तथा मझौला उद्यममा बाह्य लगानी भित्र्याउने सक्रिय संयन्त्र आवश्यक रहेको बताए। लाट्भिया जस्ता देशको उदाहरण दिंदै उनले नेपालमा लगानी भित्र्याउन ‘पुस फ्याक्टर’ को अभाव रहेको तर्क गरे। ‘हामी वैदेशिक लगानी आकर्षित गर्न कर छुटका सुविधा दिइरहेका छौं, तर यसबारे विदेशी लगानीकर्ताहरू पूर्ण रूपमा अनभिज्ञ छन्’, सौरभ भन्छन्। ‘अब नेपाललाई नै एउटा कर्पोरेट कम्पनीका रूपमा सोचेर अन्तर्राष्ट्रिय मञ्चहरूमा आक्रामक मार्केटिङ गर्नुपर्ने बेला आएको छ।’
सामान निर्यातमा भूपरिवेष्टित राष्ट्रका रूपमा हुने अवरोधलाई सेवा निर्यातले सजिलै जित्न सक्ने उनीहरूको विश्वास छ। यसका लागि नेपालले परम्परागत कूटनीतिबाट माथि उठेर ‘टेक्निकल र बिजनेस डिप्लोमेसी’ लाई प्राथमिकता दिनुपर्ने सौरभको सुझाव छ।

गरिबीको ग्लोरिफिकेसन विरुद्ध
प्रज्वल र सौरभ आफ्नो व्यावसायिक यात्रालाई कुनै रुवाबासी वा दुःखको मोटिभेसनल कथाका रूपमा बिर्सिन चाहँदैनन्। तर, नेपाली समाजले उद्यमीलाई हेर्ने दृष्टिकोणप्रति उनीहरू सचेत छन्। ‘हाम्रो समाजमा उद्यमशीलताको सम्मान भन्दा पनि गरिबीलाई ग्लोरिफाई गर्ने र पैसा कमाएको मान्छेलाई शंकाको दृष्टिले हेर्ने गलत चलन हाबी छ’, सौरभ भन्छन्।
विदेशका सडक र विमानस्थलमा नेपाली युवाहरूले गरेको कठिन श्रम देख्दा उनीहरूलाई गहिरो पीडा हुन्छ। ‘उनीहरूलाई यहीं रोजगारी दिन सकियो भने त्यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हुनेछ’, प्रज्वल भन्छन्। ‘उद्यमी हुनुको नाताले हाम्रो मुख्य लक्ष्य रोजगारी सिर्जना नै हो।’
आगामी पुस्ताले आफूले जस्तै शून्यबाट संघर्ष शुरु गर्न नपरोस् भनेर उनीहरू नेपालमै साना थिति स्थापना गरी दिगो प्रणालीको विकास गर्दै अघि बढिरहेका छन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी