News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
- महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै पक्राउको कारण सार्वजनिक गर्न माग गरिन्।
- काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र कानुनी प्रक्रिया पारदर्शी बनाउन सरकारसँग आग्रह गरेको छ।
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका हुन्।
धर्नाका क्रममा महासंघले पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको विषयमा तत्काल स्पष्ट धारणा सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासंघ अध्यक्ष निर्मला शर्माले पत्रकारको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य नहुने भन्दै तत्काल समस्या समाधान नभए महासंघले थप कडा आन्दोलन अघि बढाउने चेतावनी दिएकी छन्।
महासंघले पत्रकारलाई पक्राउ गर्नुको कारण सार्वजनिक गर्न, कानुनी प्रक्रिया पारदर्शी बनाउन तथा पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ।
पत्रकार श्रेष्ठमाथि लागेको आरोप र पक्राउको कानुनी आधारबारे सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।
महासंघले आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने जनाएको छ।
प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन् ।
प्रतिक्रिया 4