News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङका ४५ वर्षीय डोलबहादुर थापालाई बेड नपाउँदा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षअगाडि एम्बुलेन्समै ज्यान गएको छ।
- वीर अस्पतालको आकस्मिक कक्षमा दैनिक एक सयभन्दा बढी बिरामी पुग्दा बेड अभाव, भीड र संक्रमणको जोखिम बढेको छ।
- टिचिङ अस्पतालमा पनि दैनिक ३० भन्दा बढी बिरामी बेड नपाएर निजी अस्पताल जान बाध्य छन् वा आकस्मिक कक्षमै दिनौं अड्किएका छन्।
७ भदौ, काठमाडौं । आकस्मिक कक्षको ढोकाबाट भित्र पस्ने हरेक बिरामीसँगै आफन्तका एउटै आशा हुन्छ – अब उपचार सुरु हुन्छ । डाक्टरले हेर्छन् । जीवन जोगिन्छ ।
अस्पतालको आकस्मिक कक्षसम्म पुगे पनि मोरङका ४५ वर्षीय डोलबहादुर थापाको परिवारका लागि त्यो आशा पूरा भएन ।
२९ साउन, दिउँसो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) को आकस्मिक कक्षमा बिरामीको चाप थेगिनसक्नु थियो ।
डायलासिस गराइरहेका थापालाई स्ट्रोकको समस्या देखिएको थियो । काठमाडौं मेडिकल कलेजबाट उनीहरूले थप उपचारका लागि ठूलो र भरोसायोग्य अस्पताल ठानेर टिचिङ अस्पताल ल्याएका थिए ।
एम्बुलेन्समा ल्याइएको थापालाई अस्पतालको आकस्मिक कक्षअगाडि पुर्याइयो । उनी एम्बुलेन्समा छट्पटाइरहेका थिए । बिरामीका आफन्त आकस्मिक कक्षमा बेड खोज्न दौडिए ।

चिकित्सकले भने – अहिले बेड खाली छैन । केही समय कुनुपर्छ ।
बिरामीका आफन्त एकछिन यही कुर्ने कि अन्त लैजाने, अलमलमा परे ।
थापाको अवस्था गम्भीर बन्दै गयो । १५–२० मिनेटको अन्तरालमा थापाको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै ज्यान गयो ।
बुबाको मृत्त शरीर एम्बुलेन्समा रुँगेर बसेकी छोरी भन्छिन्, ‘भित्र लगेर उपचार गरिदिएको भए, बाबा भन्न पाउँथे । अब बाबा कसलाई भन्ने ?’
उनी रुँदै भन्छिन्, ‘बाबालाई गाह्रो भएको छ । हेरिदिनु भन्दा, ठूलो स्वर गर्ने होइन भन्दै बाहिर पठाउनुभयो । श्वास चलिरहेको थियो । भित्र लगेको भए बाँच्नुहुन्थो कि ।’
***
अब लागौं, वीर अस्पतालतर्फ ।
नेपालको सबैभन्दा पुरानो र व्यस्त मध्येको एक यो अस्पतालको आकस्मिक कक्ष । १ भदौ बिहान बिरामी र आफन्तको अत्यासलाग्दो भीड छ । केही बिरामी ह्विलचियरमा समेत छन् । एउटै बेडमा तीन जनासम्म बिरामी राखिएको छ। पीडाले छट्पटाइरहेका उनीहरूले खुट्टा सहज राख्न समेत पाएका छैनन्।
आकस्मिक कक्षको अधिकांश बेडमा यस्तै दृश्य देखिन्छन्। बिरामीका आफन्तलाई बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे छ।
त्यही भीडमा छन् – गोरखाका ४९ वर्षीय बलबहादुर गुरुङ । उनी बसिरहेकी बेडमा अर्की महिला पीडाले छट्पटइरहेकी छिन्। पेटको समस्या भएका उनीलाई बेडमा बस्न समेत असहज भइरहेको छ। पिसाबको पाइप लगाएर बसेका छन्।
‘दुई दिनदेखि भर्नाको लागि पालो कुरेर बसेको छु । एकै बेडमा दुई जना बस्नुपरेको छ । पेट फुलेकाले बस्न अप्ठ्यारो भइरहेको छ,’ बलबहादुरले गुनासो गरे, ‘कहिले बेड पाएला खै !’

बलबहादुर आइतबार बिहानै वीर अस्पताल पुगेका थिए । उनको शरीरले आराम खोजिरहेको थियो, तर अस्पतालमा आरामसँग बस्ने ठाउँसम्म थिएन ।
पहिलोपटक वीर अस्पताल आएका बलबहादुर मेडिकल वार्डमा भर्ना हुनुपर्ने भनिए पनि बेड खाली नभएको जवाफ पाएपछि उनी आकस्मिक कक्षमै रोकिएका छन् ।
वीर अस्पतालमा बलबहादुर एक्ला होइनन् । आकस्मिक कक्षमा बेडको अभावसँग जुधिरहेका बिरामीको अवस्था अस्पतालको भीडभित्र दैनिक दोहोरिने दृश्य बनेको छ ।
घन्टौं कुरेर कुर्सी वा एक बेडमा तीन–चार जना बिरामी बस्न बाध्य हुन्छन् । तर भर्ना नै गनुपर्ने भएपछि अर्को प्रश्न खडा हुन्छ – बेड नै छैन ।’
कतिपय बिरामी आइसीयू, भेन्टिलेटरमा राख्नुपर्ने हुन्छन् ।

सरकारी अस्पतालमा बेड नपाउँदा बिरामी निजी अस्पतालको गेटमा पुग्नुपर्ने बाध्यता छ । निजी अस्पतालको आईसीयू शुल्क मात्रै दैनिक १५ हजारभन्दा माथि छ ।
उपचार गर्न लाखौं सकिन्छ । कतिपयको घर खेत नै बच्नुपर्ने हुन्छ । यो मध्यम र विपन्न वर्गका लागि ‘आकाशको फल’ सरह नै हुन्छ ।
त्यसैले वीरमै बेड पाउने आशामा इमर्जेन्सीमा दुई–चार रातसम्म कुरिरहेका हुन्छन् । कतिपयको त बेडका लागि भौतारिँदा आकस्मिक कक्षमै ज्यान जान्छ ।
एउटै बेडमा चार बिरामी, संक्रमण सर्ने जोखिम
मध्यम र निम्न आय भएका बिरामी अन्तिम विन्दु ठानेर वीर पुग्ने गर्छन् । आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ ।
तर बेड अभावकै कारण भर्ना हुननसक्दा तीन–चार दिनसम्म बिरामी कुरेर बस्न बाध्य छन् ।
आकस्मिक कक्ष प्रमुख डा. सुरेश नेपालका अनुसार वीरमा दैनिक एक सयभन्दा बढी नयाँ बिरामी आकस्मिक कक्षमा पुग्छन् । तीमध्ये अधिकांशलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था हुन्छ ।
ओपीडीमा पठाउन वा डिस्चार्ज गर्न मिल्ने बिरामीलाई तत्काल व्यवस्थापन गरिए पनि बाँकी बिरामीका लागि वार्डमा बेड नहुँदा आकस्मिक कक्षमै चाप बढ्ने गरेको छ ।
वीरको आकस्मिक कक्षमा सबै बिरामी एकैठाँउमा राखिन्छ । कतिपय बिरामी संक्रमण सार्ने खालका हुन्छन् । दीर्धरोगी र जेष्ठनागरिकलाई संक्रमण छिट्टै सर्ने सम्भावना हुन्छ । तीमध्ये एक हुन्, मिर्गौला रोगी चन्द्रवती राई ।

चन्द्रवतीलाई संक्रमणको जोखिम सामान्य बिरामीको भन्दा बढी छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनलाई संक्रमणबाट जोगाउन विशेष हेरचाह आवश्यक पर्छ । तर वीरको आकस्मिक कक्षमा भने उनी अन्य बिरामीसँगै खचाखच ठाउँमा बस्न बाध्य छिन् ।
थानकोट बस्दै आएकी राईलाई २१ साउन साँझ श्वासप्रश्वासमा समस्या भयो । उपचारका लागि उनी वीर अस्पताल पुगिन् । तर, आकस्मिक कक्षमा बेड नपाएपछि उनी घर फर्किन बाध्य भइन् ।
रातभर उनको अवस्था झन् बिग्रियो । शरीर कमजोर भयो, चिसो पसिना आयो, छटपटी बढ्यो र ढल्ने र बेहोस हुनेजस्तो भयो ।
‘मर्छु जस्तो लागेको थियो । बिहान हुनेबित्तिकै फेरि वीर अस्पताल आए,’ उनले अघिल्लो रात भोग्नुपरेको सास्ती सुनाइन् ।
बिहान अस्पताल आइपुग्दा उनलाई सास फेर्नसमेत गाह्रो भयो । त्यसपछि अक्सिजन दिनुपर्यो । राई विगत सात वर्षदेखि मिर्गौला फेल भएर उपचार गराइरहेकी छन् । करिब साढे पाँच वर्षदेखि नियमित डायलासिस गर्दै छिन् ।
उनीसँगै अन्य दुई जना बिरामी राखिएका छन् । संक्रमण सर्ने जोखिम भएकाले एउटै ठाउँमा बस्नुपर्दा आफूलाई थप जोखिम भएको उनको गुनासो छ ।

‘डाक्टरले नै संक्रमण सर्ने भएकाले ख्याल राख्नु भन्नुभएको छ । तर पल्लो बेडको बिरामीलाई क्षयरोगको समस्या छ,’ राईले भनिन्, ‘अस्पतालबाट नै अर्को रोग थपेर जानुपर्छ कि भन्ने डर छ ।’
मिर्गौला रोगीलाई नियमित डायलिसिस, संक्रमणबाट सुरक्षा र आवश्यकताअनुसार निगरानी चाहिन्छ । तर आकस्मिक कक्षमा क्षमताभन्दा बढी बिरामी हुँदा यस्ता बिरामीसमेत जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन् ।
डा. नेपालका अनुसार एउटा बेडमा फरक–फरक प्रकृतिका बिरामी राख्दा संक्रमण फैलिने जोखिमसमेत हुन्छ । तर आकस्मिक कक्षमा बिरामीको चाप अत्यधिक हुनु र आइसीयू, वार्डमा बेड खाली नहुनुका कारण यस्तो अवस्था आएको उनको प्रष्टोक्ति छ ।
‘एउटा बेडमा चार जनासम्म राख्नु राम्रो अभ्यास होइन । संक्रामक रोग भएको बिरामीसँग अर्को बिरामी राख्दा संक्रमण सर्ने सम्भावना हुन्छ । तर तत्काल बेड खाली नहुने र बिरामीलाई अन्यत्र जान नसक्ने अवस्था हुँदा बाध्यतामा यस्तो गर्नुपरेको हो,’ डा. नेपाल थप्छन् ।
हुम्लाबाट आमालाई ल्याएका छोराको पीडा
हुम्लाबाट बिरामी आमालाई बचाउने आशामा काठमाडौं आइपुगेका पदम परियार अहिले अस्पतालमा बेड खोज्न संघर्ष गरिरहेका छन् । ६८ वर्षीया पानसरा दमाई(आमा)लाई मुटुसम्बन्धी समस्या भएपछि उनले हुम्लादेखि काठमाडौंसम्मको कठिन यात्रा गराए । तर, राजधानी आइपुग्दा पनि उनको दुःख सकिएन ।
आमाको मुटुको भल्भमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भयो । हुम्लाबाट सडकमार्ग हुँदै बाजुरासम्म दुई दिन यात्रा गरेपछि उनी विमान (प्लेन) चढेर नेपालगञ्ज आइपुगे । नेपालगञ्जबाट फेरि विमानमै काठमाडौं आउनुपर्यो ।
बिरामी आमालाई लिएर उनी काठमाडौं आइपुगेको एक हप्ता बित्न लागिसकेको छ । तर, अस्पतालमा भने अझै मुटु वार्डमा बेड खाली नहुँदा पानसरा भर्ना हुन सकेकी छैनन् ।
दुर्गम हुम्लाबाट उपचारका लागि राजधानीसम्म आइपुग्दा पनि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । परियारका लागि सबैभन्दा पीडादायी कुरा यही बनेको छ ।

‘हुम्लाजस्तो दुर्गम ठाउँमा अस्पतालको समस्या होला भनेर काठमाडौं आएका हौँ । तर राजधानीमै पनि व्यवस्थापन छैन,’ परियारले गुनासो गरे, ‘उपचार नपाएपछि राजधानी पनि हुम्ला जस्तै दुर्गम भयो नि । अनगिन्ती रात यही आकस्मिक कक्षमा बस्नुपरेको छ ।’
उनी राजधानीका अस्पतालमा उपचारका लागि आउने हजारौँ बिरामीको पीडातर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छन् ।
‘बिरामी रेफर गरेर ठूला अस्पताल पुग्छन् । बेड नै पाइँदैन । यसको व्यवस्थापन सरकारले गर्नुपर्यो । स्वास्थ्यमन्त्रीले गर्ने हो कि ? प्रधानमन्त्रीले गर्ने हो ? छिटो गर्नुपर्यो,’ परियारले अक्सिजनको सहारामा श्वास फेरिरहेकी आमा तर्फ हेर्दै भने ।
दुर्गम गाउँबाट उपचारका लागि राजधानीसम्म आइपुगेका बिरामी र उनका आफन्तका लागि अस्पतालको ढोकामा आइपुगेपछि उपचार पाउने आशा हुन्छ ।
तर, बेड नपाउँदा त्यो आशा फेरि निराशामा बदलिन्छ । हुम्लादेखि वीर अस्पतालसम्म आइपुग्दा परियारको २ लाखभन्दा बढी खर्च भइसकेको छ । तर, अझै कति दिन बस्नुपर्ने उनी अनविज्ञ छन् ।
‘नागरिकले यति धेरै दुःख पाउनु भएन । नयाँ सरकार आएपछि केही परिवर्तनको आशा थियो,’ परियारले गुनासो गरे, ‘अहिले पनि हरेक क्षेत्रमा नागरिकले दुःख पाइरहेका छन् । यो दुःख अन्त्य हुनुपर्छ ।’
मेडिकल अफिसरको जिम्मामा आकस्मिक कक्ष
वीर अस्पतालमा आकस्मिक कक्षमा ५० बेड छन् । तर, दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् ।
बिरामीको चाप बढ्दै गए पनि आकस्मिक कक्षको जनशक्ति भने पुरानै दरबन्दीअनुसार छ । आकस्मिक कक्षमा एक सिफ्टमा करिब सातदेखि आठ जना मेडिकल अफिसर हुन्छन् । तर कुनै चिकित्सक बिरामी परे वा अनुपस्थित भए जनशक्ति अझै घट्ने गर्छ ।
सरकारको न्यूनतम सेवा मापदण्डअनुसार आवश्यक जनशक्ति समेत छैन । आकस्मिक कक्षमा दुई बेडका लागि एक मेडिकल अफिसर र एक नर्स हुनुपर्ने मापदण्ड छ । तर अहिले ६ बेड बराबर एक नर्स र एक मेडिकल अफिसरले सेवा दिइरहेका छन् ।

आकस्मिक कक्षमा कन्सल्टेन्ट चिकित्सकको अवस्था झन् कमजोर छ । डा. नेपालका अनुसार कन्सल्टेन्ट चिकित्सक ५ जना मात्रै छन् ।
बिहान र साँझ कन्सल्टेन्ट चिकित्सकलाई आकस्मिक कक्षमै उपस्थित गराउने प्रयास गरिएको छ । बेलुकी ८ बजेसम्म मात्रै कन्सल्टेन्ट चिकित्सक बस्छन् । त्यसपछि बिहान ९ बजेसम्म विशेषज्ञ चिकित्सक ‘अन कल’ रहने व्यवस्था छ ।
देशको सबैभन्दा पुरानो र ठूलो अस्पतालको अर्को विडम्बना आकस्मिक मेडिसिन नै अध्ययन गरेका चिकित्सक खटाइँदैन । त्यति मात्रै होइन, रातिको समयमा मेडिकल अफिसरको नेतृत्वमा आकस्मिक कक्ष सञ्चालन भइरहेको हुन्छ । यसले पनि बुझाउँछ, हाम्रो सरकारी आकस्मिक कक्षको दुरवस्था ।
‘जनशक्ति मापदण्डअनुसारको पनि छैन । त्यति कम जनशक्तिबाट यति धेरै बिरामीलाई सेवा दिनुपरेको छ । यहाँ काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुपर्छ,’ डा. नेपाल भन्छन् ।
आठ दिन आकस्मिक कक्षमा बसेका गंगाबहादुर
कोटेश्वर बस्दै आएका गंगाबहादुर तामाङलाई केही दिनअघि अचानक रिंगटा चल्यो । हिँड्दाहिँड्दै उनी सडकमा लडे । उठ्न सकेनन् । बाटोमा हिँडिरहेका मानिसहरूले उनलाई उठाएर काठमाडौंको सिभिल अस्पताल पुर्याए ।
उपचारका क्रममा चिकित्सकले उनलाई स्नायुसम्बन्धी समस्या देखिएको भन्दै न्युरो मेडिसिन विभागमा जँचाउन सुझाए ।
तर त्यतिबेला न्युरोका चिकित्सक बिदामा रहेको भन्दै उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल रेफर गरियो ।
गंगाबहादुर टिचिङ अस्पताल आइपुगेको पनि डेढ साता भइसकेको छ । तर उनको उपचारको एउटा पाटो भने अझै ‘बेड’को प्रतीक्षामै अड्किएको छ ।
अस्पताल पुगेपछि उनलाई भर्नाका लागि बेड नभएको भन्दै अब्जरभेसनमा राखियो । केही दिनपछि बेड खाली भएको भन्दै भर्ना हुन बोलाइयो । तर त्यो बेड गम्भीर अवस्थाका बिरामीका लागि आवश्यक रहेको भन्दै केही दिन अझै आकस्मिक कक्षको अब्जरभेसनमा बस्न भनियो ।

गंगाबहादुरले पनि उपचार भइरहेको छ भने बस्न आपत्ति गरेनन् । बरु एक–दुई दिन थप बसेर औषधि मिलाइदिएपछि सुरक्षित रूपमा घर फर्किने आशा गरे । उनको गुनासो झन् गहिरिएको छ ।
गंगाबहादुरका अनुसार चिकित्सकहरूले सुरुमा केही दिन बसेर औषधि मिलाइदिने र ठीक पारेर मात्रै घर फर्काउने बताएका थिए ।
सोमबार चिकित्सकले रगत पातलो बनाउने औषधि भएमा चलाउनुपर्ने बताए । अत्यधिक रक्तस्राव भए जोखिम हुनसक्ने भन्दै उनलाई आफ्नै जोखिममा घर जानुपर्ने बताएपछि गंगाबहादुरलाई चित्त दुखेको छ । ‘म आफ्नै जोखिममा जाने नै भए त त्यतिबेलै जान्थेँ । यत्रो दिनसम्म बसेर खर्च गर्नुपर्ने थिएन,’ उनको गुनासो छ ।
दैनिक ३० भन्दा बढी बिरामी एम्बुलेन्सबाट फर्किन्छन्
टिचिङ अस्पतालको आकस्मिक कक्षमा अहिले एकै बेडमा तीन जना बिरामी कोचाकोच राख्ने पुरानो अवस्था हटाइएको छ । अस्पतालले ‘एक बेड, एक बिरामी’ नीति लागू गरेको छ । सुनिँदा यो सुधारजस्तो लाग्छ । तर यही सुधारले अर्को गम्भीर प्रश्न जन्माएको छ – बेड नपाएका गम्भीर बिरामी कहाँ जाने ?
टिचिङको आकस्मिक कक्षमा रेड ८, यल्लो ‘ए’ र ‘बी’ ३०, ग्रीन १५ र अब्जर्भेसनमा २२ गरी ७५ बेड छन् ।
अझ गम्भीर अवस्था त त्यतिबेला देखिन्छ – जब नयाँ बिरामीका लागि बेड खाली हुँदैन । अस्पतालको तथ्यांकअनुसार दैनिक ३० भन्दा बढी बिरामी बेड नपाउँदा एम्बुलेन्सबाट नै अर्को निजी अस्पतालमा जान बाध्य छन् । कतिपय पर्खन्छन् । केही बिरामी त २४ घण्टा होइन, पाँच दिनसम्म पनि आकस्मिक कक्षमै अड्किनुपर्ने अवस्था रहेको आकस्मिक कक्षमा कार्यरत डा.रामप्रसाद न्यौपाने बताउँछन् ।
आकस्मिक कक्षमा बिरामीको चाप बढ्नु मात्रै समस्या होइन । बिरामीलाई आकस्मिक सेवाबाट सुरक्षित उपचार दिएर अर्को वार्ड वा अस्पतालमा सार्न नसक्नु मुख्य समस्या बनेको छ ।
अस्पतालले अहिले गुणस्तरीय उपचार र बिरामीको सुरक्षालाई प्राथमिकता दिँदै एक बेडमा एक जना मात्र बिरामी राख्ने व्यवस्था गरेको छ ।
विगतमा एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपर्ने अवस्था थियो । त्यो हटाइएपछि संक्रमणको जोखिम र अव्यवस्थित उपचार केही घटेको छ । तर त्यसको अर्को पाटो भने झन् डरलाग्दो छ । बेड नै नपाएपछि कतिपय बिरामीको ज्यान समेत जाने गरेको छ । शुक्रबार मोरङका ४५ वर्षीय डोलबहादुर थापाको मृत्युको पहिलो कारण बेड नै नपाउनु थियो ।

यही अवस्थाले संविधानले दिएको आकस्मिक स्वास्थ्य सेवाको अधिकारमाथि पनि प्रश्न उठाएको छ । डा. न्यौपाने स्वीकार गर्दै भन्छन्, ‘ गुणस्तरीय सेवा र बिरामीको पहुँचबीच सन्तुलन मिलाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।’
सबै बिरामीलाई भित्र छिराएर एउटै बेडमा धेरै जना राख्ने कि ? एक बेडमा एक जना राखेर गुणस्तरीय सेवा दिने ? भन्ने प्रश्नको उत्तर उनीसँग पनि छैन ।
समस्या टिचिङको आकस्मिक कक्षको मात्रै होइन । काठमाडौंका ठूला अस्पतालमा प्रभावकारी रेफरल प्रणाली नहुँदा बिरामी एउटै अस्पतालमा थुप्रिने गरेका छन् । बिरामीलाई अर्को अस्पतालमा पठाउनुपर्ने अवस्थामा पनि कहाँ पठाउने भन्ने निश्चित प्रणाली छैन ।
डा. न्यौपाने बाहिरका कतिपय स्वास्थ्य प्रणालीमा ट्रियाजपछि बेड नभए तत्काल अर्को अस्पतालमा रेफर गर्ने व्यवस्था हुने गरेको बताउँछन् । नेपालमा भने यस्तो प्रणाली प्रभावकारी छैन ।
त्यसैले आकस्मिक कक्ष ठूलो बनाउँदैमा समस्या समाधान हुँदैन । अस्पतालकै चिकित्सकको भाषामा, डिस्पोजिसन अर्थात् बिरामीलाई समयमै वार्ड, आईसीयू वा अर्को अस्पतालमा सार्ने व्यवस्था सुधारिएन भने आकस्मिक कक्ष जतिसुकै ठूलो बनाए पनि त्यही समस्या दोहोरिन्छ ।
अहिले टिचिङको आकस्मिक कक्षमा यही भइरहेको छ । नयाँ बिरामी आउँछन्, ट्रियाज हुन्छ, उपचारको आवश्यकता पहिचान हुन्छ । तर बेड खाली हुँदैन । वार्डमा भर्ना हुने दर कम छ । त्यसकारण आकस्मिक कक्षमै बिरामी थुप्रिन्छन् ।
‘नागरिकमाथि राज्यको ज्यादती’
उपत्यकाका सुविधासम्पन्न र ठूला सरकारी अस्पतालका आकस्मिक कक्षमै बिरामीले बेड नपाएर छट्पटाउनुपर्ने अवस्था छ । राजधानीका अस्पतालको आकस्मिक सेवाको हालत दयनीय छ ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने स्पष्ट व्यवस्था गरेको छ ।
तर, अस्पतालका आकस्मिक कक्ष र अस्पताल परिसरमै उपचारको प्रतीक्षामा छट्पटाइरहेका बिरामीको दृश्यले संविधानमा लेखिएको यही अधिकारमाथि व्यंग्य गरिरहेको छ ।
कागजमा मौलिक हक सुनिश्चित भए पनि व्यवहारमा बिरामीले उपचारका लागि बेडसमेत नपाउनु राज्यको स्वास्थ्य प्रणालीमाथिको प्रश्न उठाइरहेको छ ।
जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार नागरिकले सहज र सुलभ स्वास्थ्य सेवा नपाउनु स्वास्थ्य प्रणालीभित्रको व्यवस्थापकीय कमजोरीको परिणाम हो ।
‘अस्पतालभित्रको व्यवस्थापन, जनशक्तिको सीप, दक्षता र जिम्मेवारीलगायतका विषयलाई हेर्नुपर्ने हुन्छ,’ डा. वन्त भन्छन्, ‘आकस्मिक सेवामा जीवन–मरणको सवाल हुन्छ । तर, त्यसको व्यवस्थापन कुशलतापूर्वक हुन सकेको छैन ।’

उनका अनुसार आकस्मिक कक्षमा आउने बिरामीलाई सीमित स्रोत–साधनकै बीच पनि उपचारबाट विमुख हुन नदिने व्यवस्था राज्यले गर्नुपर्छ । तर, अहिले बिरामीले बेडका लागि अस्पताल धाउनुपर्ने र उपचार पाउनुअघि नै रेफरलको चक्कर काट्नुपर्ने अवस्था छ ।
सबैभन्दा ठूलो विडम्बना सरकारी अस्पतालबीचकै कमजोर समन्वय हो । एउटा सरकारी अस्पतालमा बेड नहुँदा अर्को सरकारी अस्पतालमा तत्काल बिरामी पठाउने र बेड सुनिश्चित गर्ने प्रभावकारी सूचना प्रणाली अझै विकास हुन सकेको छैन ।
‘त्रिवि शिक्षण अस्पतालमा बेड नहुँदा वीर वा अन्य कुनै सरकारी अस्पतालमा फोन गरेर बेडको व्यवस्थापन गर्ने प्रणालीको विकास भएको छैन,’ डा. वन्त भन्छन्, ‘यसले गर्दा अधिकांश बिरामी निजी अस्पतालको गेटमा पुग्न बाध्य हुन्छन् ।’
एक हिसाबले आकस्मिक अवस्थामा बिरामीका लागि समय नै जीवन हो । तर, राज्यको कमजोर व्यवस्थापनका कारण बिरामीलाई एउटा अस्पतालबाट अर्को अस्पतालमा भौंतारिनुपर्छ । बेड खोज्दै अस्पताल चहार्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम उत्तिकै हुन्छ ।
टिचिङ अस्पतालको आकस्मिक कक्षमा सर्लाहीकी ललिता पौडेल चार दिनदेखि उपचारको पर्खाइमा थिइन् । टाउको र आँखामा गम्भीर चोट लागेपछि अस्पताल ल्याइएकी उनलाई तत्कालै शल्यक्रिया आवश्यक भनिए पनि अहिलेसम्म आकस्मिक कक्षबाट वार्डमा सारिएको छैन ।

श्रीमान् लिलाबहादुर पौडेलका अनुसार घरमै चोरको कुटाइबाट ललिताको टाउको र आँखामा चोट लागेको हो । सुरुमा सर्लाहीबाट वीरगञ्ज लगिएको थियो । त्यहाँ न्यूरोसम्बन्धी उपचार गरिएपछि आँखाको उपचारका लागि काठमाडौं पठाइएको थियो ।
ललिताको आँखामा लागेको चोट सामान्य छैन । चिकित्सकले एउटा आँखाको दृष्टि फर्किने सम्भावना नरहेको भन्दै अर्को आँखालाई बचाउन र संक्रमण फैलिन नदिन शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।
‘आँखा फुटेको छ । एक आँखाले देख्ने सम्भावना नै छैन भन्नुभएको छ । अर्को आँखा बचाउन र संक्रमण रोक्न अप्रेसन गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘एउटा आँखाले भए पनि देख्यो भने त राम्रो हुन्छ ।’
चार दिनदेखि आकस्मिक कक्षमै बस्दा बिरामी मात्रै होइन, कुरुवा परिवारसमेत थलिएका छन् । सुत्ने ठाउँ छैन । बस्ने ठाउँको अभाव छ । उपचारका लागि अस्पताल पुगेको परिवार अहिले बेडको प्रतीक्षामा दिन कटाउन बाध्य छ ।
‘भर्ना गर्न पाएको भए अलि सजिलो हुन्थ्यो । यहाँ बस्दा–बस्दा थाकिसकियो । सुत्ने ठाउँ छैन। बेडमा भए बस्न पनि सजिलो हुन्थ्यो,’ लिलाबहादुर भन्छन् ।

अर्कोतर्फ, राज्यको स्वास्थ्य प्रणालीमा पहुँच र वर्गको विभेदसमेत देखिन्छ । नेता, मन्त्री तथा पहुँचवाला व्यक्तिले उपचारका नाममा राज्यकोषबाट लाखौँ–करोडौँ रुपैयाँ खर्च गराउन सक्ने अवस्था छ । तर, सामान्य नागरिक भने उपचारकै लागि जायजेथा बेच्नुपर्ने र ऋणको भारी बोक्नुपर्ने अवस्थामा छन् ।
राज्यले संविधानमा अधिकार लेखेर मात्र आफ्नो दायित्व पूरा भएको ठान्न मिल्दैन । नागरिकलाई व्यवहारमै सेवा उपलब्ध गराउने संयन्त्र निर्माण गर्नुपर्छ ।
‘संविधानले उल्लेख गरेका सबै स्वास्थ्य सेवा सर्वसुलभ रूपमा पाउने प्रणालीको विकास गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘सुनिश्चितता गरेको स्वास्थ्य सेवा नपाउनु वा दिन नसक्नु राज्यले नागरिकमाथि गरेको ज्यादती हो ।’
प्रतिक्रिया 4