+
+
Shares

राजापुर र गेरुवामा १२ वर्षमा २१ किलोमिटर तटबन्ध, बजेट अभावले न्यून प्रगति

वाईपी सापकोटा वाईपी सापकोटा
२०८३ भदौ १० गते ८:००

१० भदौ, बर्दिया । बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा नदी कटान तथा बाढी नियन्त्रणका लागि स्थापना गरिएको सिँचाइ तथा नदी व्यवस्थापन कार्यालयले १२ वर्षमा २१ किलोमिटर तटबन्ध निर्माण गरेको छ। पर्याप्त बजेट विनियोजन नहुँदा नदी व्यवस्थापनको काम भने सुस्त गतिमा भइरहेको छ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका नदी तटीय क्षेत्रका बासिन्दा बाढी तथा नदी कटानबाट बर्सेनि प्रभावित भएपछि सरकारले २०७१ सालमा कार्यालय स्थापना गरेको थियो। नदी कटान र बाढीको उच्च जोखिम रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यालयले ड्यामसहितको तटबन्ध निर्माण सुरु गरे पनि १२ वर्ष बित्दा गुरुयोजनाअनुसार काम हुन सकेको छैन।

२०७६ मा १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँ लागतको गुरुयोजना स्वीकृत भएको थियो। गुरुयोजना स्वीकृत हुनुअघि १ अर्ब ४५ करोड २९ लाख र त्यसपछि १ अर्ब ६२ करोड ४३ लाख गरी हालसम्म ३ अर्ब ७ करोड रुपैयाँ खर्च भएको आयोजनाका सूचना अधिकारी सञ्जीवकुमार शाहले बताए।

आर्थिक वर्ष २०८२/८३ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि बजेट अभावका कारण काम अघि बढ्न नसकेपछि कार्ययोजनाको म्याद थप गरी आर्थिक वर्ष २०८९/९० सम्म पुर्‍याइएको छ। कार्ययोजनाको म्याद थपिए पनि बजेट विनियोजनमा भने सुधार हुन नसकेको शाहले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा आयोजनाका लागि २४ करोड ५४ लाख रुपैयाँ मात्र विनियोजन भएको छ। बजेट अभावकै कारण गेरुवा नदीतर्फ तटबन्ध र ड्याम निर्माणको कामसमेत अघि बढ्न सकेको छैन। ‘गुरुयोजनाअनुसार बजेट आएको भए अहिलेसम्म आयोजना सम्पन्न भइसक्नुपर्ने थियो,’ शाहले भने।

सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका निर्देशक सुदिन मोक्तानले न्यून बजेट विनियोजन भएकाले गुरुयोजनाअनुसार प्रगति हुन नसकेको बताए। उनका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब १३ प्रतिशत मात्रै छ। ‘१२ अर्बभन्दा बढीको गुरुयोजना छ, बजेट १०–१२ करोड रुपैयाँ आउँछ। अनि कसरी प्रगति देखिन्छ ?’ उनले भने।

काम सम्पन्न गरेर निर्माण व्यवसायीले रनिङ बिल पेस गरे पनि भुक्तानी गर्न नसकिएको उनले बताए। ‘निर्माण व्यवसायीले मजदुरलाई पैसा दिन नसक्दा मजदुर नै कार्यालयमा आउँछन्,’ मोक्तानले भने, ‘पर्याप्त बजेट भए काम छिटो हुन्छ र आयोजना पनि समयमै सकिन्छ।’

राजापुर नगरपालिका–१ दौलतपुरका स्थानीय लोकराज ढुंगानाले पनि नदी व्यवस्थापनको काम कछुवाको गतिमा भइरहेको बताए। गुरुयोजनाअनुसार काम भएको भए राजापुर र गेरुवा बाढी तथा कटानबाट धेरै सुरक्षित हुने भए पनि ढिलाइले जोखिम कायमै रहेको उनको भनाइ छ। ‘तटबन्ध निर्माण भएको ठाउँमा समेत भत्किन लागेको छ। मर्मतका लागि कार्यालयमा अनुरोध गर्दा रकम छैन भन्छन्,’ ढुंगानाले भने।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले पूर्वी क्षेत्रमा तटबन्ध निर्माण नहुँदा नदी कटानको जोखिम कायमै रहेको बताए। ‘अहिले गेरुवामा पानीको बहाव कम छ। कुनै समयमा नदीको बहाव यतातिर फर्कियो भने कटान र बाढीको अत्यन्तै जोखिम हुन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?