+
+
Shares

बाढीमा बगेको नुवाकोटको कारुणिक दृश्य

बिजुली नहुँदा नुवाकोट र रसुवाका सम्पूर्ण क्षेत्र यतिबेला अन्धकारमा छन् ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ भदौ १० गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनतर्फबाट आएको भोटेकोशी (त्रिशूली) बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंशीसहितका बजार, बस्ती र पुलहरू बगाएर ठूलो क्षति पुर्‍याएको छ।
  • बाढीले नुवाकोट, धादिङ र रसुवाका २० भन्दा बढी पुल बगाएपछि नदी वारिपारिको सडक सञ्जाल पूर्णतः विच्छेद भएको छ।
  • बाढीले त्रिशूली बजार, दुई जलविद्युत् आयोजना, एउटा सोलार आयोजना, विद्यालय र सरकारी कार्यालयलाई क्षति पुर्‍याएको छ, भने खोजी तथा उद्धार जारी छ।

१० भदौ, नुवाकोट । आज बिहान चीनदेखि आएको भोटेकोशी (त्रिशूली) बाढीले रसुवादेखि चितवनसम्मका नदी आसपासका क्षेत्रमा एकाएक स्वरुप नै परिवर्तन गरिदियो ।

बिहान ९ बजे रसुवागढी नाकाबाट नेपालतर्फ पसेको ठूलो बाढीले विध्वंश मच्चाउँदै टिमुरे र स्याफ्रुबेंशीजस्ता बजारहरू बढ्यार्‍यो । त्यहाँबाट नुवाकोटतर्फ भित्रिएको केही क्षणमै नदी किनारका सुन्दर बस्ती र बजारहरू बगरमा बदलिन पुगे ।

अत्याधिक बहाव भएको रसुवाका टिमुरे, स्याफ्रुबेंशी, मैलुङ, पैरेबेंशी, खाल्टे र बेत्रावती जस्ता गाउँ, बस्ती र बजारसहित असंख्य पुलहरू, दर्जन हाराहारीका करिब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई नामेट पार्दै अघि बढेको बाढीले कम बहाव भएको तटीय क्षेत्र नुवाकोटमा पनि अकल्पनीय विनास निम्त्याइछाड्यो ।

माथिल्लो क्षेत्रबाट सयौं सवारी साधन र भाग्न नभ्याएर फसेका स्थानीयहरूको शवसमेत बगाएर ल्याएको देखिन्थ्यो । बाक्लो लेदो, ढुंगामुढासहितको अत्यासलाग्दो बाढीले नुवाकोटका घना गाउँवस्ती र बजारहरूलाई हेर्दाहेर्दै छोपिदिएको थियो ।

नुवाकोट, धादिङ र रसुवाकै पहिलो व्यापारिक केन्द्र मानिने त्रिशूली बजार हेर्दाहेदै केही मिनेटमै नामेट भए । यहाँका पक्की पुल र त्रिशूली र देवीघाटका दुईवटा जलविद्युत् आयोजनासँगै नेपालकै ठूलो क्षमताको मानिएको एक सोलार विद्युत् आयोजना बाढीसँगै बगेर गएका छन् ।

बिजुली नहुँदा नुवाकोट र रसुवाका सम्पूर्ण क्षेत्र यतिबेला अन्धकारमा छन् । धेरै सरकारी कार्यालय र जिल्लाकै पुरानो शैक्षिक केन्द्र त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय पनि यो विनासको शिकार भएका छन् ।

यस बाहेक अन्य तीन विद्यालयहरू बगेका छन् । यी पूर्णरूपमा बाढीमा बिलाएका छन् । धार्मिक रुपमा चर्चित देवीघाट बजार हिलोमा लपेटिएको छ।

रसुवा सीमादेखि धादिङको गल्छीसम्मका मात्रै पक्की र अन्य गरी २० भन्दा बढी पुलहरू बगेका छन् । यसले गर्दा जिल्लाको नदी वारिपारि गर्ने सडक सञ्जालहरू पूर्णतः बिच्छेद भएका छन् । नदी आसपासका बगेका घरहरूको लेखाजोखा हुन सकेको छैन । खेतीयोग्य फाँट र जमिनहरू बगाउँदा कृषियोग्य उर्बर क्षेत्र बन्जर हुनपुगेका छन् ।

धेरैजसो स्थानीय र सडकमा यात्रारत देखिन्छन् । यात्रुहरू कयौं हराइरहेको र सम्पर्कविहीन भएका कारण बाढीको कहरमा छट्पटिएका नागरिकहरूका लागि थप पीडा थपिएको छ ।

प्रहरी र स्थानीय प्रशासनले खोजीकार्य गरिरहेकोले यसको यकीन विवरण अझै आइसकेको छैन । कतिपय शवहरू बाढीले छोडेपछिको बगरमा भेटिएका छन् भने केहीलाई जीवितै उद्धार गरी उपचारमा पठाइएको छ ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?