News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आएको बाढीपछि देशभर असहज परिस्थिति बनेकाले सरकार उद्धार र राहतमा जुटिरहेको छ भने ८ सयभन्दा धेरै सम्पर्कविहिन छन्।
- गायक प्रकाश दूतराजले शुक्रबार म्याग्दीमा गर्ने सांगीतिक समूह घोषणा कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघले हाललाई स्थगित गरेको छ।
- गायिका रचना रिमालले अस्ट्रेलियामा २८ अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने कार्यक्रम स्थगित गरेको र प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेको जनाएकी छन्।
काठमाडौं । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ ।
सरकार उद्धार र राहतमा जुटिरहेको छ । अझै ८ सयभन्दा धेरै सम्पर्कविहिन भएको विवरण आइरहेका छन् । यस्तो असहज परिस्थितीमा कलाकारले धमाधम मनोरञ्जन र कलाकारितासम्बन्धी गतिविधि स्थगित गरेका छन् ।
गायक प्रकाश दूतराजले शुक्रबार गृहजिल्ला म्याग्दीबाट सांगीतिक समूह घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । देशको स्थितीलाई हेर्दै अहिले उक्त कार्यक्रम स्थगित गरेको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
गायक दूतराजले जनैपूर्णिमाको अवसरमा पहिलो लोकसंगीत ब्यान्डको रुपमा ‘प्रकाश दूतराज एन्ड लाइनअप’ घोषणा गर्ने कार्यक्रम थियो । संघले विज्ञप्ति जारी गर्दै अहिले मानवीय सेवा र राहतमा जुट्नुपर्ने बेला भएकाले दूतराजको उक्त कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ ।
सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेकी गायिका रचना रिमालले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको सामाजिक सञ्जालबाट जनाएकी छन् । यो दुःखद अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मको लागि २८ अगस्टदेखि १२ सेप्टेम्बरसम्म त्यहाँका विभिन्न सहरमा हुने कार्यक्रम स्थगित गरिएको रिमालले जनाएकी छन् ।
अर्को मिति चाँडै घोषणा हुनेछ । रचनाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेको जानकारी पनि गराएकी छन् ।
आज बिहीबार हुने तयारीमा रहेको कमेडी च्याम्पियन सिजन ४ ले घोषणा पत्रकार सम्मेलन पनि स्थगित गरेको छ ।
प्रतिक्रिया 4