+
+
Shares
रसुवा बाढी :

असाधारण बाढीका लागि पूर्वसूचना प्रणाली कति सक्षम छ ?

१० भदौमा नेपाल–चीन सीमाबाट बेत्रावतीसम्मको ३६ किलोमिटरको दुरी बाढीले करिब ४० मिनेटमै पार गरेपछि विज्ञहरूले सेन्सरको डिजाइन, डेटा प्रसारण, चेतावनी प्रणाली र वैकल्पिक सेन्सर व्यवस्थासहित समग्र प्रणाली पुनरावलोकनको आवश्यकता औंल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदी क्षेत्रमा भदौ १० गते आएको बाढी नेपाल–चीन सीमाबाट देवघाटसम्म ७ घण्टामै पुगेको देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • विनोद पराजुलीका अनुसार बाढीले लाङटाङ, रसुवागढी, बेत्रावती, स्याफ्रुबेसी र मलेखुका मापन उपकरण बगाएको छ।
  • ई. अनुप खनालले बाढीपूर्वसूचना प्रणालीमा थ्रेसहोल्ड बेस्ड ट्रान्समिसन, फरक उचाइका सेन्सर र समग्र प्राविधिक समीक्षा आवश्यक रहेको बताएका छन्।

१२ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नेपाल–चीन सीमावर्ती क्षेत्रको भोटेकोशी नदी क्षेत्रमा प्रत्येक १०–१० मिनेटमा बाढीको तथ्यांक पठाउने सेन्सर थियो । भदौ १० गते बिहान ८:४० बजेसम्म तथ्यांक सामान्य रूपमा प्राप्त भएको थियो, तर ८:५० बजेको तथ्यांक प्राप्त हुन सकेन ।

त्यसको करिब ३६ किलोमिटर तल बेत्रावतीमा जडान गरिएको अर्को सेन्सरले बिहान ९:२० बजेसम्म तथ्यांक पठाइरहेको थियो तर ९:३० बजेको तथ्यांक प्राप्त भएन ।

यस हिसाबले भदौ १० गते बिहान तिब्बत क्षेत्रबाट आएको बाढी नेपाल प्रवेश गरेको करिब ४० मिनेटमै ३६ किलोमिटर दुरी पार गरेर बेत्रावतीसम्म पुगेको देखिएको पराजुली बताउँछन् ।

‘बाढी नेपाल प्रवेश गरेको समय भनेको ८ बजेर ४५ देखि ५० मिनेटको बीचमा हो । बेत्रावतीमा आइपुगेको ९:२५ मा छ,’ पराजुली भन्छन्, ‘त्यसैले यसको गति विगतका अन्य बाढीभन्दा अत्यन्त्र तीव्र थियो भन्न सकिन्छ ।’

उनी थप्छन्, ‘विगतका अन्य बाढी नेपाल–चीन सीमानाकाबाट चितवनको देवघाटसम्म पुग्न करिब १४ घण्टा लागेको रेकर्ड छ । तर यो बाढी देवघाटसम्म ७ घण्टामै पुगेको छ । र, देवघाटबाट २ सय लाख घनमिटर पानी बहाव भएको रकर्ड छ । यसले अन्य बाढीभन्दा भदौ १० गतेको बाढी डबल गतिमा थियो भन्ने पुष्टि हुन्छ ।’

बाढीको तीव्र बहावसँगै लाङटाङ, रसुवागढी, बेत्रावती, स्याफ्रुबेसी र मलेखुका बाढी मापन उपकरणहरु बगेका छन् । हाल देवघाट, भोर्ले र कालीखोला (मुग्लिन) मा मात्र बाढी मापन उपकरणहरु बाँकी छन् ।

‘तुलनात्मक रुपमा सुरक्षित र बलियो संरचना ठानेर हामीले बेत्रावती र स्याफ्रुबेसी बाहेक सबै ठाउँमा पुलहरुमा बाढी मापन उपकरण जडान गरेका थियौं, तर पुलसँगै ती उपकरणहरु पनि बगे,’ पराजुली भन्छन्, ‘यो बाढीको प्रकृति यस्तो भयानक थियो कि अहिलेका बाढी मापन प्रविधिले काम गर्ने अवस्था पनि रहेन ।’

यो असाधारण प्रकृतिको आकस्मिक बाढीले सडक, पुलमात्र बगाएन सिंगो बजार र बस्ती नै खण्डहरमा परिणत गरेको छ । मानवीय र भौतिक क्षतिको लेखाजोखा हुन बाँकी छ ।

बाढीको एकिन कारण पत्ता लगाउन नेपाल र चिनियाँ वैज्ञानिकहरु सक्रिय छन् । यद्यपि नेपालका अधिकारीहरु भने हिमनदीको ठूलो क्षेत्र खसेर बाढीको रुप लिएको निष्कर्षमा भने पुगेका छन् ।

‘अहिलेसम्म कन्फर्म गर्न सकिने भनेको हिमनदीको ठूलो क्षेत्र खसेको हो,’ जल तथा मौसम विज्ञान विभागका बाढीविद पराजुली भन्छन्, ‘सदियौँदेखि जमेको आइस खसेको छ तर त्यो कति पुरानो हो भन्ने लगायतका अन्य कुरा पत्ता लाग्न केही समय लाग्छ ।’

‘पूर्वसूचना प्रणाली’बारे बहस

रसुवा बाढीसँगै ‘अर्लिवार्निङ सिस्टम’ अर्थात् ‘पूर्वसूचना प्रणाली’ बारे पनि बहस सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका लागि इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले भोटेकोशी नदी क्षेत्रमा बाढीको पूर्वसूचना दिने उपकरण जडान गरेको थियो ।

इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिका प्रमुख ई. अनुप खनाल उपलब्ध तथ्यांकका आधारमा रसुवागढीदेखि बेत्रावतीसम्म बाढीको औसत प्रसार गति १५ देखि २० मिटर प्रतिसेकेन्ड हुन आउने आँकलन गर्छन् ।

त्यस्तै, बाढीको उचाइ करिब २० मिटर र चौडाइ करिब ४० मिटर पुगेको अनुमानका आधारमा बाढीको पिक डिस्चार्ज १२ हजारदेखि १५ हजार घनमिटर प्रतिसेकेन्डको दायरामा हुनसक्ने अनुमान उनको छ ।

तर बाढीले स्टेसनमा क्षति पुर्‍याउनुअघि सेन्सरमा पानीको सतह घटेको कुनै रेकर्ड देखिएको छैन । यसले पहिरोले नदी थुनेर बनेको अस्थायी ताल अचानक फुट्दा आएको बाढी अर्थात् Landslide Dam Outburst Flood (LDOF)) हुनसक्ने सम्भावना न्यून रहेको र यसबारे थप अध्ययन आवश्यक देखाउने उनी बताउँछन् ।

‘यदि नदी पहिरोका कारण केही समय थुनिएर त्यसपछि अचानक फुटेको हो भने सामान्य नदीमा क्रमश: पानीको सतह बढ्दै जाने अवस्थाभन्दा फरक प्रकृतिको बाढी आउन सक्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा नियमित अन्तरालमा तथ्यांक पठाउने प्रणालीले बाढीको चरम अवस्था आउनुअघि पर्याप्त समय उपलब्ध गराउन नसक्ने सम्भावना हुन्छ । तर यो प्रारम्भिक अनुमान मात्रै भएकाले विस्तृत हाइड्रोलोजिकल तथा हाइड्रोलिक अध्ययनबाट यसको प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’

फरक उचाइमा सेन्सर राख्नुपर्ने सुझाव

खनालका अनुसार यो घटनाले बाढी पूर्वसूचना प्रणालीको डिजाइन र सञ्चालनमा केही महत्वपूर्ण सुधारको आवश्यकता औँल्याएको छ ।

हालको जस्तो निश्चित अन्तरालमा मात्र तथ्यांक पठाउने प्रणालीको सट्टा ‘थ्रेसहोल्ड बेस्ड ट्रान्समिसन’ प्रणाली विकास गर्न सकिने उनको सुझाव छ । यसअनुसार सामान्य अवस्थामा सेन्सरले प्रत्येक १० मिनेटमा तथ्यांक पठाउन सक्छ तर पानीको सतह पूर्वनिर्धारित जोखिम तहभन्दा माथि पुग्न थालेपछि अर्को १० मिनेटको अन्तराल कुर्नु नपर्ने गरी तत्काल तथ्यांक पठाउने व्यवस्था गर्न सकिन्छ ।

यसबाट बाढीको जोखिम पहिचान र चेतावनी जारी गर्न लाग्ने समय घटाउन सकिने उनको भनाइ छ ।

बाढी निगरानी प्रणालीमा वैकल्पिक रुपमा दोहोरो सुरक्षा व्यवस्था गर्न सकिन्छ । अर्थात् एउटै उचाइमा मात्र सेन्सर राख्नेभन्दा फरक–फरक उचाइमा सेन्सर राख्ने अवधारणाबारे पनि विचार गर्नुपर्ने खनाल बताउँछन् ।

उनका अनुसार एउटा सेन्सर नदीको तल्लो तहमा सामान्य तथा मध्यम बाढी निगरानीका लागि राख्न सकिन्छ भने अर्को सेन्सर नदीको सतहभन्दा २०–३० मिटरमाथि जस्तो उच्च उचाइमा राखेर अत्यधिक बाढीको अवस्था पहिचान गर्न सकिन्छ ।

सामान्य अवस्थामा माथिल्लो सेन्सर सक्रिय नहुन सक्छ । तर असाधारण बाढीका कारण पहिलो सेन्सरको मापन सीमा नाघेमा माथिल्लो सेन्सरले पानीको सतह मापन गर्न सक्ने र त्यसबाट थप तथ्यांक तथा चेतावनीको आधार तयार हुनसक्ने उनको भनाइ छ ।

समग्र समीक्षा आवश्यक

खनालले भोटेकोशीको घटनालाई केवल ‘अर्लिवार्निङ सिस्टम फेल’ भयो भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन् ।

उनका अनुसार घटनालाई केवल ‘पूर्वसूचना प्रणाली असफल भयो’ भनेर निष्कर्ष निकाल्नुको सट्टा सेन्सरको मापन प्रणाली, तथ्यांक प्रसारण, जोखिम तहअनुसार चेतावनी दिने व्यवस्था, सेन्सर जडान गरिएको उचाइ, वैकल्पिक सेन्सर व्यवस्था, चेतावनी सूचना प्रवाह र विपद्का बेला पनि प्रणालीले काम गरिरहन सक्ने क्षमतासहित समग्र प्रणालीको समीक्षा गर्न आवश्यक छ ।

उनका अनुसार सेन्सरले कति समयसम्म तथ्यांक दिइरहेको थियो, सञ्चार प्रणाली कहिले अवरुद्ध भयो, स्टेशन कहिले क्षतिग्रस्त भयो, बाढीको वास्तविक प्रकृति के थियो र प्राप्त तथ्यांकका आधारमा चेतावनी जारी गर्न पर्याप्त समय उपलब्ध थियो कि थिएन भन्ने विषयको प्राविधिक अध्ययन आवश्यक देखिन्छ ।

उनी भन्छन्– ‘यस घटनाले नेपालमा बाढी पूर्वसूचना प्रणालीलाई केवल पानीको सतह मापन गर्ने प्रविधिका रूपमा नभई अत्यधिक बाढीमा पनि टिक्न सक्ने, छिटो डेटा प्रसारण गर्ने, वैकल्पिक सेन्सरयुक्त र जोखिमअनुसार तत्काल चेतावनी दिन सक्ने प्रणालीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।’

साथै जोखिमयुक्त हिमतालहरूको भू–उपग्रहद्वारा निरन्तर निगरानी गर्नुपर्नेमा पनि उनी जोड दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?