१२ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो।
विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले जम्मा गरेका हुन्।
बुधबार बिहान नेपाल-चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।
सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रुपमा तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्।
यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन्। यससँगै कोषमा बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।
बिहीबार ६ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरुबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो।यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन्।
प्रतिक्रिया 4