+
+
Shares

शवगृहले थेगेन, करिडोरमै कुहिन थाले शव

फ्रिजर बाहेकका शवलाई अस्पतालको करिडोर र बाहिरी क्षेत्रमा त्रिपाल लगाएर राखिएको छ । प्रहरीले ती क्षेत्रलाई घेरा हालेर सर्वसाधारण प्रवेशमा रोक लगाएको छ । तापक्रमका कारण त्यहाँका शव कुहिन थालेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ भदौ १२ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतपुर अस्पतालको फरेन्सिक विभागले रसुवाको बाढीबाट आएका शवको पोस्टमार्टम, फिंगरप्रिन्ट, फोटो, भिडियो र विशेष पहिचान चिह्नका आधारमा पहिचान गरिरहेको छ ।
  • अस्पतालमा २४ वटा फ्रिजर मात्र भएकाले शव करिडोर र बाहिरी क्षेत्रमा त्रिपालमुनि राखिएको छ, र उच्च तापक्रमले केही शव कुहिन थालेका छन् ।
  • यो समाचार तयार पर्दासम्म ५५३ जनाको शव फेला परेको छ, र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन छन् ।

१२ भदौ, काठमाडौं । भरतपुर अस्पतालको फरेन्सिक विभागमा चार टोली निरन्तर शव परीक्षणमा खटिएका छन् । बिहीबार आएका सबै शवको प्रक्रिया पूरा नहुँदै शुक्रबार ५० वटा शव थपिएका छन् । कामको चाप अत्यधिक छ ।

रसुवाको बाढीबाट बग्दै आएका शव चितवनमा भेटिन थालेपछि भरतपुर अस्पताललाई शव व्यवस्थापनमा सकस परेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टका डा. विश्वबन्धु बगालेका अनुसार बिहीबार बेलुकासम्म मात्रै १३७ वटा शव अस्पतालमा आइपुगेका थिए । शुक्रबार थप साँझसम्म करिब २०० पुग्न सक्ने अनुमान गरिएको छ । तर अस्पतालसँग यति धेरै शव राख्ने क्षमता छैन ।

‘२४ वटा शव राख्न मिल्ने फ्रिजर छन्,’ बगालेले भने, ‘अधिकांश बेवारिसे शवले भरिएका हुन्छन् । दुई–चार वटा मात्रै खाली हुन्छन् । यस्तो विपत्तिको लागि शव व्यवस्थापन गर्ने क्षमता नै छैन ।’

बिहीबार अस्पतालको पोस्टमार्टम भवन र त्यसको परिसर नै भरिएपछि शव पोस्टमार्टम गृह बाहिरसम्म राखिएको थियो । अहिले पनि सबै शवलाई गाडीबाट उतारेर व्यवस्थित ठाउँमा राख्न भ्याइएको छैन ।

डा. बगाले भन्छन्, ‘हामी जति सकिन्छ चाँडो शव पहिचान र कानुनी प्रक्रिया पूरा गर्न लागेका छौं ।’

प्राथमिकता सग्लो शव पहिचान

बाढीमा बगेर आएका सबै शव एउटै अवस्थामा छैनन् । केही शव चिन्न सकिने अवस्थामा छन् । केही शव लामो समय पानीमा रहँदा कुहिन थालेका वा क्षतविक्षत अवस्थामा भेटिएका छन् ।

अस्पतालले तत्कालका सग्लो अवस्थामा रहेका शवको पहिचानलाई प्राथमिकता दिएको छ ।

‘पहिले सग्लो भेटिएकामध्ये पहिचान हुनसक्ने शवको काम गरिरहेका छौं,’ बगालेले भने, ‘पहिचान भएका शव आफन्तलाई दिन सके दाहसंस्कार गर्छन् ।’

अस्पतालमा फरेन्सिक विज्ञको टोलीले पोस्टमार्टम, फिंगरप्रिन्ट संकलन, फोटो तथा भिडियो र शरीरमा रहेका विशेष पहिचान चिह्नहरूको विवरण संकलन गरिरहेको छ ।

भरतपुर अस्पतालमा सुरुमा दुई फरेन्सिक टोलीले मात्रै काम गरेको थियो । तर शवको चाप बढ्दै गएपछि अन्य अस्पतालसँग सहयोग मागेको छ । भेरी अस्पताल, लुम्बिनी क्षेत्रका अस्पताल र नेपाल मेडिकल कलेजलगायत संस्थासँग फरेन्सिक विज्ञ पनि एकैसाथ पोस्टमार्टमको काम गरिरहेका छन् ।

कोरिडोरमा राखिएका शव कुहिन थाले

अस्पतालका २४ वटा फ्रिजरले चाप थेग्न नसकेपछि शव राख्न वैकल्पिक व्यवस्था गर्नुपरेको छ ।

फ्रिजर बाहेकका शवलाई अस्पतालको करिडोर र बाहिरी क्षेत्रमा त्रिपाल लगाएर राखिएको छ । प्रहरीले ती क्षेत्रलाई घेरा हालेर सर्वसाधारण प्रवेशमा रोक लगाएको छ ।

‘तापक्रम व्यवस्थापन गर्न सकिरहेका छैनौं, सुरक्षाको हिसाबले भने व्यवस्थित गरेका छौं,’ डा. बगालेले भने ।

उच्च तापक्रमका कारण शव कुहिन थालेका छन् । बिहीबार बेलुका आएका कतिपय शव कुहिन थालेको उनले बताए ।

‘सबै शव एकैपटक कुहिने होइन, तर केहीमा प्रक्रिया सुरु भइसकेको छ,’ डा. बगालेले भने, ‘अत्यधिक गर्मीका कारण शव कुहिन थाले ।’

पोस्टमार्टमपछि अर्को भवनमा

पोस्टमार्टम र प्रारम्भिक पहिचान प्रक्रिया पूरा भएका शवलाई अस्पतालबाट चितवन उद्योग संघ नजिकै रहेको एक सरकारी भवनमा राखिएको छ । अस्थायी शव व्यवस्थापन केन्द्रमा एयर कन्डिसन राखेर शव राख्ने र्‍याक बनाउने काम भइरहेको छ ।

शुक्रबार दिउँसोसम्म करिब ५८ वटा शवको पोस्टमार्टम तथा फिंगरप्रिन्टलगायत प्रारम्भिक प्रक्रिया पूरा गरी उक्त स्थानमा पठाइएको छ ।

मृतकको खोजीमा आएका आफन्तका लागि पहिचानको व्यवस्था पनि मिलाइएको छ । शवको फोटो, भिडियो र शरीरमा रहेका विशेष चिह्न डिस्प्लेमा राखिएको छ । हराएका आफन्त खोज्दै आएका व्यक्तिले ती दृश्य हेर्न सक्छन् । आफ्नो मान्छे जस्तो लागेमा सम्बन्धित शवको नम्बर टिपेर प्रहरीलाई जानकारी दिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसपछि प्रहरीले सम्बन्धित नम्बरको शव आफन्तलाई देखाउने प्रक्रिया अघि बढाउँछ । ‘विपत्तिमा जे–जे सकिन्छ, गरिरहेका छौं,’ डा. बगालेले भने ।

यो समाचार तयार पर्दासम्म हालसम्म ५५३ जनाको शव फेला परेको छ । रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । तीमध्ये अधिकांशको शवको पहिचान हुन सकेको छैन ।

एकैपटक ठूलो संख्यामा शव फेला पर्न थालेपछि अस्पतालका शवगृह भरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन छन् ।

शव पोस्टमार्टम कसरी हुँदैछ ?

हालसम्म त्रिवि शिक्षण अस्पतालमा २५ वटा शव ल्याइएको छ । तीमध्ये पाँच शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई बुझाइसकिएको छ । बाँकी २० वटाको पहिचानका लागि आवश्यक विवरण संकलन र डीएनए नमुना संकलनको काम भइरहेको छ ।

डा. चौधरीका अनुसार पहिचान हुन नसकेका शवको पोस्टमार्टमसम्बन्धी विवरण संकलनसँगै उनीहरूको शारीरिक विशेषता र अन्य पहिचानका आधारहरू अभिलेख गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

‘अहिले २५ वटा शव आइसकेका छन् । पाँच वटा शवको पहिचान भएर पोस्टमार्टमपछि आफन्तलाई बुझाइसकेका छौं,’ उनले भने, ‘बाँकी २० वटा शवको डाटा कलेक्सन, पहिचानका आधारहरू संकलन र डीएनए स्याम्पल कलेक्सनको काम भइरहेको छ ।’

डा. चौधरीका अनुसार मृत्यु भएका सबैको शव परीक्षण गरिए पनि प्रत्येक शव अनिवार्य रूपमा चिरेर परीक्षण गर्नुपर्छ भन्ने हुँदैन । पोस्टमार्टम भनेको मृत्यु भएपछि गरिने विस्तृत परीक्षण भएकाले शवको बाहिरी अवस्था, अनुहारको बनावट, लगाएका कपडा, शरीरमा रहेका चोटपटक तथा अन्य विशेषता अभिलेख गर्नु पनि शव परीक्षणकै प्रक्रिया हो ।

‘सबै शव चिर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘यो घटनामा मृत्युको कारण धेरै हदसम्म स्पष्ट छ । अहिले मुख्य चुनौती शवको पहिचान गर्नु हो । त्यसैले पहिचानका लागि आवश्यक पर्दा मात्रै शरीरभित्रको परीक्षण गरिन्छ ।’

उनका अनुसार शरीरमा राखिएका प्लेट, रड, प्रोस्थेसिस वा अन्य धातुजन्य सामग्री पनि शव पहिचानको महत्वपूर्ण आधार बन्न सक्छन् । कसैको पुरानो चोटपटकको उपचारका क्रममा हड्डीमा प्लेट वा रड राखिएको भए त्यस्ता विवरणबाट समेत व्यक्तिको पहिचान गर्न सहयोग पुग्ने उनले बताए ।

शरीरको अवस्था बिग्रिसकेको वा अनुहार चिन्न नसकिने अवस्थामा दाँतको परीक्षण, औंठाछाप र अन्तिम विकल्पका रूपमा डीएनए परीक्षणको सहारा लिनुपर्ने हुन्छ ।

अस्पतालले हाल पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राख्नुका साथै आवश्यक विवरण संकलन र भण्डारणको प्रक्रिया अगाडि बढाइरहेको छ । परिवार वा आफन्तबाट प्राप्त हुने विवरण तथा अन्य वैज्ञानिक प्रमाणसँग तुलना गरेर बाँकी शवको पहिचान गर्ने तयारी भइरहेको उनले बताए ।

‘धेरै कुहिएको वा क्षतविक्षत भएको शव हेरेर मात्र पहिचान गर्न सकिँदैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा दाँत, औंठाछाप वा डीएनए परीक्षणको सहारा लिनुपर्छ । डीएनएबाट पहिचान पुष्टि भएपछि मात्रै शव सम्बन्धित परिवारलाई जिम्मा दिनुपर्छ ।’

मन्त्रालय भन्छ- अस्थायी शवगृह बनाउँदै छौ

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका अस्पतालमा रहेका शव राख्ने संरचनाको क्षमता जोड्दा करिब ६०० शव व्यवस्थापन गर्न सकिने अवस्था छ । तर, उपलब्ध सबै क्षमता प्रयोग गर्न भौगोलिक दुरीका कारण सम्भव छैन ।

‘देशभरिका सबै अस्पतालको क्षमता जोड्दा ६०० प्लस क्षमता छ,’ उनले भने, ‘तर त्यो क्षमता जहाँ आवश्यक परेको छ, त्यही ठाउँमा छैन । ताप्लेजुङ वा दार्चुलामा रहेको क्षमता यहाँका शव व्यवस्थापनका लागि तत्काल प्रयोग गर्न सकिँदैन । त्यसैले नजिकका र सहज रूपमा प्रयोग गर्न सकिने ठाउँहरूको क्षमता उपयोग गरिरहेका छौं ।’

उनका अनुसार हालसम्म शव व्यवस्थापनका लागि १६ वटा अस्पतालको क्षमता प्रयोगमा ल्याइसकिएको छ । आवश्यकताअनुसार थप अस्पताल र अन्य संरचनाको प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढीले बगाएका शवहरू चितवन, नवलपरासीसहित त्रिशूली नदीका तटीय क्षेत्रमा बढी फेला परेको छ । त्यही क्षेत्र आसपास अस्थायी रूपमा शव व्यवस्थापन गर्ने विकल्पमा पनि मन्त्रालयले छलफल गरिरहेको छ ।

डा. अधिकारीका अनुसार शवलाई काठमाडौं ल्याएर व्यवस्थापन गर्न सकिने ठाउँहरू भए पनि प्रभावित क्षेत्रबाट टाढा ढुवानी गर्नु यातायात र अन्य व्यवस्थापकीय कारणले कठिन छ । त्यसैले शव फेला परेकै क्षेत्र नजिक अस्थायी संरचना बनाएर सुरक्षित भण्डारण गर्ने विकल्पमा छलफल भएको छ ।

‘चितवन, नवलपरासी लगायतका क्षेत्रमा शवको संख्या बढी छ । सबै शव काठमाडौं वा अन्यत्र ल्याउन यातायातको समस्या हुन्छ,’ डा. अधिकारीले भने, ‘स्थानीय रूपमा अस्थायी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं ।’

मन्त्रालयले कोल्ड स्टोरेज, अस्थायी शवगृह र कन्टेनर जस्ता संरचनाको प्रयोग गर्न सकिने विकल्पबारे पनि छलफल गरिरहेको छ । तत्काल प्रयोगमा ल्याउन सकिने कोल्ड कन्टेनर तथा अन्य संरचना खोजी भइरहेको र आवश्यक परे अन्य सरकारी निकायसँग समन्वय गरेर व्यवस्थापन गरिने उनले बताए ।

विभिन्न प्रयोजनका लागि प्रयोग भएका वा भन्सारमा रोकिएका उपयोगी संरचना तत्काल प्रयोग गर्न सकिने सम्भावनाबारे पनि छलफल भइरहेको मन्त्रालयको भनाइ छ ।

‘त्यस्ता संरचना कहाँ उपलब्ध छन् भन्ने खोजी भइरहेको छ,’ डा. अधिकारीले भने, ‘अरू निकायसँग समन्वय गरेर तत्काल प्रयोगमा ल्याउन सकिने सबै विकल्पमा काम गरिरहेका छौं ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?