News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीले त्रिशूली बजारको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगाए पनि प्रधानाध्यापक र कर्मचारीले सबै विद्यार्थीलाई पहिले नै सुरक्षित स्थानतर्फ लगाएका थिए।
- प्रधानाध्यापक राजेन्द्र दवाडीसहित करिब ५० जना डाँडातिर अलपत्र परेका थिए र उनीहरूको उद्धार बाढी गएको तेस्रो दिन भएको छ।
- विद्यालयका दुई कर्मचारी र एक शिक्षक सम्पर्कविहीन छन् भने बिदुर नगरपालिका-९ मा अझै करिब १५ जना विद्यार्थी उद्धारको पर्खाइमा छन्।
रसुवा बाढीका कारण त्रिशुली बजारको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय बगायो । तर, विद्यालयका प्रधानाध्यापकसँगै अन्य कर्मचारीका सक्रियताका कारण त्यहाँका सबै विद्यार्थी बाढी आउनु अगावै स्कुलबाट भगाउन सम्भव भयो । स्कुलभित्र कोही विद्यार्थी बग्नुपरेन ।
यद्यपि, स्कुलबाट डाँडातिर भाग्दा विद्यालयको एउटा समूह अलपत्र अवस्थामा थियो । प्रधानाध्यापक राजेन्द्र दवाडीसँगै करिब ५० जना विद्यार्थी अलपत्र बनेका थिए । उद्धारको पर्खाइमा थिए । आज बाढी गएको तेस्रो दिन प्रधानाध्यापकसँगै ती विद्यार्थीको उद्धार भएको छ ।
उनै प्रधानाध्यापक सँग अनलाइनखबरले कुराकानी गरेको छ ।
तपाईंलाई पनि आज तेस्रो दिनमा उद्धार गरेर ल्याएको सुन्यौँ । खास के हो ?
हो । म पनि यतापट्टि बट्टारमा आइपुगेको छु । अस्ति स्कुलबाट भाग्दा डाँडातिर उक्लेका थियौँ । त्यसपछि त्यही जोहो गरेर बस्यौँ । अलपत्रजस्तै भयौँ ।
नदीमा बाढी आएपछि सम्पर्क नै बिच्छेद भएको थियो । मसँग ४०-५० जनाजति विद्यार्थी र स्टाफहरू पनि हुनुहुन्थ्यो ।
हामी बच्चाहरूसहित आज उद्धार भएका छौँ । अहिले सबैजना बच्चाहरूसहित उद्धार भइसक्नुभएको छ ।
यत्रो दिन अलपत्र हुँदा क्याम्पमा बसेका विद्यार्थीहरूको अवस्था के थियो ?
हाम्रो क्याम्पमा बस्नुभएका भाइबहिनीहरूलाई हामी लिएर आयौं । उद्धार भएकाहरू ठीक छौँ ।
तर भागदौडमा स्कुलबाट अरु विद्यार्थी पनि यतै आएर कतै आफन्त वा अन्यत्र आश्रय लिएर आएका थिए । अब हामी उद्धार भएको सुनेपछि उनीहरू पनि त्यही ठाउँमा आएर बसेका छन् ।
१५ जना जति जम्मा भएको भन्ने कुरा आएको छ । मैले उद्धारको लागि यहाँ सेनालाई पनि भनिसकेको छु । तर, उहाँहरूले आज सम्भव छैन भोलि दिनभरमा गर्छौँ भन्नुभएको छ ।
तपाईंहरूलाई अहिले ल्याइएको ठाउँको अवस्था चाहिँ कस्तो छ ?
हामी अहिले अलि सुरक्षित ठाउँमा छौँ । ब्यारेकको छेउमा मेरो घरैमा आइपुगेको छु । हिजो–अस्ति बसेको स्थानमा त बत्ती पनि थिएन ।
तल बजार बगाउने भएपछि भ्याउने मान्छेहरू डाँडा उक्लेका थिए । यता उक्लेपनि यत्रो दिन कठिन नै बित्यो । पसलमा सामान पनि नपाउने अवस्था सिर्जना भइसकेको थियो ।
किनभने आवागमनको बाटो बन्द भयो, पुल थिएन–छैन । स्थानीय भाइबहिनीहरूले र क्लबले कभर्ड हलमा खाना पकाएर खुवाए । हामी एउटा मण्डलीमा सामूहिक बसाइँ गरेर बितायौँ ।

बाढी आउनासाथ कुरा हुँदा तपाईंले हामीलाई सबै विद्यार्थी स्कुलबाट निकालिसकेको र डाँडातिर लगाइएको बताउनुभएको थियो । तर, कतिपय विद्यार्थी आफूसँग रहेपनि कतिपय विद्यार्थी अभिभावकसम्म पुग्नै बाँकी रहेको भन्नुहुन्थ्यो । सबै विद्यार्थी अभिभावकसम्म पुग्न भ्याएछन् त ?
अभिभावकसँग पुग्न बाँकी भनेको त्यही १५ जनाजति अहिले माथि बसेकाहरू हुन् । ठ्याक्कै अभिभावकसम्मै नपुगेका विद्यार्थी दुई–तीन जना छन् भन्ने सुनेको छु ।
अनि जसको घरमा पठाएका थियौं, उनीहरूको घरै बगाएको छ, बजारै बगाएको छ भने ती बच्चा र अभिभावकबारे यसै भन्नसकिने अवस्था रहेन । त्यस्तो अवस्थामा सम्पर्क गर्न सकिने अवस्था रहेन । तर, अरूसँग भने हाम्रो सम्पर्क छ ।
अरु स्टाफको अवस्था के छ ?
मेरो दुईजना कर्मचारी, एकजना शिक्षक सन्तोष परियार र एकजना कार्यालय सहयोगी सम्पर्कविहीन हुनुहुन्छ ।
तपाईंहरु यत्रो दिन उद्धार कुरेर बस्नुभयो । त्यहाँ उद्धारको अवस्था कस्तो छ ?
उद्धारको हकमा, माथिबाट हेर्दा घरबाहिर वा कतै देखिनेहरूलाई निकालिसक्नुभएको छ । भित्री उत्खनन् भने केही भएको छैन । हामी पनि अलि डाँडामा माथि बसेका थियौं किनभने सेफ बस्नुपर्ने थियो । फेरि माथि ताल फुट्छ रे भनिरहेको थियो । जे भएपनि यो अवस्थमा राज्यको सक्रियता ठिकै देखिन्छ । मलाई यो अवस्थामा ढिलो उद्धार गर्यो भन्ने लागेको छैन ।

उद्धारको अवस्था हेर्दा केही सल्लाह वा सुझाव छ ?
हामी त्यहाँ बस्यौं, बाँच्यौं । बाँचेका मान्छेलाई सामान्य खानपिन हामी आफैंले खोजेर गर्यौं । तर खोलामा फसेका, बाटोमा फसेका र लाश भएका ठाउँमा उद्धार–रेस्क्यु गर्दा बेटर हुन्छ । हामीलाई गर्नुभएन भन्ने चिन्ता लागेको छैन ।
पहिला चाहिँ सामान्य आश्रय पनि नपाएकालाई भेटेर उद्धार गर्न पाए यो अवस्थामा धेरै राम्रो हुन्थ्यो । जेहोस्, मेरो धेरै गुनासो छैन । राज्यले भएका स्रोतसाधनबाट सकेको गरिरहेको छ भन्ने लाग्छ ।
अहिले तपाईंलाई उद्धार गरेर ल्याईएको बट्टार बजार र सैन्य तालिम केन्द्र क्षेत्रको अवस्था कस्तो छ नि ?
यहाँ उद्धार गरेर ल्याएकाहरूको ब्लड प्रेसर चेक गर्ने, सामान्य चेकजाँच गरेर आफन्तलाई जिम्मा लगाउने काम भएको छ ।
जटिल बिरामीहरूलाई हेलिकप्टरबाट काठमाडौं नै लगेको छ । एम्बुलेन्स पनि सिधै काठमाडौं गइरहेका छन् । यहाँ थुप्रो खाद्यान्न र राहत सामग्री ल्याएर थुपारिएको छ ।
हिजो हामी त्यहाँ खानै नपाउने अवस्थामा थियौं । हामी हिजो भएको ठाउँ यो राहत पुग्यो भने त्यहाँका मान्छेले पाउँथे भन्ने मलाई लाग्यो ।
माथि उद्धारको पर्खाइमा रहेका १५ जना विद्यार्थीको अवस्था कस्तो होला ? त्यहाँको वस्तुस्थिति कस्तो छ ?
मेरो दुई–तीन जना शिक्षक साथी नै उहाँहरूसँग हुनुहुन्छ । मैले यहाँ प्रशासनमा कुरा गरिसकेको छु । सम्भव भयो भने आजै, नभए भोलि दिनभरिमा उद्धार गर्छौं भन्नुभएको छ । त्यहाँ मनोवैज्ञानिक रुपमा विद्यार्थीलाई केही तनाव होला कि भन्ने लागेको हो, नत्र भोलिसम्म उद्धार हुँदा पनि ठिकै छ ।
विद्यार्थीहरू कति उमेरका हुन् ? ठ्याक्कै लोकेशन कहाँ हो ?
प्लस टुका विद्यार्थी भनेपछि १६ वर्ष माथिका हुन् । अहिले उनीहरू बिदुर नगरपालिका वडा नम्बर ९ मा छन् । अस्पतालको छेउमा थ्रीडी ग्राउन्ड भन्छन्, जहाँ हेलिकप्टरले मान्छे राख्ने–ल्याउने गरिरहेको छ । उनीहरू त्यहीँ आकाशमा हेलिकप्टर हेरेर बसिरहेका छन् भन्ने सुनेको छु । सकेको छिटो सबैको उद्धार गर्न सबैले पहल गरौँ भन्न चाहन्छु ।
प्रतिक्रिया 4