+
+
Shares

त्रिशूली माविका प्रधानाध्यापक भन्छन् : सबै विद्यार्थी निकाल्न भ्यायौँ

प्रधानाध्यापक दवाडीले भने– बाढी आउनुभन्दा अगाडि स्कुलभित्र एक जना पनि विद्यार्थी थिएनन् । बाढी पसेपछि म र प्रदीप पण्डित सर सबैभन्दा अन्तिममा निस्केका हौं ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ भदौ १० गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना क्षतिग्रस्त बनाएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए ।
  • बाढी आउनुअघि सबै विद्यार्थी बाहिर निकालिएकाले विद्यालयभित्र ठूलो मानवीय क्षति नभएको र करिब ५० जना डाँडातिर सुरक्षित रहेको उनले बताए ।
  • विद्यालयछेउको महिला छात्रबासका ३० छात्रा पनि सुरक्षित निकालिएको र विद्यालयका ३ बस सुरक्षित अवस्थामा रहेको दवाडीले बताए ।

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय क्षतिग्रस्त बन्यो ।

बाढीले विद्यालयको भौतिक संरचना नष्ट भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कुलभित्र ठूलो मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए ।

उनका अनुसार बिहान करिब ९:१५ बजे आएको बाढीले विद्यालय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । तर बाढी स्कुलभित्र पस्नुअघि नै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिसकिएको थियो ।

‘बाढी आउनुभन्दा अगाडि स्कुलभित्र एक जना पनि विद्यार्थी थिएनन् । बाढी पसेपछि म र प्रदीप पण्डित सर सबैभन्दा अन्तिममा निस्केका हौं,’ प्रधानाध्यापक दबाडीले घटनाको विवरण दिँदै भने, ‘निकाल्दै गर्दा हामीले विद्यार्थीहरूलाई माथि डाँडातिर जान भनेका थियौँ । तर उनीहरू छरिएर आउने क्रममा पुलतर्फ केही क्याजुल्टी भयो कि भन्ने अनुमान छ । हामीले स्कुलबाट निकाले पनि अहिले को विद्यार्थी कता छन् भन्ने यकिन थाहा हुन सकेको छैन ।’

विद्यालयको छेउमै सञ्चालित महिला छात्रबासमा पनि ३० जना छात्राहरू बस्थे । बाढीले सबैभन्दा पहिले सोही होस्टेललाई हानेको भए पनि त्यहाँ रहेका सबै छात्राहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रधानाध्यापक दबाडीले जानकारी दिए ।

अहिले केही शिक्षक, कर्मचारी र विद्यार्थीसहित करिब ५० जना व्यक्तिहरू त्रिशूली बजार नजिकैको माथिल्लो डाँडामा सुरक्षित रहेको उनले बताए । अहिले उक्त क्षेत्रमा नेटवर्क र सञ्चार सम्पर्क विच्छेद भएको छ । बिजुली बत्ती पनि नभएकाले फोनलगायतका उपकरण पनि अफ हुने अवस्थामा पुगिसकेका छन् ।

‘सबै विद्यार्थी विद्यालयसँगै बगे भन्ने भ्रामक खबर देखिरहेको छु, त्यो एकदमै गलत हो । अन्तिममा म स्कुलबाट निस्किँदा त्यहाँ कोही थिएनन् । अब विद्यालयबाट निस्किएपछि को कता गए भन्ने थाहा छैन,’ उनले थपे ।

कतिपय अभिभावकले आफ्नो बच्चा नभेटिएको भन्दै फोन गरिरहेका छन् भने कतिपयले घर आइपुगेको जानकारी दिएको पनि दबाडीले बताए ।

उनका अनुसार बाढीले विद्यालयको भौतिक संरचना खण्डहर बनाए पनि स्कुलका ३ वटा बसहरू भने सुरक्षित अवस्थामा छन् ।

विद्यालय परिसर मात्र नभई त्रिशूली बजारको स्थानीय व्यापारिक क्षेत्र र बस्तीहरूमा पनि बाढीले ठूलो तहसनहस पारेको छ । बजार क्षेत्रमा मानवीय क्षति भएको, मानिसहरू घरभित्रै फसेको र उद्धार कार्य अझै पूर्ण रूपमा सहज बन्न नसकेको दवाडीको भनाइ छ ।

विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने जम्मा विद्यार्थी संख्या १ हजार ६४३ जना छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?