+
+
Shares

त्रसित बट्टार : अर्को बाढीको खबरले बिथोलिरहन्छ आफन्त भेटिने आशा

आफन्तलाई फोन गर्दै, रुँदै, आफ्ना भगवान् पुकार्दै, परिवारजनलाई खोज्दै भागाभाग गरिरहेका स्थानीयलाई हेर्दा उनीहरूको मनोविज्ञान कति त्रसित छ भन्ने स्पष्ट देखिन्थ्यो।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ भदौ १३ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीले नुवाकोटको ढुंगे बजार र आसपासका बस्ती तहसनहस बनाउँदै बट्टार बजारलाई आफन्त खोज्ने र उद्धार पर्खनेहरूको केन्द्र बनाएको छ।
  • बट्टारस्थित सैन्य तालिम केन्द्रमा नेपाली सेनाले उद्धार गरिएकाहरूको सूची टाँसेर हेल्प डेस्कमार्फत बेपत्ता र उद्धार चाहिने व्यक्तिको नाम संकलन गरिरहेको छ।
  • आफन्त खोज्दै पुगेका पदमबहादुर कँडेल, स्रयस नापित र सोमबहादुर पाख्रिनले परिवार, साथी र लास भेटिने आशामा उद्धार र पहिचान छिटो गर्न आग्रह गरेका छन्।

१३ भदौ, नुवाकोट । नुवाकोटको ढुंगे बजार भएरै त हो, कोही रसुवागढी हुँदै कैलाश मानसरोवर पुग्थे त कोही गोसाईंकुण्डको उकालो लाग्थे। सामान्य दिनहरूमा ती बटुवाहरूको चहलपहल र स्थानीयहरूको आवतजावतले नै यो बजार बाँच्थ्यो। बिहान सबेरै खुल्ने पसलहरू र मानिसहरूको पदचापले बेग्लै रौनक भर्दथ्यो।

तर, त्यो सबै कुरा अब एउटा सम्झनामा सीमित बनेको छ। अहिले त्यहाँ न बजार बाँकी छ, न त्यो रौनक। चारैतिर माटो र लेदोले पुरिएका घरहरू भग्नावशेष बनेर लडिरहेका छन्। र, यहाँका बासिन्दाहरू सबै गुमाएर अलपत्र अवस्थामा छन्।

रसुवा बाढीको प्रलयले ढुङ्गे बजारको त्यो चहलपहललाई अहिले नजिकैको बट्टार बजारतिर सारिदिएको छ। अहिले बट्टारका होटलहरू भरिभराउ छन्, मानिसहरूको बाक्लो भीड छ। बाटामा ओहोरदोहोर उत्तिकै छ।

तर, त्यो भीडभित्र कुनै रौनक छैन। उमंग छैन। ढुंगे बजारको त्यो न्यानोपन यसले अहिले बोक्न सकेको छैन।

कारण, कतिका छिमेकी भेलमा बगे, कतिका आफन्त हराए। कतिलाई लाग्छ, आफ्ना प्रियजन अझै कतै जंगलतिर वा कुनाकाप्चामा अल्झिएर अलपत्र पो छन् कि? रसुवातिरबाट आएको हिमाली सुनामीले सबै तहसनहस बनाइदिएको छ।

अझ देशका कुनाकाप्चाबाट आफ्ना प्रियजनको खोजीमा त्यहाँ आइपुग्ने मानिसहरूलाई देख्दा जोकोहीको पनि मन भारी हुन्छ। बजारमा मानिसहरूको हिँडडुल त छ, तर कसैका आँखा ओभाना छैनन्। बट्टारको चहलपहलभित्र लुकेको सन्नाटा र आँसुले सिंगो बजारलाई नै शोकाकुल बनाइदिएको छ।

आकाशमा हेलिकप्टर आलोपालो उडिरहेका छन्। ‘हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,’ अनलाइनखबरसँग कुरा गर्दै ७४ वर्षीय पदमबहादुर कँडेलले भने। हामीसँग कुरा गर्दागर्दै पनि उनका आँखा आकाशतर्फ फर्किन्थे। कतै आफ्नो जेठी सासुको छोरा खलप्रसाद तिमिल्सिनालाई सेनाले उद्धार गर्‍यो कि भन्ने अपेक्षा उनमा देखिन्थ्यो।

एउटा पुरानो झोला भिरेर नुवाकोटको बट्टार बजारमा यताउता छट्पटाइरहेका थिए, उनी। उनका आँखा निरन्तर रसाइरहेको देख्न सकिन्थ्यो। घरी हिँड्दाहिँड्दै रोकिन्थे त घरी आकाशतिर हेर्थे। सैन्य तालिम केन्द्रलाई छाडेका थिएनन्।

बट्टार बजारको केन्द्रमै सैन्य तालिम केन्द्र छ। सबैतिरबाट उद्धार भएकाहरूलाई त्यहाँ ल्याइन्छ। पदमबहादुरजस्तै आफन्त खोज्दै त्यहाँ पुग्नेहरू थुप्रै थिए। सैन्य केन्द्रको अगाडि सडकमा असरल्ल भीड थियो। जब हेलिकप्टर आउँथ्यो, त्यो भीड उक्त केन्द्रतिर सोहोरिन्थ्यो।

अहिले पनि बट्टार बजारको दिनचर्या यस्तै छ। त्यहाँ शव नै सही, आफन्तको पर्खाइमा अधिकांश देखिन्थे। धेरैको भनाइ थियो – अब त आस नै के रह्यो र? बरु लास नै भेटिए पनि…

लास पहिचानका लागि सरकारले डीएनए परीक्षण पनि गरिरहेकाले आफ्ना मान्छेको डीएनए दिएर छाडिदिने निष्कर्षमा कतिपय पुगिसकेका थिए। उनीहरू एकअर्कासँग यस्ता विषयमा सल्लाह गरिरहेका सुन्न सकिन्थ्यो।

सैन्य केन्द्रमा नेपाली सेनाले एकातर्फ उद्धार गरिरहेको छ भने अर्कोतर्फ उद्धार गरेर ल्याइएकाहरूको सूची टाँसेको थियो। बट्टार बजारमा आफन्त खोज्न आएका सबैको आँखा सुरुमा त्यही सूचीमा ठोकिन्थ्यो।

आफन्तको नाम नदेखेपछि त्यहीँ छेउमा रहेको हेल्प डेस्कमा लाइन बस्थे। उद्धार गर्नुपर्ने व्यक्तिको नाम टिपाउन सेनाले राखेको हेल्प डेस्कमा लामबद्ध मानिस थिए।

त्यही लाइनमा थिए, १८ वर्षीय स्रयस नापित। उनी आफ्नै उद्धारका लागि पालो कुरेर बसिरहेका थिए। नुवाकोटकै पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा कक्षा १२ मा पढ्ने स्रयसको अनुहारमा थकान र पीडा एकैपटक देखिन्थ्यो।

बाढी आउने दिन पनि उनको कलेजमा पढाइ भइरहेको थियो। कक्षा चलिरहेकै बेला अचानक सरले बाढी आएको खबर सुनाए। ‘एक्कासि त्यस्तो न्युज पाएपछि आतिन्छ नि,’ स्रयस त्यो कहालीलाग्दो क्षण सम्झन्छन्, ‘सबैजना कताकता भाग्यौं भाग्यौं। कोही वारी, कोही पारी भयौं।’

स्रयसका अनुसार त्रिशूली बजारतिर उनको घर थियो। परिवारका अन्य सदस्य अहिले सुरक्षित ठाउँमा पुगिसकेका छन्। तर, भागदौडमा स्रयस वारीपट्टि आइपुगे भने उनका परिवारका अन्य सदस्य पारिपट्टि छन्।

खोलाले त्रिशूली बजारको उनको घर पूरै बगाएर लगिसकेको छ। अब त्यहाँ बाँकी केही पनि छैन। तैपनि परिवार सकुशल रहनुलाई नै उनले ‘ठूलो भाग्य’ ठानेका छन्।

हामीसँग कुरा गर्दा उनी सेनाले सञ्चालन गरिरहेको हेल्प डेस्कमा उद्धारका लागि नाम टिपाउन लाइनमा थिए। नाम टिपाएको आधारमा हेलिकप्टरले नदीपारि आफन्त भएको ठाउँमा पुर्‍याउने आशमा उनी घन्टौंदेखि उभिरहेका थिए। परिवार भेट्न आतुर उनी आफ्ना कतिपय साथी गुमेको शोकमा पनि देखिन्थे।

भाग्यवश कलेजका धेरै विद्यार्थी भाग्न सफल भए। तर तल्लो तीरका केही ठाउँमा भने स्थिति भयानक बन्यो। ‘सरहरूले केही हुँदैन भनेर अल्मलाइराख्नुभयो रे। तर लास्टमा एक्कासि बाढी आएर भाग्दा पुलबाटै मान्छे बगायो भन्ने पनि सुनेको छु,’ स्रयस थप बोल्न सकेनन्।

कारण, आफ्नो परिवार बचे पनि साथी अविनाश र उनकी आमा बाढीमा परेको खबरले उनको मन भक्कानिएको छ। अहिले न बजार बाँकी छ, न त्यो रौनक। न साथी रहे, न आफ्नो घर। ‘मलाई अरू भन्दा पनि साथी गुमाएको सुन्दा कस्तो दुःख लागिरहेको छ,’ एकाएक स्रयसका आँखा रसाए।

त्यहीँ आफ्ना मान्छेको खोजीमा थिए, सोमबहादुर पाख्रिन। रसुवा, नौकुण्ड गाउँपालिका वडा नं. ४ का उनी नौकुण्डदेखि नै बट्टार बजारसम्म धाएका हुन्।

पाख्रिनका अनुसार उनको गाउँका धेरै मान्छे बेपत्ता भए। बाढीले कता लग्यो, के अवस्था बन्यो थाहा छैन। पछि जिल्ला प्रशासनको सूचीमा नाम देखिएपछि उनी सिधै काठमाडौं हानिए। आर्मी ब्यारेक, शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, छाउनी सबैतिर खोजे। दसदेखि पन्ध्रवटा लास देखे, तर आफ्ना मान्छे भेटिएनन्।

उनको भनाइअनुसार, नौकुण्डका मात्र १४ देखि १५ जना बेपत्ता भएको अनुमान छ। उनले भने, ‘सरकार र प्रशासनले पहिले बाढी प्रभावितलाई प्राथमिकता दिनुपर्छ। सकुशल मान्छे र लासको पहिचान चाँडो गराउनुपर्छ। हेलीबाट खोज्नुपर्छ। हामी हिजोदेखि खोजिरहेका छौं तर अझै भेटिएको छैन।’

काठमाडौंमा नभेटेपछि नुवाकोट पुगेका पाख्रिन झिनो आशा बोकेर उद्धार गरेर ल्याइएको सैन्य तालिम केन्द्र आसपास नै पुगेका हुन्। यसरी आफन्तको खोजीमा भौंतारिएका उनको अन्तिम कामना छ, ‘सास नै नभेटिए पनि लास भए पनि त मिले हुन्थ्यो।’

बालबाल बचेकाहरू

रौतहतका सन्तोष दास पनि त्यही सैन्य तालिम केन्द्र वरपर छट्पटाइरहेका भेटिए। उनी र उनका परिवार दशकअघि बनाएको घरमा बस्दै आएका थिए। तर रसुवा बाढीले सबै नियमितता उल्ट्यायो। अहिले खानपिनको ठेगान छैन।

बाढीपछि बासका लागि उनी आफन्तको घरमा गए। तर, अब सधैं अरूको घरमा बस्न अप्ठ्यारो लागिरहेको छ। साना छोराछोरी र भाइकी छोरीसहित परिवारलाई बाटोमा चौतारामा राखेर भौंतारिएका छन्। स्थानीय निकायले अहिलेसम्म कुनै राहत दिएको छैन। उनी पनि उद्धारको पर्खाइमा छन्।

दासलाई राहत आवश्यक छ। सरकार पक्षले पनि नाम टिपेर लगेका थिए। तर कसैले फोन नगर्दा उनी आत्तिएका थिए। मिडिया आएर फोटो खिचेर लगेपनि केही नपाएको गुनासो उनले सुनाए।

सन्तोषले आत्तिएको स्वरमा भने, ‘अहिलेलाई बस्नेखाने व्यवस्था चाहियो। घरको बदला घर माग्दैनौं, तर यो अप्ठ्यारो घडीमा हामीलाई कम्तिमा कतै अडिने ठाउँ दिए हुने।’

अलिराज शेख पनि आत्तिएको अवस्थामा थिए। उनी २९ गते यहाँ आएका थिए। एक गतेदेखि काम गर्न थाले। अचानक दस गते विनाशकारी बाढी आयो। उनी र साथीहरू तीन तलाको कोठामा काम गर्दै थिए। पानी एकैचोटि दुई-तीन तलासम्म आयो। सबै कपडा, पैसा, सामान बगेर गयो। एक रुपैयाँ पनि बाँकी रहेन। बैंक बन्द थियो, नेटवर्क सुस्त थियो। ठेकेदारले पैसा दिने भने पनि बैंक नखुलेकाले उनी छट्पटिरहेका थिए।

उनी १५ जना मिलेर बसेका थिए। अहिले चिउरा, बिस्कुट र चाउचाउको भरमा छन्। भात खानु त परको कुरा, फेरि बाढी आउला भन्ने डरले छोपेको देख्न सकिन्छ। निद्रा हराएको छ।

‘नदीको छेउमा कहिल्यै काम गर्दिनँ,’ उनले भने, ‘यो लास्ट हो। अब घर जाने हो, अनि उतै केही गरिन्छ। तर बाटो सबै बिग्रिएको छ रे। काठमाडौं हुँदै हेटौंडाबाट मात्र जान सकिन्छ भन्ने सुन्छु।’

त्रसित छन् स्थानीय

यसरी बाहिरबाट जानेहरूको भीड बढिरहँदा त्यही बट्टार आसपासका मानिसहरू पनि पीडित देखिन्थे। कतिपय हाम्रो फोन सम्पर्कमा आउँदा खोलापारि अलपत्र रहेको बताउँथे भने कतिपय वारीबाट पारि जान नपाएको गुनासो गर्थे। वारी र पारिबीच सम्पर्क टुट्दा स्थानीय स्वयं आत्तिएका र प्रताडित देखिन्छन्।

आफैं घाउ बोकेर बाहिरबाट आएकालाई आश्रय दिइरहेको बट्टार बजारमा स्थानीय विद्यार्थीहरू पनि असरल्ल देखिन्थे। उनीहरू स्कुल वारी र पारि हुँदा घरपरिवारको सम्पर्कबाट टाढा थिए। सेनामार्फत उद्धार गराउने प्रयत्न गरिरहेको स्पष्ट देख्न सकिन्थ्यो।

‘अब खोलापारिको स्कुलमा कहिले पठाउँदिनँ नानीलाई। यतै कतै हाल्छु, बरु घरमै सिकाउँछु,’ विद्यार्थी डोहोर्‍याउँदै हिँडेका अभिभावकले भन्दै थिए।

आफन्त खोज्ने र उद्धार कुर्नेहरूले भरिएको बट्टार बजारको मनोविज्ञान पनि त्रसित देखिन्छ। हामी रिपोर्टिङको क्रममा बस्दा पटकपटक स्थानीयहरू भागाभाग गर्ने गरेको देख्यौं। कसैले माथिबाट बाढी फेरि आयो रे भनिदिएपछि सबैजना हतारिँदै अग्लो स्थानतर्फ जान खोजेको दृश्य देखियो।

बिहीबार मात्र दुईपटक जसो यसरी भागाभाग गरिरहेका स्थानीय शुक्रबार दिउँसो बजारभन्दा माथिको डाँडाडाँडामा छरिए। रसुवाबाट ताल जमेको ठाउँबाट बाढी आएको खबर फैलिएसँगै स्थानीय जंगलको बीचतर्फ पोकोपन्तुरा बोकेर दौडिरहेका थिए।

आफन्तलाई फोन गर्दै, रुँदै, आफ्ना भगवान् पुकार्दै, परिवारजनलाई खोज्दै भागाभाग गरिरहेका स्थानीयलाई हेर्दा उनीहरूको मनोविज्ञान कति त्रसित छ भन्ने स्पष्ट देखिन्थ्यो।

हिजोसम्म शान्त र रौनकताले भरिएको बट्टार बजार आज त्रासदीमा छ। छिमेकी बजारहरू खण्डहरमा परिणत भएसँगै थप पीडामा रहेको बट्टार बजारले देशभरबाट जम्मा भएका बाढी पीडितहरूलाई आश्रय दिइरहेको छ।

 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?