+
+
Shares

भेलबाट जोगिएर शिवको पुनर्जन्म

‘अहिले जुनी बदलिएजस्तो लाग्छ । एकपटक मरेको हो म । तर, बाँचे म भन्ने लाग्छ,’ उनी भन्छन् ।

रिखिराम जिसी रिखिराम जिसी
२०८३ भदौ १६ गते ८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङ घोराहीका शिव गिरीले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा काम गर्ने क्रममा बाढीबाट जोगिएर सेनाको हेलिकप्टरबाट उद्धार पाएका छन्।
  • बाढीले पुल, क्याम्प, गाडी र संरचना बगाएपछि गिरीसहित ८ जना ल्याबका कर्मचारी जंगलतिर भागेर बाँचेका थिए।
  • उद्धार नपाउँदा गिरीले परिवारलाई भिडियो पठाउँदै बाँच्दैन होला भनेका थिए र अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्।

१५ भदौ, काठमाडौं । दाङ घोराहीका शिव गिरी सदाझैं बुधबार बिहान साढे ७ बजे डिउटीका लागि निस्किए । गिरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत छन् । उनी ल्याब टेक्निसियन हुन् ।

त्यो दिन उनले ३ नम्बर सुरुङमा जानुपर्ने थियो । जाने बाटोमा सुख्खा पहिरो गयो । त्यसपछि उनीसहितका साथीले पहिरो गएको जानकारी अफिसलाई गराएर बस्ने ठाउँतिर फर्किए ।

कोठा फर्किन नपाउँदै गिरिले खबर पाए– माथिबाट बाढी आइरहेको छ, अरूलाई पनि खबर गर्नू ।

खबर पाउनेबित्तिकै उनी र साथीहरू हतारहतार आफू बस्ने क्याम्पतिर दौडिए । उनीहरू आफू त जोगिए । तर, आफ्नै आँखाअगाडि बाढीले आफू चढ्ने गाडी, अन्य साथीहरू, पुल, क्याम्प र संरचना बगाएको दृश्य देखे ।

‘५० मिटर उचाइसम्म ढुंगा पल्टाउँदै पुल, क्याम्प भत्काउँदै बाढी हामीसामुन्ने आइपुग्यो,’ गिरी सम्झन्छन्, ‘हामी दुई सेकेन्डले जंगलतिर हाम फालेर बाँच्न सफल भयौं ।’

दृश्य सम्झँदै उनले अगाडि भने, ‘त्यहाँ बाटोमा मान्छ दौडिइरहेका थिए, गाडीहरू थिए । सबै सोहरेर लग्यो । केही बाँकी राखेन ।’

उनीसहित ल्याबमा काम गर्ने ८ जना बाढीबाट बच्न सफल भए । ‘हाम्रो ८ जनाको समूह हो । पहिले नै खबर पाउँदा सबै ८ जना बाँचेका छौं,’ गिरी भन्छन् ।

बाढीबाट जोगिए पनि त्यसपछिका समय कटाउन उनीहरूले झन् धेरै संघर्ष गर्नुपर्‍यो । १०/११ बजेतिर खोला सानो हुँदैगएपछि उनीहरू केही तल झरे निरीक्षणमा आएका हेलिकप्टरले आकाशमा फन्को मार्न थाले ।

‘हेलिकप्टर आएपछि बाँच्ने आस पलायो । त्यसपछि हामीले संकेत दिन आगो बाल्यौं । उद्धारका लागि गुहार माग्यौं,’ गिरी भन्छन्, ‘तर, कसले सुन्ने ? हेलिकप्टर त्यत्तिकै फर्कियो ।’ अर्कोपट्टि रहेका केही मान्छे उद्धार गरेर लगेको उनीहरूले देखिरहे ।

३ बजेसम्म पनि उनीहरूको उद्धार भएन । त्यसपछि उनीहरूमा अन्यौलता छाउन थाल्यो ।

‘पानी खानसमेत नपाएर गाह्रो हुनथाल्यो । हिँड्नै नसकेपछि आफ्नै खर्चमा हेलिकप्टर पठाइदिन घरपरिवारसँग कुरा गरेँ,’ उनले भने । तर, त्यसो गर्दा पनि केही पार लागेन ।

फोनमा कुरा गर्दा ८/१० घण्टा हिँडेपछि गाउँ भेटिन्छ भन्ने खबर उनीहरूले पाए । ‘३ बजिसकेको थियो । यहाँ बसेर के गर्नु, के खानु भनेर माथितिर लाग्यौं’, उनले भने ।

उकालो चढ्दा दुई समूह बने । पहिलो समूह राम्ररी हिँड्नसक्ने भएकाले अगाडि–अगाडि भयो । गिरीसहित पछि परे, विस्तारै उनी एक्लिँदै गए ।

ज्यान जोगाउन भाग्दा लडेर उनको घुँडा चोट लागेको थियो । ‘हिँड्दा–हिँड्दै रात पर्‍यो । मोबाइल अफ भइसकेको थियो । कति बज्यो पत्तै भएन,’ उनी सम्झन्छन् । त्यसपछि एक ओडारमा रात बिताए । बाटोमा हिँड्दा उनीसँग एक कुकुर साथी बनेको थियो । त्यही कुकुरसँग आफूले रात बिताएको उनले सुनाए ।

८–१० घण्टा लामो हिँडाइले ज्यान लखतरान थियो । खाना र पानी केही पनि थिएन । ‘पानी परेनी हुन्थ्यो, पानी खान त पाइन्थ्यो भनेर सोचेँ । नभन्दै आधा घन्टापछि पानी पार्‍यो । एउटा खाली बोतल थियो । त्यसमा पानी भरे पानी खाएँ,’ उनी भन्छन् । त्यसपछि बल्ल अब बाँचिन्छ भन्ने आस पलाएको उनले सुनाए ।

उनी रातभर निदाउन सकेनन् । रातभर सोच्दासोच्दै उनी उकालो चढ्नुभन्दा पुरानै ठाउँमा फर्किने निधोमा पुगे ।

‘जहाँ घटना घटेको छ, त्यहाँ पो हेलिकप्टर आउला । माथि त आउँदैन । गाडी पनि पाइँदैन् । त्यहाँ कम्तीमा खान त पाइएला भन्ने सोचेँ,’ गिरीले सुनाए ।

१० घण्टा चढेको उकालोबाट उनी त्यसपछि दोस्रो दिन बिहान ६ घण्टा लगाएर फेरि ओरालो झरे ।

‘बिहान १० बजेपछि हेलिकप्टर आउन सुरु भयो । हेलिकप्टरलाई बोलाउन थालेँ । ११ बजे एउटा हेलिकप्टरले देख्यो । उद्धारको प्रयास पनि गर्‍यो । तर, सफल भएन,’ उनले भने । हेलिकप्टरतर्फ जान खोज्दा आफै हिलोमा भासिएको उनले सुनाए ।

‘तीनपटक मलाई निकाल्ने कोसिस पनि गरेको हो । तर, सकेन । नसकेपछि केही खानेकुरा र पानी फाल्दिन इसारा गरेँ,’ उनले भने ।

त्यो हेलिकप्टर गएको झन्डै आधा घण्टापछि सेनाको हेलिकप्टर आएको उनले बताए । ‘जहाँ पाइला राख्यो, त्यहीँ भासिन्थ्यो । जमिनमा हेलिकप्टर बस्न सकेन । हावामै होल्ड गरेर मलाई लियो,’ गिरीले भने ।

त्यहाँबाट उद्धार भएपछि उनलाई त्रिशूली अस्पतालमा पुर्‍याइयो । त्यहाँको प्राथमिक उपचारपछि गिरी अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।

परिवारसँगको त्यो अलाप

गिरी अहिले बाँचेर यो कथा सुनाउन सके । तर, उनले यसरी बाँच्ने आशा भने पटक–पटक गुमाइसकेको सुनाए ।

उनले घरमा फोन गरेर ‘म बाँच्दैन होला बुढी । बिहानदेखि पानी पनि खाएको छैन’ भन्दै भिडिओ खिचेर समेत पठाइसकेका थिए ।

‘अहिले जुनी बदलिएजस्तो लाग्छ । एकपटक मरेको हो म । तर, बाँचे म भन्ने लाग्छ,’ उनी भन्छन् ।

लेखक
रिखिराम जिसी

जिसी अनलाइनखबरमा खेलकुद रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?