News Summary
Generated by OK AI. Editorially reviewed.- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय परिवार सुरक्षित स्थानमा सरेका छन् ।
- बिहीबार साँझ वर्षासँगै मुहानमा पहिरो खसेर थुनिएको ताल फुटेपछि खोलामा बाढी आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए ।
- अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण नआएको र खोला किनारका नागरिकलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
१८ भदौ, काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय खोला किनारका स्थानीय सुरक्षित ठाउँमा सरेका छन् ।
बिहीबार साँझ करिब ७ बजेबाट आएको वर्षाका कारण खोलाको मुहानमा पहिरो खसेको थियो । उक्त पहिरोले थुनेको ताल एक्कासी फुटेपछि खोलामा बाढी आएको हो ।
सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीका अनुसार, मुम्राको बालीपाटादेखि गैराखाडा लामाबगर हुँदै शान्तिघाटसम्मको खोला किनारमा बाढी बढेको हो ।
केहीबेर अघि सो क्षेत्रमा वर्षा रोकिएको थियो । अहिले पुन: पानी पर्न थालेको उनले जानकारी दिए ।
उनका अनुसार, अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । ‘भौतिक क्षतिको विवरण आएको छैन, हामी भोलि त्यसबारे बुझ्न जान्छौं,’ उनले भने ।
बाढी बढेपछि आफूले तत्कालै स्थानीयलाई खबर गरेको र करिब डेढ सय परिवार सुरक्षित स्थानमा सरेको उनले अनलाइनखबरलाई बताए ।
सान्नी त्रिवेणी गाउँपालिकाका ४, ५, ६, ८ र ९ नम्बर वडा भएर सो खोला बग्ने गरेको छ ।
शान्तिघाट खोला मुम्राबाट करिब २ सय मिटर तल पुगेर कर्णाली नदीमा मिसिने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रवक्ता जनक शर्माले पनि शान्तिघाट खोलामा पानीको बहाब बढेपछि खोला किनारका नागरिकलाई सचेत गराइएको बताए ।
‘त्यस्तो ठूलो होइन । पानी परेपछि अलिकति खोला किनारका मान्छेलाई माइकिङ गरेको हो । सचेत रहनुपर्यो, तर आत्तिन आवश्यक छैन,’ प्रवक्ता शर्माले भने ।
प्रतिक्रिया 4