+
+
Shares

सशस्त्रका कमान्डरको अनुभव : ठूलो पहाड पन्छाएर उद्धार गर्‍यौं, टनेलमा चुनौती कम छ

अहिले त टनेल त्यस्तो धेरै चुनौतीपूर्ण छैन । पहिला यहाँसम्म आउनै हामीलाई समस्या परेको थियो । टेनेलको मुखमा एउटा पहाडै आएर खसेको थियो । त्यो काटेर फाल्न निकै समय लाग्यो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ भदौ १९ गते १३:१९

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको सुरूङमा फसेका दुई जनाको १० दिनपछि सकशुल उद्धार भएको छ ।

लामो प्रयासपछि दुई जनाको सकुशल उद्धार गरेर अहिले उपचारका लागि दुवै जनालाई काठमाडौं ल्याइएको छ ।
यो उद्धारमा नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा काम गरिरहेका छन् ।

लामोसमयपछि टनेलको मुख पत्ता लगाएर भित्र छिरेको टोलीले आज बिहानै खुसीको खबर सञ्चार गर्दै दुई जनालाई जीवित्तै उद्धार गर्न सफल भयो ।

यो उद्धारमा सशस्त्र प्रहरीको तर्फको डीएसपी अमृत थापाले कमान्ड गरिरहेका छन् । उनी विपद् व्यवस्थापनको विशेषज्ञ टोली लिएर बाढीको आएको भोलिपल्ट त्रिशूली थ्री–ए मा पुगेका थिए ।

डीएसपी थापाको टिमले विगत १० वर्षदेखि सीएसएसआर (कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यु) को रूपमा काम गरिरहेको छ । विपद् व्यवस्थापनमा सशस्त्रको सीएसएसआर निकै पोख्त मानिन्छ ।

अहिले त्यहाँ कसरी काम भइरहेको छ ? उनले अनलाइनखबरकर्मी गरेको कुराकानी जस्ताको तस्तै :

हामी अहिले अपर त्रिशुली थ्री ए मा उद्धारका लागि खटिरहेका छौं । हामी डिजास्टर म्यानेजमेन्ट टिमको पनि स्पेसल सीएसआर टोली हो । यो टोलीका जम्मा अठार जना लिएर आएको थिएँ । हामी नेपाल आर्मीको सहकार्यमा सँगै बसेर काम गरिराखेका छौं ।

सुरुमा हामी रेकी गर्न आएका थियौं । बाढी आएको भोलिपल्ट ११ भदौमा हामीले यो क्षेत्रमा रेकीको काम गर्‍यौं । त्यसयता हाम्रो (सशस्त्र प्रहरी) र आर्मीको टोली यत्तै छ । संयुक्त रूपमा काम गरिराखेका छौं ।

अहिलेसम्म दुई जनाको जीवितै उद्धार भइसकेको छ । अरू खोजी हुँदैछ । हामीले भेट्दा उहाँहरू कन्सियस (चेत) नै हुनुहुन्थ्यो । आँखा खोलेर हेर्न सक्ने नै हुनुहुन्थ्यो । उहाँहरूले चिच्याएको हामीले सुनेर थप सक्रियताका साथ सजग भएर उद्धारमा खटियौं ।

त्यहाँ अरू पनि हुनुहुन्छ होला भन्ने आश गरेका छौं । भित्र अक्सिजनको कमी हुने भएकाले अक्सिजन सिलिन्डर भित्र पसाउने कोशिस भइरहेको छ । भित्र अरू थप छन्/छैनन् भन्ने कन्ट्याक्ट हुन सकेको त छैन । आवाज कम भएर पनि होला ।

अहिले त टनेल त्यस्तो धेरै चुनौतीपूर्ण छैन । पहिला यहाँसम्म आउनै हामीलाई समस्या परेको थियो । टेनेलको मुखमा एउटा पहाडै आएर खसेको थियो । त्यो काटेर फाल्न निकै समय लाग्यो ।

हाम्रो विशेष योगदान चाहिँ फलाम काट्न, कंक्रिट फाल्न रह्यो । अहिले त्यो सबै पहाड काटेर फालेर भित्र पसिसकेकाले पहिले जस्तो जोखिम छैन ।

हाम्रो सशस्त्रको टिमले तीन सिफ्टमा ६/६ जनाको दरले रात दिन नभनी काम गर्‍यो । कमान्डरको काम भने चौबिसै घण्टा हुन्थ्यो । काम सकिएपछि हामी दुई किलोमिटर पर गएर सेनासँग बस्छौं ।

यत्रो दिनपछि दुई जनालाई सकुशल निकाल्न पाउँदा एकदमै खुसी लागेको छ । हाम्रो यत्रो महेनतले पनि सार्थकता पाएको छ । उहाँहरूलाई निकालेपछि हेलिकप्टरमार्फत उपचारका लागि पठाइएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?