+
+
Shares

रसुवा बाढीपीडितका लागि चिनियाँ संस्था सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) २७ टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १५:१०

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) २७ टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको छ।

सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा मूल्यांकन र राहत वितरण सुरु गरेको थियो।

पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ त्रिपाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपतकालीन मानवीय राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग छन्।

करिब २७ टन तौलका यी सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा सामग्री रसुवा प्रभावित क्षेत्रमा पठाइने उक्त संस्थाले जनाएको छ।

त्यस्तै सीएफआरडीले नुवाकोट क्षेत्रमा १४ पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका जीवनयापन सामग्री र ५ हजार सौर्य बत्ती उपलब्ध गराउने कामअघि बढाइसकेको छ। खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायतका सामग्री छन्।

सीएफआरडीले प्रभावित समुदायको बदलिँदो आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ।

राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुईलगायत चिनियाँ उद्यम तथा सहयोगीहरूले योगदान गरेका छन्।

नेपालमा सीएफआरडीको मानवीय सहकार्य भने नयाँ होइन। २०७२ सालको भूकम्पपछि नेपालमा आपतकालीन उद्धार र पुनर्निर्माणबाट सुरु भएको संस्थाको संलग्नता समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास तथा विपद् व्यवस्थापनसम्म फैलिएको छ। कोभिड-१९ महामारी तथा जाजरकोट, सिन्धुपाल्चोक र गोरखाका विपत्तिमा पनि संस्थाले सहयोग गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?