+
+
Shares

‘भोटेकोशीको विपत्ति विश्वमै विरलै देखिएको घटना हो’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशीको बाढी र जलविद्युत् सुरुङमा भएको क्षति विश्वमै अत्यन्तै असामान्य विपत्ति भएको बताएका छन्।
  • उनले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित भएको र साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुलका कारण उद्धार कठिन बनेको बताए।
  • डिक्सले जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा नपुग्न आग्रह गर्दै खोज तथा उद्धार निरन्तर गर्नुपर्ने र डिजाइनलाई दोष दिनु गलत हुने बताए।

२४ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा पुर्‍याएको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताएका छन् ।

बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँगको भेटका क्रममा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भोटेकोशी क्षेत्रमा देखिएको विपत्ति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताएका हुन् ।

‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला,’ उनले भने । उनका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ । कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्पसमेत नरहेको उनले बताए । साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार निकै कठिन बनेको उनको भनाइ छ ।

‘हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो । गल्छीहरू अत्यन्तै साँघुरा छन् । उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो,’ उनले भने ।

डिक्सले सतहमा ठूलो विनाश देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने बताएका छन् । जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,’ उनले भने ।

उनले अहिले भइरहेको उद्धार कार्य सामान्य सुरुङ उद्धारभन्दा निकै फरक रहेको बताए । सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार नै क्षतिग्रस्त भएका कारण उद्धारका लागि आवश्यक उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्‍याउन नसक्नु मुख्य चुनौती बनेको उनको भनाइ छ ।

‘हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन् । त्यसैले अहिले सडक बनाउने काम भइरहेको छ । सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ,’ उनले भने ।

उनका अनुसार केही भारी उपकरणको तौल करिब पाँच टनसम्म छ । तत्काल सडकबाट उपकरण पुर्‍याउन नसकिएको अवस्थामा नदीको अर्को किनारसम्म पहुँच बनाउन केबल पुल वा रोपवे निर्माणको विकल्पसमेत खोजिएको उनले बताए ।

‘हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्‍याउन सकिँदैन । त्यहाँ पुगे पनि बस्ने ठाउँ छैन । उपकरण लैजान पनि समस्या छ । त्यसैले यो सामान्य उद्धार अभियान होइन,’ उनले भने ।

उनले हालको विपत्तिका आधारमा जलविद्युत् आयोजनाका डिजाइनलाई दोष दिनु पनि उचित नहुने बताए । विश्वमै यसअघि नदेखिएको प्रकृतिको घटना भएकाले विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा गलत भन्न नमिल्ने उनको भनाइ छ ।

‘यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हो । विश्वको इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ । दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए । अहिले परिस्थिति बदलिएको छ,’ उनले भने ।

उनले भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता औँल्याए ।

डिक्सले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका संरचनामा भएको क्षति केवल भौतिक पूर्वाधारको क्षति नभएको बताए । जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यसको क्षतिलाई व्यापक दृष्टिले हेर्नुपर्ने उनको भनाइ छ ।

‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो । जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ,’ उनले भने ।

उनले उद्धारमा संलग्न नेपाली तथा अन्तर्राष्ट्रिय टोली कठिन परिस्थितिका बाबजुद दिनरात खटिरहेको बताए । नेपाली पक्षबाट आफूले माग गरेका प्राविधिक सहयोग र समन्वयमा सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए ।

नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै डिक्सले विपत्तिबाट प्रभावित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताए ।

‘मेरो आफ्नै गाउँमा रहेको स्थानीय चर्चमा नेपालका लागि मात्र प्रार्थना सभा भइरहेका छन् । मेरो संस्था इन्टरनेसनल टनेलिङ एसोसिएसनले पनि सम्मान र सहयोग प्रकट गरिरहेको छ । अहिले पूरै विश्वको हृदय तपाईंसँगै दुखेको छ,’ उनले भने ।

उनले थपे, ‘तपाईंहरूले केही गलत गर्नुभएको छैन भन्ने कुरा संसारले बुझेको छ । यो प्राकृतिक रूपमा घटेको विपत्ति हो । नेपाली जनतालाई मेरो सन्देश छ, तपाईंहरू एक्लो हुनुहुन्न । हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ।’

सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गर्ने अभियानमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेका डिक्स त्यसपछि अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए । उनले भूमिगत संरचना तथा टनेल सुरक्षाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?