+
+
Shares
कविता :

बा को हुन ?

बुद्धिकृष्ण गौतम बुद्धिकृष्ण गौतम
२०८३ भदौ २६ गते १३:०४

म आकाशका ताराहरू हेर्छु
बा तारा जस्तै जस्तै लाग्छ
अँधेरी रातमा पनि चम्किरहने
जब म पूर्णिमाको जून देख्छु
बा त्यही जून जस्तै जस्तै लाग्छ
छातीमा हजारौँ दाग लुकाएर
उज्यालो छरिरहने ।

शिशिर यामको घाम हुन् बा
मैनबत्तीको शिखा हुन् बा ।
अग्नीकुण्डमा होमिएको चरु हुन् बा
हिमालको चिसो हिउँ जस्तै छन् बा ।

बा
आफू जलेर न्यानो दिन्छन्
आफू बलेर उज्यालो पार्छन्
आफू डढेर सुगन्ध फैलाउँछन्
बा थोपा थोपा पग्लिएर
सन्तानको प्यास मेटाउँछन् ।

बा !
ताल जस्तै जमेर गम्छन् कहिले
नदी जस्तै सुसाएर भावनामा बग्छन् कहिले
पहराको चट्टान झैँ कठोर बन्छन् कहिले
सिमलको भुवा भएर माथिमाथि उड्छन् कहिले
बा नौनी जस्तै नरम बन्छन् कहिले ।

किनकी
बालाई समस्याबाट भाग्ने छुट छैन
सन्तानको सपना भत्काउने आँट छैन
बालाई समाजले लोग्ने मान्छे रुन हुन्न भन्छ
त्यसैले त बा अँजुलीका अँजुली आँसु
पिएर अभिनय गर्ने
एक कुशल कलाकार हुन्
उनी फरक फरक भूमिकामा
अभिनय गर्न सक्छन् ।

बा ज्ञान दिइरहन्छन् गुरु हुन्
जीवनकला सिकाउँछन् दार्शनिक हुन्
नयाँ नयाँ जुक्ति सोचिरहन्छ वैज्ञानिक हुन्
बा सन्तानको सुरक्षामा
दिनरात खट्ने प्रहरी हुन्
शीतल छाहरी दिन्छन् चौतारी हुन्
सन्तानका पाइलाहरू धरमराउँदा
हात दिने बा अदभूत साथी हुन्
सगरमाथा भन्दा उच्च र
बा आकाशभन्दा पनि माथि माथि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?